लक्की चौधरी
काठमाडौं, फागुन १३ गते । नेपाल पत्रकार महासंघको जारी निर्वाचनबाट थारु बहुल जिल्लामा थारु पत्रकारको प्रतिनिधित्व उत्साहजनक रहेको छ । अहिलेसम्म आएको परिणामअनुसार महासंघको केन्द्रीय पार्ससद, प्रदेश पार्सद, जिल्ला नेतृत्वदेखि पदाधिकारी र सदस्यसम्म थारु पत्रकारको सहभागिता राम्रो देखिएको छ ।
फागुन १२ गते मंगलबार बाँकेमा सम्पन्न महासंघको निर्वाचनबाट अध्यक्षमा ठाकुरसिंह थारु भारी मतले निर्वाचित हुनुभएको छ । प्रगतिशील संयुक्त प्यानलको सहयोगमा थारु अध्यक्षमा निर्वाचित हुनुभएको हो । सम्भवतः जिल्ला नेतृत्वको जिम्मेवारी सम्हाल्ने महासंघको इतिहासमा ठाकुर पहिलो थारु बन्नुहुनेछ ।
यस्तै, बाँकेबाट सुमित्रा चौधरी केन्द्रीय पार्सदमा निर्वाचित हुनुभएको छ । त्यस्तै प्रदेश पार्सदमा विमला चौधरी, विश्वराज पछल्डंग्या, राधेश्याम थारु र जिल्ला सदस्यमा भगतराम थारु निर्वाचित हुनुभएको छ । बाँकेबाट छ जना थारु निर्वाचित हुनुभएको छ ।
यसअघि फागुन ७ गते भएको निर्वाचनमा सुनसरीमा पनि छजना थारु विभन्न पदमा निर्वाचित हुनुभएको थियो । ममता चौधरी केन्द्रीय पार्सदमा निर्वाचित हुनुभएको छ । त्यस्तै, प्रदेश पार्सदमा निशान प्रकृति थारु, कुलदीप चौधरी, गवनसिंह थारु र जिल्ला सदस्यमा सुनिल चौधरी निर्वाचित हुनुभएको छ ।
थारु पत्रकारको बहुल जिल्लाकोरुपमा चिनिने दाङ र कैलालीमा थारुको प्रतिनिधित्वको ठूलो आशा गरिएको छ । कैलाली, कञ्चनपुरको निर्वाचन फागुन २२ गतेका लागि तोकिएको छ ।
त्यस्तै, रुपन्देहीको निर्वाचनबाट जिल्ला सदस्यमा हिक्मत चौधरी र प्रदेश पार्सदमा राज थारु निर्वाचित भइसक्नुभएको छ । त्यसैगरी दाङमा शुक्रबार मतदान शुरुभएको छ । साँझसम्म परिणाम आउने पत्रकार सन्तोष दहितले बताउनुभयो । अध्यक्षमा सविन प्रियसन थारु र दुर्गालाल केसीबीच प्रतिस्पर्धा भइरहेको छ । दुवैजना प्रेस चौतारी नेपालका उम्मेदवार हुनुहुन्छ ।
दाङबाट प्रदेश पार्सदमा पुरन चौधरी र लक्षिमान चौधरी सर्वसम्मत भइसक्नुभएको छ । त्यस्तै, केन्द्रीय पार्सदमा छविलाल कोपिला, गोविन्द चौधरी र प्रकाश चौधरी उम्मेदवारी दिनुभएको छ । कार्य समिति सदस्यमा सविता चौधरी र दिप्तीशिखा चौधरीले पनि उम्मेदवारी दिनुभएको छ ।
थारु पत्रकारको बहुल जिल्लाकोरुपमा चिनिने दाङ र कैलालीमा थारुको प्रतिनिधित्वको ठूलो आशा गरिएको छ । कैलाली, कञ्चनपुरको निर्वाचन फागुन २२ गतेका लागि तोकिएको छ । पत्रकार महासंघको केन्द्रमा अहिलेसम्म लक्की चौधरी एकमात्र थारुको प्रतिनिधित्व हुन सकेको छ । देशभरका थारु जिल्लाबाट करिब १७५ जना थारु महासंघका साधारण सदस्य रहेका छन् ।