काठमाडौं, वैशाख १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चासँगको पछिल्लो सहमति र स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रीत भएर प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अोलीसँग परामर्श गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो बालकोटस्थित ओली निवासमा पुगेर सो विषयमा छलफल गर्नुभएको हो । दुई चरणमा निर्वाचन गर्ने मोटामोटी वातावरण बनेको भन्दै उहाँले अध्यक्ष ओलीलाई संविधान संशोधनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर अध्यक्ष ओलीले सहमतिको लिखित दस्तावेज अझै एमालेलाई प्राप्त नभएकाले त्यसको अध्ययन विना जवाफ दिन नसक्ने बताउनुभएको थियो ।
“तपाईहरुले तयार गरेको संविधान संशोधनको दस्तावेज दिनुस, अध्ययन पछि सहयोग र विरोध के गर्ने पार्टीले आधिकारिक धारणा तय गर्छ” प्रधानमन्त्रीलाई आफूले भनेको अध्यक्ष ओलीले पत्रकारलाई जानकारी दिनुभयो । मधेसी मोर्चा पनि निर्वाचनमा आवस् भन्ने एमालेको पनि धारणा रहेको उहाँले बताउनुभयो ।
भेटघाटपछि पत्रकारसँग कुरागर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले आफूलाई संविधान संशोधनको विषयमा सहयोग गर्न आग्रह गर्नुभएको जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन पछि दुई चरणमा निर्वाचन गर्ने मोर्चाका नेताहरुसँग मौखिक सहमति बनेको जानकारी अध्यक्ष अोलीलाई गराउनुभएको थियो ।
दुई चरणको निर्वाचनको बीचमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने काम निर्वाचन आचारसंहिता विपरित हुने भन्दै त्यसमा एमालेको सहयोग नहुने आफूले बताएको अध्यक्ष अोलीले जानकारी गराउनुभयो ।
दुई चरणको निर्वाचनको बीचमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने काम निर्वाचन आचारसंहिता विपरित हुने भन्दै त्यसमा एमालेको सहयोग नहुने आफूले बताएको अध्यक्ष अोलीले जानकारी गराउनुभयो ।
निर्वाचनको बीचमा सरकार परिवर्तन गर्नेजस्ता विषय आचारसंहिता विपरित हुन्छ भन्दै सहमति जनाउन नसक्ने अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउनुभएको थियो । “हामीसँग कुनै परामर्श नै नगरी सहमति गर्नुभयो, के सहमति गर्नुभयो हामीलाई थाहा भएन ?” जिज्ञासा गर्दै अध्यक्ष ओलीले विना जानकारी आँखा चिम्लेर एमालेले सहयोग गर्न नसक्ने बताउनुभएको थियो ।
तर यता प्रधानमन्त्री दाहालले छलफल सकारात्मक भएको कुरा प्रधानमन्त्री सचिवालयलाई जानकारी गराउनुभएको छ । अध्यक्ष ओलीले निर्वाचनप्रति सरकारात्मक रहनु भएपनि दोस्रोचरणको निर्वाचनको मिति जेठ १५ कटाउन नहुने आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
यसैबीच एमाले संसदीय दलको बैठकले जेठ १५ पछि दोस्रो चरणको निर्वाचन गर्न नहुने निर्णय गरेको छ । “दुई चरणमा निर्वाचन गर्नमा एमाले सहमत छ तर जेठ १५ अघि नै गर्नुपर्छ भन्ने हाम्रो भनाई हो” पूर्व सभामुख तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।
बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलको विषयमा सांसदहरुलाई जानकारी गराउनुभएको थियो । बैठक व्यवस्थापिका संसद भवन वानेश्वरमा बसेको उपनेता नेम्वाङले जानकारी गराउनुभयो ।