एमालेले प्रदेश नं. २ मा पनि अभियान लाँदै, जिल्लागत भेला गर्ने


लक्की चौधरी
काठमाडौं, चैत ९ गते । हालै मेची–महाकाली राष्ट्रिय अभियान सम्पन्न गरेको प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) ले प्रदेश नं. २ मा सोही अभियान लिएर जाने तयारी गरेको छ ।

एमाले प्रदेश नं २ का संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले अभियानको तयारी तिव्र गतिमा भइरहेकाले सम्भवतः चैत १६ पछि अभियान शुरुहुने जानकारी दिनुभयो । केही मधेसी दलका नेताहरुले अभियानको विरोध गरेपनि त्यसको कुनै अर्थ नरहेको बताउँदै संयोजक मण्डलले शान्तिपूर्ण अभियान सञ्चालन गर्न पाउने संवैधानिक हक भएकाले अभियान हुने बताउनुभयो ।

“लोकतन्त्रमा विश्वास गर्ने दलका नेताहरुले शान्तिपूर्ण अभियानको विरोध गर्नुहुँदैन” भन्दै नेता मण्डलले एमालेको एजेण्डा र नीतिबारे मधेसका जनतालाई जानकारी गराउन अभियान शुरुहुने तर्क गर्नुभयो । गोरखापत्रसँग बुधबार कुरागर्दै संयोजक मण्डलले भन्नुभयो, “एमाले लडाई र झडप चाहँदैन, पार्टीको नीति र कार्यक्रमबारे जनतालाई जानकारी गराउनु हाम्रो संवैधानिक र लोकतान्त्रिक अधिकार हो ।”

संयोजक मण्डलकाअनुसार धनुषा, सिराहा, महोत्तरी लगायतका बाँकी जिल्लामा एमालेको आगामी अभियान सुचारु हुनेछ । मधेस कुनै दलका नेताको पैतृक सम्पत्ति नभएको बताउँदै उहाँले एमालेको अभियानलाई कसैले रोक्न नसक्ने दावी गर्नुभयो । प्रदेश नं. २ मा एमालेको पार्टी कार्यालय, कार्यकर्ता र नेता सबै रहेकाले कसैले चाहँदैमा एमालेलाई निषेध गर्न नसक्ने जिकिर गर्नुभयो ।

स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रदेश नं. २ मा कसरी अभियान सञ्चालन गर्ने विषयमा विहिबारको स्थायी कमिटी बैठकले आधिकारीक निर्णय गर्ने बताउनुभयो । उहाँकाअनुसार विहान ११ बजे स्थायी कमिटीको बैठक अध्यक्ष केपी शर्मा आली निवास बालकोटमा बोलाइएको छ ।

“मेची महाकाली अभियान हाइवे केन्द्रीत थियो, प्रदेश नं २ को अभियानको स्वरुप परिवर्तन गरेर लैजाने मोटामोटी कुरा भएको छ” उहाँले भन्नुभयो । बाँकी ६ वटा जिल्लामा जिल्लागत भेला र आमसभाहरु गर्ने तयारी पार्टीले गरेको छ ।

“मेची महाकाली अभियान हाइवे केन्द्रीत थियो, प्रदेश नं २ को अभियानको स्वरुप परिवर्तन गरेर लैजाने मोटामोटी कुरा भएको छ” उहाँले भन्नुभयो । बाँकी ६ वटा जिल्लामा जिल्लागत भेला र आमसभाहरु गर्ने तयारी पार्टीले गरेको  छ । निर्वाचनका बेलामा जनतालाई पार्टीको एजेण्डा र नीतिबारे जानकारी गराउन सबै दलको आवश्यकता भएकाले प्रदेश नं २ मा एमाले सोही अभियान लिएर जाने उहाँले प्रष्ट पार्नुभयो ।

पार्टी कार्यालयका सचिव तथा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले स्थायी कमिटीको बैठक विहिबारका लागि बोलाइएको छ । भक्तपुरस्थित पार्टी अध्यक्ष ओलीको निवासमा बैठक बोलाइएको उहाँले जानकारी दिनुभयो । कार्यालय सचिव श्रेष्ठकाअनुसार प्रदेश नं २ मा गर्ने भेला र उम्मेदवारका मापदण्डका विषयमा समेत बैठकमा छलफल हुनेछ ।

यसअघि फागुन २३ गते सप्तरीमा भएको कार्यक्रमपछि मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको थियो । झडपमा परेर चारजना मधेसी मोर्चाका कार्यकर्ताको ज्यान गएपछि एमालेले तीन दिनका लागि अभियान स्थगित गरेको थियो । पछि २७ गते हेटौडाबाट शुरु गरेको एमालेको अभियान चैत ५ गते सुर्खेतमा आएर समापन भएको थियो ।

तपाईको प्रतिक्रिया