लक्की चौधरी
काठमाडौं, वैशाख ११ गते । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) ले निर्वाचन आचारसंहिता लागेकै बखत जेठ १५ गते बजेट ल्याउन समस्या हुने बताइरहेकाबेला निर्वाचन आयोगले बजेट देशको विकास संरचना र नभइनहुने आवश्यकता भएकाले आचारसंहिताले बजेट ल्याउन नछेक्ने प्रष्ट पारेको छ ।
निर्वाचन आयोगमा सोमबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आचारसंहिताकैबीच बजेट ल्याउनमा समस्या नहुने बताउनुभयो । यद्यपि प्रधानमन्त्रीलाई बजेट ल्याउने समय संविधान संशोधन गरेर असार पहिलो सातासम्म ल्याउन सुझाव दिइएको डा. यादवले प्रष्ट पार्नुभयो । सो विषयमा दलका नेताहरुबीच छलफल हुने र आवश्यक समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीलाई बजेट ल्याउने समय संविधान संशोधन गरेर असार पहिलो सातासम्म ल्याउन सुझाव दिइएको डा. यादवले प्रष्ट पार्नुभयो । सो विषयमा दलका नेताहरुबीच छलफल हुने र आवश्यक समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बजेट प्रस्तुत गरेर दोस्रो चरणको निर्वाचन गर्न नहुने एमालेले बताउँदैआएको छ । सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि आयोगले निर्वाचन कार्यतालिका समेत हेरफेर गरेको छ । वैशाख ३१ गते र जेठ ३१ गते दुईचरणमा निर्वाचन हुने भएपछि निर्वाचन कार्यतालिकामा सामान्य हेरफेर भएको प्रमुख आयुक्त डा. यादवले बताउनुभयो ।
उहाँकाअनुसार पहिलोचरणको निर्वाचनकालागि उम्मेदवारी मनोनयन गर्ने वैशाख १९ गते, उम्मेदवारको सूची प्रकाशन १९ गते साँझ साढे पाँचबजे, उम्मेदवारको विरोधमा उजुरी गर्ने २० गते, उम्मेदवारको नामावली प्रकाशन २१ गते, उम्मेदवारले नाम फिर्ता लिने २१ गते ५ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २२ गते, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान २२ गते र मतदान ३१ गते गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै, दोस्रोचरणको निर्वाचनकालागि उम्मेदवारी मनोनयन गर्ने जेठ १९ गते, उम्मेदवारको सूची प्रकाशन १९ गते साँझ साढे पाँचबजे, उम्मेदवारको विरोधमा उजुरी गर्ने २० गते, उम्मेदवारको नामावली प्रकाशन २१ गते, उम्मेदवारले नाम फिर्ता लिने २१ गते ५ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २२ गते, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान २२ गते र मतदान जेठ ३१ गते गर्ने कार्यतालिका रहेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवकाअनुसार पहिलो चरणको निर्वाचन सम्पन्नलगत्तै मतपत्र संकलन पछि नियमानुसार मतगणना तत्काल शुरुहुने र पहिलो चरणको निर्वाचनको नतिजा प्रकाशन पछि दोस्रोचरणको निर्वाचन हुनेछ । त्यसोगर्दा मतदातामा मनोवैज्ञानिक प्रभाव पर्ला नि ? भन्ने पत्रकारको जिज्ञासामा डा. यादवले भन्नुभयो, “हाम्रा मतदाता समयानुकुल धेरै बाठा भइसकेका छन्, के राम्रो के नराम्रो बुझ्छन् त्यसैले मनोवैज्ञानिक असर पर्छ भनेर डराउनु पर्दैन ।”
निर्वाचन आयोगले निर्वाचनकालागि आवश्यक पर्ने सबै सुरक्षा व्यवस्था नेपाल सरकारले मिलाउने प्रतिवद्धता गरिसकेकाले ढुक्क हुन सबैमा आग्रह गरेको छ । दुई चरणमा निर्वाचन हुने भएपछि स्वभावतः आर्थिक व्ययभार थपिने र त्यसकोलागि सरकार तयार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । निर्वाचन पर्यवेक्षककालागि ४१ संस्थाका ४७ हजार ६६६ जनालाई आयोगले अनुमति प्रदान गरिसकेको पनि प्रमुख आयुक्त यादवले प्रष्ट पार्नुभयो ।
गत फागुन १८ देखि निर्वाचन आचारसंहिता लागू भइसकेको र वैशाख ४ गतेसम्म एकहजार २०५ निवेदन आयोगमा परेको बताउँदै डा. यादवले भन्नुभयो, “त्यसमध्ये एकहजार ९३ ले सहमति माग गरेको, ५९ वटा आचारसंहिता पालनसँग सम्बन्धित उजुरी रहेको छ ।”
निर्वाचन आयोगमा दर्ता नभएका र चुनाव चिन्ह प्राप्त गर्न छुट भएका दलको हकमा आयोगले के तयारी गरेको छ ? भन्ने पत्रकारको जिज्ञासामा आयोगका प्रमुख आयुक्त डा. यादवले मतपत्र छाप्नेकाम अन्तिम चरणमा पुगेको र अधिकांश जिल्लामा मतपत्र ढुवानी भइसकेकाले तत्कालका लागि चुनाव चिन्ह प्रदान गर्न नसकिने बताउनुभयो ।
आयोगले पहिलोचरणमा प्रदेश नं. ३, ४ र ६ को ३४ जिल्लाको २९३ स्थानीय तहमा निर्वाचन गर्ने तयारी गरेको छ । त्यस्तै, दोस्रोचरणमा प्रदेश नं. १, २, ५ र ७ को निर्वाचन गर्ने आयोगले जानकारी गराएको छ । सरकारले दुईचरणमा निर्वाचन गर्ने निर्णय गरेपछि आयोगलाई थप चुनौति थपिएको बताउँदै प्रमुख आयुक्त डा. यादवले पहिलो चरणको निर्वाचनको तयारी अन्तिमचरणमा पुगेको जानकारी दिनुभयो ।
निर्वाचन आयोगमा दर्ता नभएका र चुनाव चिन्ह प्राप्त गर्न छुट भएका दलको हकमा आयोगले के तयारी गरेको छ ? भन्ने पत्रकारको जिज्ञासामा आयोगका प्रमुख आयुक्त डा. यादवले मतपत्र छाप्नेकाम अन्तिम चरणमा पुगेको र अधिकांश जिल्लामा मतपत्र ढुवानी भइसकेकाले तत्कालका लागि चुनाव चिन्ह प्रदान गर्न नसकिने बताउनुभयो । कानूनअनुसार पनि त्यो सम्भव नभएको उहाँले प्रष्ट पार्नु भयो ।
छुटभएका दललाई चुनाव चिन्ह प्रदान गरेर निर्वाचन गराउँदा दुईचरणमा निर्वाचन सम्भव नहुने भन्दै उहाँले त्यसकालागि थप तयारी चाहिने बताउनुभयो । पहिलोचरणको निर्वाचन वैशाख ३१ गते आइतबार र दोस्रोचरणको निर्वाचन जेठ ३१ गते बुधबार सम्पन्न गर्नेगरी आयोगले सबै तयारी तिव्रगतिमा गरिरहेको प्रमुख आयुक्त डा. यादवले जानकारी दिनुभयो ।