वैशाख ३१ गते स्थानीयतहको निर्वाचन हुने, मोर्चा आन्दोलनमा


काठमाडौं, फागुन ९ गते । मन्त्रिपरिषद बैठकले आगामी २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले वैशाख ३१ मै निर्वाचन गर्न प्रस्ताव गरेअनुरुप मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको बताइएको छ । मन्त्रिपरिषद बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेको थियो।

यादवले वैशाख ३१ मा चुनाव गर्न सकिने सरकारलाई बताउनुभएको थियो । त्यसपछि झन्डै दुई घन्टा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन मिति घोषणा गरेको हो। सरकारले निर्वाचनका लागि आवश्यक रकम दिन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएको छ। यसअनुसार १० अर्ब २९ करोड ६३ लाख ७६ हजार रुपैयाँ आयोगलाई तुरुन्तै प्रदान गरिनेछ।

यसअघि वैशाख ३० र ३१ मा निर्वाचन गरेर जेठ ७ गतेसम्म सकाउने भन्ने थियो। यसोगर्दा निर्वाचन परिणाम आउन थप १० दिन समय लाग्छ। संविधानमा जेठ १५ सम्म अर्को आर्थिक वर्षको बजेट ल्याइसक्नुर्छ भन्ने प्रावधान छ। कांग्रेस सभापति शेरबहादुर देउवा आगामी बजेट आफ्नै सरकारले ल्याउनुपर्छ भन्ने मनस्थितिमा देखिनुभएको छ । कांग्रेस र माओवादीबीच चैत मसान्तसम्म पुष्पकमल दाहाल प्रधानमन्त्री र वैशाखदेखि देउवा प्रधानमन्त्री हुने सहमति भएको थियो।

निर्वाचन घोषणाको एमालेद्वारा समर्थन
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले सोमबार साँझ गरेको निर्वाचन घोषणाको स्वागत गरेको छ। एमालेले सरकारले घोषणा गरेको निर्वाचन कार्यक्रमलाई सबै मिलेर सफल पार्नुपर्ने बताएको छ।

सरकाले बैशाख ३१ गतेका लागि स्थानीयतहको निर्वाचन घोषणा गरेपछि एमाले संसदीयदलका उपनेता सुवास नेम्वाङले सरकारको घोषणालाई एमालेको सहयोग र समर्थन गर्ने बताउनुभयो ।

‘हामीले सुरुदेखि नै माघ ७ गतेसम्म तीन तहको निर्वाचन गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न माग गरेका थियौ,’ उहाँले भन्नुभयो, ‘ढिलै भएपनि सरकारले निर्वाचनको मिति घोषणा गरेको छ। यसलाई सबै मिलेर सफल पार्नुपर्छ।’ निर्वाचनको मिति घोषणा भएपनि यसका विरुद्ध हुनसक्ने षड्यन्त्रप्रति सबै सतर्क हुनुपर्ने नेम्बाङले जोड दिनुभयो ।

;+o’Qm nf]stflGqs dw];L df]rf{sf] a}7s zlgaf/ aa/dxndf a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

मोर्चाद्वारा आन्दोलनको घोषणा
निर्वाचनको मिति घोषणा भएसँगै मधेसी मोर्चाले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ। मोर्चाले वैशाख ३१ गते स्थानीयतहको निर्वाचनको मिति घोषणा गर्ने सरकारको निर्णय आएलगत्तै त्यसको विरोधमा मंगलबार मधेशमा जिल्लाहरुमा मसालजुलुस गर्ने, बुधबार मधेश बन्द गर्ने लगायतको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा सोमबार बसेको मोर्चाको बैठकले निर्वाचन गर्ने सरकारको निर्णयको विरोधमा भण्डाफोर अभियान पनि सुरुगर्ने निर्णय गरेको छ।

यसअघि मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभई निर्वाचनको मिति घोषणा भए बिथोल्ने चेतावनी दिँदै आएको थियो। मोर्चाले संविधान संशोधन बिना गरिने निर्वाचन स्वीकार्य नहुने बताउँदै मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने भएको छ।

यस्तै ११ गते बुधबार मधेस बन्द गर्ने घोषणा गरेको छ। सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया