भगतराम थारु
नेपालगन्ज, बैशाख २५ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २८ कारकादोस्थित एक कोठामा २० जना महिला आफ्नै धुनमा काम गर्दैथिए । कोही बाँसको चिरा बनाउदै त कोही चिरालाई डोरीले बुन्दै थिए । केही साइकलको टायरले मुढाको वरिपरि बेर्दै थिए । सवै आ आफुले सक्ने काममा व्यस्त देखिन्थे ।
अरुवेला खाली समय घरमा बस्नुभन्दा केही सिप सिकौं र गरौं भन्ने उद्देश्यकासाथ आफुहरु तालिम लिन आएको उनीहरुको भनाई छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा एकिकृत समाजिक विकास केन्द्रको सहकार्यमा १५ दिने बाँसका मुढा बनाउने तालिम संचालनमा उनिहरु व्यस्त भएका हुन् ।
१५ दिने बाँसको मुढा बनाउने तालिमका प्रशिक्षक आशा चौधरीले २० जना महिलालाई बाँसको मुढा बनाउने तालिम प्रदान गर्दै आउनुभएको छ । तालिमको १३ औं दिनमा सहभागिहरुले बाँसको मुढा सहजै बनाउन सक्ने भएको सहभागि लक्ष्मी पोखरेलले बताउनुभयो ।
पहिले पहिले सिन्का चिर्ने सिकेर सिन्कालाई बुन्न र बनाउनसम्म सफल भएको पोखरेलले बताउनुभयो । नेपालगन्जको प्रचण्ड गर्मीमा घरमा खाली बस्नुभन्दा केही गरौ भन्ने सोचका महिलाहरुलाई यस्तो तालिम प्रदान गरिएको छ । तालिम सिकेर घरमै बसेर रोजगार बनुन भन्ने उद्देश्यकासाथ कारकादोमा मुढा बनाउने तालिम प्रदान गरिएको एकिकृत सामाजिक विकास केन्द्रका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभयो ।
नगरवासीले जे माग गरेका छन सोहीअनुसार नगरका हरेक वडामा आधारभुत सिपमुलक तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । यस्तै सिप सिकौं रोजगार बनौं लक्षित वर्गका महिलाहरुका लागि ४५ दिने आधारभुत सिलाईकटाई तालिम नगरका ६ वटा ठाउँमा संचालन रहेको छ । नगरका वडा नं. २२ पुरैनी, वडा नं. १६ जयसपुर, वडा नं. १३ बुलबुलिया, वडा नं. १५ पिपरहवा लगायत ६ वडामा सिलाईकटाई तालिम संचालन रहेको एकिकृत सामाजिक विकास केन्द्रका अध्यक्ष केसीले बताउनुभयो ।
४५ दिने सिलाई कटाई तालिमले आत्मनिर्भर बन्दैगएका महिलाहरुले थप केही समय तालिम संचालन भएको भए अझ प्रभावकारी तालिकाले तालिम सिक्ने मौका पाउने उनिहरुको भनाई छ । तालिममा सिलाईसम्बन्धि १५ प्रकारका सिलाईहरु सिकाउने प्रशिक्षक अन्जना मिश्राले बताउनुभयो । सिलाईकटाई तालिममा १३५ जना र बाँसको मुढा बनाउने तालिममा २० जना गरी कुल १ सय ५५ जनाले तालिम लिइरहेको आयोजकले जनाएको छ ।
यस आर्थिक बर्षभित्रै कुसन बुन्ने तालिम, अगरवत्ति बनाउने तालिम, चाउमिन बनाउने तालिम गरी कुल ४ वटा तालिम संचालन गर्न बाँकी रहेको अध्यक्ष केसीले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका ७ वटा वडामा विभिन्नखालका सिपमुलक तालिम संचालनमा छन् ।