राजबन्दीलाई रिहाई नगरिए चुनाव हुन नदिने थारु अगुवाको चेतावनी


कैलाली, फागुन १४ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीसहितका आधा दर्जन संघ संस्थाले टीकापुर घटनाको आरोपमा पक्राउ परेका राजबन्दी थारुलाई रिहाई नगर्दासम्म कैलाली र कञ्चनपुरमा स्थानीयतहको निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

घटनामा आरोप लगाएर पक्राउ परेकाहरुको तत्काल मुद्दा खारेज हुनुपर्ने, भाद्र ८ गते थारुको घरमा भएको आगजनीको उचित क्षतिपूर्ति दिइनुपर्ने, कैलाली र कञ्चनपुर जिल्लालाई थरुहट प्रदेशमै राख्नुपर्ने, माग राख्दै शुक्रबार विभिन्न सातवटा संघ संस्थाले संयुक्त विज्ञप्ती जारी गर्दै निर्वाचन हुन नदिने चेतावनी दिएका हुन् ।

आग्रहको वेवास्ता गरेर निर्वाचन गर्न खोजे त्यसको कडा प्रतिकार गर्ने र त्यसबाट हुने क्षतिको सबै जिम्मा नेपाल सरकारले लिनुपर्ने भनाई संघ संस्थाका पदाधिकारीहरुको छ ।

आफूहरुको आग्रहको वेवास्ता गरेर निर्वाचन गर्न खोजे त्यसको कडा प्रतिकार गर्ने र त्यसबाट हुने क्षतिको सबै जिम्मा नेपाल सरकारले लिनुपर्ने भनाई संघ संस्थाका पदाधिकारीहरुको छ ।

थरुहट थारुवान संयुक्त प्रादेशीक संघर्ष समितिका तर्फबाट होरिलाल चौधरी, संघर्ष समिति कैलाली र कञ्चनपुरका तर्फबाट संयोजक प्रभातकुमार चौधरी, संघर्ष समिति कैलालीका संयोजक कृष्णकुमार चौधरीले विज्ञप्तीमा हस्ताक्षर गर्नुभएको छ ।

त्यस्तै, संघर्ष समिति कञ्चनपुरका संयोजक पुष्कल चौधरी, संघीय गठबन्धनका निरु रिजाल, रानाथारु संयुक्त संघर्ष समिति कैलालीका संयोजक गोविन्द रानाथारु, कठरिया संयुक्त संघर्ष समिति कैलालीका संयोजक सुरज कठरिया र आदिबासी जनजाति महासंघ जिल्ला समन्वय कमिटी कैलालीका अध्यक्ष तेज तारामीले हस्ताक्षर गरी संयुक्त विज्ञप्ती जारी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया