लक्की चौधरी
काठमाडौं, चैत ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी विधानमा भएको व्यवस्थाअनुसार नै ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दू राष्ट्र’ कायम गरिदिन निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ ।
सोमबार पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा गएको एक टोलीले आयोगलाई ज्ञापनपत्र बुझाउँदै त्यस्तो आग्रह गरेको हो । पार्टीका विधान संशोधन गर्ने अधिकार निर्वाचन आयोगलाई नभएको जिकिर गर्दै सो दलले निर्वाचन आयोगलाई पुनरविचार गरदिन आग्रह गरेको पार्टीका सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
राप्रपाले ७५ वटै निर्वाचन कार्यालयमा सोमबार एक घण्टा धर्ना बसेर ज्ञापनपत्र बुझाएको सहायक प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । अन्य ठाउँमा शान्तिपूर्ण ढंगले ज्ञापनपत्र बुझाउने काम भएपनि काठमाडौंमा सुरक्षाकर्मी र राप्रपा कार्यकर्ताबीच झडप भएको छ । शान्तिपूर्ण धर्नामा प्रहरीले लाठी प्रहार गरेको आरोप श्रेष्ठले लगाउनुभयो ।
शान्ति बाटिकाबाट निस्केको शान्तिपूर्ण ¥याली कान्तिपथस्थित निर्वाचन आयोग परिसर पुग्नैलाग्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो । निषेधित क्षेत्रलाई राप्रपा कार्यकर्ताले तोडने प्रयास गरेपछि सुरक्षाकर्मीले सामान्य बल प्रयोग गरेको थियो ।
प्रहरीले रोक्ने प्रयास गरेपछि राप्रपा कार्यकर्ता आक्रोशित भएको सो दलले बताएको छ । सुरक्षाकर्मीले रोक्ने प्रयास गरेपछि कार्यकर्ता र सुरक्षाकर्मीबीच ठेलमठेल भएको प्रवक्ता श्रेष्ठले स्वीकार गर्नुभयो । तर सामान्य ठेलमठेलमा सुरक्षाकर्मीले अश्रुग्यास र लाठीप्रहार गरेको उहाँले आरोप लगाउनुभयो ।
प्रहरीको लाठी प्रहारबाट नेताहरु पशुपति शमशेर जवरा, रोशन कार्की, सयन्द बास्तोला, सिर्जना रानी वर्मा, सरस्वती अधिकारी, कोमल ओली, मिना जोशी, राजेन्द्रप्रसाद श्रेष्ठ, राजाराम वर्तौला लगायत नेता तथा कार्यकर्ता घाइते भएको श्रेष्ठले जानकारी दिनुभयो ।
तर, यता निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आयोग परिसर बाहिर सुरक्षाकर्मी र राप्रपा कार्यकर्ताबीच सामान्य ठेलमठेल भएको सुनेपनि सोबारे आयोगलाई विस्तृत जानकारी नभएको बताउनु भयो । राप्रपा अध्यक्ष थापासहितको एक टोली आयोगमा आएर शान्तिपूर्ण ढंगले ज्ञापनपत्र मार्फत माग राख्नुभएको उहाँले जानकारी गराउनुभयो ।
सो अवसरमा राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पार्टी स्थानीयतह निर्वाचनको पक्षमा रहेको र भोलि पनि रहने भन्दै आयोगलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । पार्टीको विधानअनुसार भएको व्यवस्थालाई आयोगले हटाएकोप्रति ध्यानाकर्षण गराउँदै अध्यक्ष थापाले आयोगलाई पुनरविचार गर्न आग्रह गर्नुभएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संविधान र ऐन नियमभन्दा बाहिर निर्वाचन आयोग जान नसक्ने भन्दै संविधानले गरेको व्यवस्थाअनुुसार नै आफूहरुले काम गर्ने प्रतिवद्धता जनाउनुभयो । निर्वाचन अयोगको चैत २ गते बसेको बैठकले मुलुक संविधानतः धर्म निरपेक्ष मुलुक भइसकेको भन्दै राप्रपाको विधानबाट ‘संवैधानिक राजनतन्त्र’ र ‘हिन्दू राष्ट्र’ संशोधन गरेको थियो ।
पार्टीको आत्मालाई नै आयोगलाई मेटाइदिएपछि पार्टी आन्दोलनमा जान बाध्य भएको सहायक प्रवक्ता श्रेष्ठले बताउनुभयो । तर आयोगले राप्रपाको विषयमा राजनीतिक सहमति बनाउन आग्रह गर्दैआएको छ । आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा पनि प्रमुख आयुक्त डा. यादवले निर्वाचनको वातावरण बनाउन दलीय सहमति अपरिहार्य रहेको बताउनुभएको थियो ।