राष्ट्रिय पत्रकारिता दिवस २०७४ को अवसरमा काठमाडौंमा प्रभातफेरि


लक्की चौधरी
काठमाडौं, वैशाख २४ गते । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाली भाषा मानकताको आधार बन्नमा गोरखापत्र र यसका सहप्रकाशनको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।

दोस्रो राष्ट्रिय पत्रकारिता दिवस २०७४ को अवसरमा आइतबार यहाँ आयोजित प्रभातफेरिको समापन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले त्यस्तो बताउनुभयो । नेपाली भाषा सबै जाति वर्गको सम्पर्क भाषाकोरुपमा स्थापित हुनुमा नेपाली सञ्चारजगतको भूमिका महत्वपूर्ण छ उहाँले भन्नुभयो ।

“आजको पत्रकारिता हिजोकोजस्तो जिम्मेवार हुन नसकेकोप्रति दुःख व्यक्तगर्दै उहाँले मुलुक संक्रमित र अशान्त रहेकाबेला नेपाली मिडिया र नागरिक समाजले मध्यस्थकर्ताको भूमिका खेल्न सक्नुपर्छ” उहाँले भन्नुभयो । तर मिडियाहरु अहिले दलीयहिसावमा विभाजित हुँदा सो भूमिका निर्वाह गर्न नसकिरहेको उहाँले टिप्पणी गर्नुभयो ।

पत्रकारिता जहिले सरकारको रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न सक्नुपर्ने भन्दै मन्त्री कार्कीले भन्नुभयो, “अहिले नेपाली मिडिया संयमित, मर्यादित र खवरदारी गर्ने भूमिकामा हुनुपर्छ ।” मिडिया संयमित नहुँदा समाजमा अराजकता आउनसक्ने र त्यसले अधिनायकवादको जन्महुनसक्ने खतरा उहाँले औल्याउनुभयो ।

सञ्चार सचिव महेन्द्रमान गुरुङले मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेकाबेला नेपाली मिडियाले समन्वयकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउनुभयो । पत्रकारिताको दिवसमा उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

संविधानविद काशीराज दाहालले संविधानको कार्यान्वयन नै अहिलेको प्रमुख मुद्दा रहेकाले मिडियाले त्यसमा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । मुलुकमा विधिको शासन कायम हुन नसकेको, संविधानको सीमा मिचिनेगरेकोप्रतिको उहाँले दुःख व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मुलुकको परिवर्तनका एजेण्डालाई संस्थागत गर्नमा नेपाली प्रेसको भूमिका आवश्यक रहेको बताउनुभयो । पत्रकारिता दिवसले प्रेस स्वतन्त्रता दिवस प्रवद्र्धनमा प्रेरणा प्रदान गरोस् उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

दिवसको अवसरमा विहान प्रभातफेरिको आयोजना गरिएको थियो । भृकुटीमण्डपबाट शुरुभएको प्रभातफेरि गोरखापत्र संस्थानको प्राङ्गणमा आएर कोणसभामा परिणत भएको थियो । पत्रकारिताको प्राथमिकताः समन्याय र समृद्धि नारा तय गरिएको दिवसमा सञ्चारमन्त्रालय, सूचना विभाग, गोरखापत्र संस्थान, रेडियो नेपाललगायत सरकारी सञ्चारसम्बद्ध तथा अन्य पत्रकारहरुको सहभागिता थियो ।

पत्रकार सम्मान
सञ्चार मन्त्रालयका सचिव महेन्द्रमा गुरुङले वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित हुनेहरुको नाम सार्वजनिक गर्नुभएको छ । सञ्चारमन्त्रालयको तर्फबाट प्रदान गरिने सो सम्मानकालागि पत्रकारहरुको नाम सचिवले कोणसभामा सार्वजनिक गर्नुभएको हो ।

सचिव गुरुङकाअनुसार वरिष्ठ पत्रकारिता सम्मानबाट चारजना र राष्ट्रिय पत्रकारिता सम्मानबाट पनि चारजना पत्रकार सम्मानित भएका छन् । सम्मानित वरिष्ठ पत्रकारतर्फ मदनमणि दिक्षित (काठमाडौ), नारायणप्रसाद शर्मा (दाङ), कृष्णा ताम्राकार (काठमाडौं) र विश्वबन्धु भण्डारी (तनहुँ) रहनुभएको छ । सम्मान राशी जनहीं दुईलाख रुपिया रहेको छ ।

त्यस्तै, राष्ट्रिय सम्मानतर्फ गणेशशेहर शर्मा (चित्तवन), शिवबहादुर कार्की (मोरङ), शिराजुद्दिन खान (बाँके) र गजेन्द्रबहादुर बुढाथोकी (उदयपुर) रहनुभएको छ ।

तपाईको प्रतिक्रिया