पत्रकार महासंघको २५ औं महाधिवेशन जेठ २० भित्र, शुरुभयो तयारी


लक्की चौधरी
काठमाडौं, चैत २१ गते । नेपाल पत्रकार महासंघको आगामी २५ औं महाधिवेशन आगामी जेठ २० गतेभित्र गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।

भक्तपुरको नगरकोटमा शनिबार र आइतबार दुईदिन चलेको बाह्रौ केन्द्रीय बैठकले सो मिति तय गरेको हो । यसअघि विश्व प्रेस स्वतन्त्रता दिवस वैशाख २० (मे थर्ड) लाई महाधिवेशनको मिति मान्ने गरिए पनि यसपल्ट वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा भएपछि महासंघले आफ्नो महाधिवेशन मिति फेरबदल गर्नुपरेको बताएको छ ।

बैठकले महाधिवेशन तयारीका विभिन्न विषयगत समिति समेत गठन गरेको छ । अध्यक्ष डा. महेन्द्र विष्टको संयोजकत्वमा मूल तयारी व्यवस्थापन समिति, उपाध्यक्ष खीलबहादुर भण्डारीको संयोजकत्वमा आवास व्यवस्थापन समिति, उपाध्यक्ष अनिता विन्दुको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, कोषाध्यक्ष सूर्यमणि गौतमको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ ।

त्यस्तै, सचिव ध्रुव लम्सालको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति, सचिव प्रभात चलाउनेको संयोजकत्वमा स्मारिकमा प्रकाशन समिति, सचिव संगीता खड्काको संयोजकत्वमा स्वागत सत्कार समिति पनि गठन गरेको छ ।

अधिवेशन हुन बाँकी रहेका जिल्लाको वैशाख ७ भित्र गरिसक्ने र विवादित जिल्ला कार्यालयमा लागेका ताल्चा खोल्न २४ घण्टाको समय सम्बन्धित पक्षलाई बैठकले निर्धारण गरेको छ ।

बैठकले प्राध्यापक चिरन्जिवी खनालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । बाँकी चारवटा सदस्य तोक्ने जिम्मेवारी महासंघ सचिवालयलाई दिने निर्णय बैठकले गरेको छ । सोहीअनुसार आगामी महाधिवेशनमा उम्मेदवार हुनेका लागि उम्मेदवारी शुल्क र महाधिवेशन प्रतिनिधि शुल्क पनि बैठकले निर्धारण गरेको छ ।

महाधिवेशन प्रतिनिधिकालागि एकहजार रुपियाँ, उम्मेदवार मनोनयन दर्तामा अध्यक्षकालागि १० हजार रुपियाँ, पदाधिकारीकालागि पाँचहजार, केन्द्रीय सदस्यकालागि तीनहजार रुपियाँ, लेखा समितिका संयोजकका लागि पाँचहजार रुपिया र लेखा सदस्यकालागि तीनहजार रुपियाँ तोक्ने निर्णय बैठकले गरेको छ ।

सोहीअनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाको वैशाख ७ भित्र गरिसक्ने र विवादित जिल्ला कार्यालयमा लागेका ताल्चा खोल्न २४ घण्टाको समय सम्बन्धित पक्षलाई बैठकले निर्धारण गरेको छ । सो अवधिमा असन्तुष्टहरुसँग छलफल गरी सहमतिको प्रयास गर्ने, सहमति नभएमा ताल्चा तोडी कार्यालय सुचारु गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा बोल्दै अध्यक्ष डा. विष्टले महाधिवेशनको मिति लम्ब्याउन वर्तमान समितिले नचाहे पनि स्थानीय तहको निर्वाचनकाकारण बाध्यात्मक परिस्थितिमा एक महिना ढिलोगरी महाविधेशनको मिति तय भएको बताउनुभयो । त्यस्तै, पूर्व अध्यक्ष डा. सुरेश आचार्य, सल्लाहकार शिव गाउँले, पोषण केसीले देशको वर्तमान अवस्थाको मूल्यांकन गर्दै महासंघको महाधिवेशनको मिति तय गर्न सुझाव दिनुभएको थियो ।

हालसम्म १० हजार ४ सय ३३ जना पत्रकारले सदस्यता नविकरण गरेको र नयाँ समेत थप गरेर कुल सदस्य संख्या १२ हजार १५ पुगेको महासचिव मगरले जानकारी दिनुभयो ।

महासचिव उजीर मगरकाअनुसार काठमाडौं उपत्यकाका जिल्लासहित २० जिल्ला, १४ प्रतिष्ठान शाखा र एक एशोसियट शाखामा निर्वाचन हुन बाँकी छ । निर्वाचन नभएको जिल्लामा पाँचथर, भोजपुर, सिराहा, सप्तरी, सुर्खेत, जाजरकोट, दैलेख, रोल्पा, नुवाकोट, काभ्रे, बारा, रौतहट, अछाम लगायतका छन् ।

हालसम्म १० हजार ४ सय ३३ जना पत्रकारले सदस्यता नविकरण गरेको र नयाँ समेत थप गरेर कुल सदस्य संख्या १२ हजार १५ पुगेको महासचिव मगरले जानकारी दिनुभयो । अझै विभिन्न जिल्लामा अधिवेशन हुन बाँकीरहेकाले सो सदस्य संख्यामा फेरबदल हुने उहाँले बैठकमा जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया