काठमाडौं, चैत ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको आधिकारीक पत्र मधेसी मोर्चाले विहिबार सभामुख ओनसरी घर्तीलाई बुझाएको छ ।
सभामुखको सचिवालय सिंहदरवारमा उपस्थित भएर तराई आधारित चार पार्टीका नेताहरुले संयुक्तरुपमा पत्र सभामुखलाई हस्तान्तरण गरेका हुन्।
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सद्भावना पार्टी तथा राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रतिनिधि नेताहरुले पत्र हस्तान्तरण गरेका हुन्।
तमलोपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको मोर्चा बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। मोर्चाको सो बैठकले सरकारलाई असहयोग गर्नेसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।
तराई मधेस सद्भावना पार्टी तथा संघीय सद्भावना पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक जानकारी भने दिएका छैनन्। संघीय समाजवादी फोरम नेपालले बुधबार नै सरकारबाट फिर्ता भएको पत्र सभामुखलाई बुझाइसकेको थियो ।
बुधबार तमलोपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको मोर्चा बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। मोर्चाको सो बैठकले सरकारलाई असहयोग गर्नेसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।
संविधान संशोधनको सर्तसहित दाहाल सरकारलाई मोर्चाले समर्थन दिएको थियो। प्रदेश नं. ५ को सिमाङ्कन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव संसदमा विचाराधीन छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, एमालेसहितका दल संशोधनको प्रस्तावको पक्षमा नहुँदा संविधान संशोधन हुन सक्ने अवस्था देखिदैन।
प्रधानमन्त्रीले मोर्चा नेताहरुलाई बुधबार बोलाएर सो तथ्य अवगत गराउँदै प्रदेश तथा केन्द्रको चुनाब अगाडि संशोधन गर्ने एवं अहिले स्थानीय निर्वाचन नबिथोल्न आग्रह गरेका थिए।