राजबन्दी लाहुराम चौधरीको घरजग्गा बचाउन सांसदहरुको अभियान


काठमाडौं, वैशाख २५ गते । टीकापुर घटना आरोपमा पक्राउ पर्नुभएका थारु कल्याणकारिणीसभा कैलालीका सभापति लाहुराम चौधरीको घरजग्गा लिलाम हुनबाट बचाउन थारु सांसदहरुले पनि अभियान शुरुगरेका छन् ।

धनगढीस्थित एन.आइ.सी. एशिया बैंकबाट फर्निचर उद्योग सञ्चालनका लागि ऋण लिनुभएका सभापति चौधरी २०७२ भाद्र ७ गतेको घटनापछि पक्राउ पर्नुभएको थियो । चौधरीको अहिले फर्निचर उद्योग बन्द छ । घरको मुख्य व्यक्ति नै बन्दीजीवन विताउनु परेपछि उहाँको व्यापार व्यवसाय तथा घरव्यवहार डामाडोल बन्यो । सोहीकारण उहाँले बैंकबाट लिएको ऋण चुक्ता गर्न सक्नु भएन ।

बैंकले वैशाख १० गते स्थानीय पत्रिकामा घरजग्गा लिलामगरी असुलउपर गर्ने ३५ दिने भाकाको सूचना प्रकाशित गरेपछि चौधरी तनावमा पर्नुभयो । उहाँले थारु समुदायलाई सहयोगको अपिल गर्नुभएपछि अहिले आर्थिक संकलन अभियान शुरुभएको छ । उहाँको ३५ दिने भाका जेठ ९ गते सकिदैछ ।

सभापति चौधरीले हमार पहुरा डट कमसँग सहयोगको अपिल गरिदिन आग्रह गर्नुभएपछि सो न्यूज पोर्टलमा सहयोगको अपिलसहितको समाचार वैशाख १८ गते प्रकाशन भएको थियो । सोपछि थारु समुदाय सहयोगका लागि सक्रियता देखाएको हो ।

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने थारु सांसदले आर्थिक संकलनको अभियान शुरु गरेका छन् । अहिलेसम्म तीनजनाले मात्र सहयोग प्रदान गरेको सांसद योगेन्द्र चौधरीले बताउनुभयो । सांसद तेजुलाल चौधरी, जनक चौधरी र योगेन्द्र चौधरीले जनही तीनहजार रुपियाँको दरले सहयोग प्रदान गरेको सांसद चौधरीले बताउनुभयो । अन्य सांसदहरुलाई पनि सहयोगका लागि आग्रह गरिएको चौधरीले बताउनुभयो ।

त्यस्तै, अर्का सांसद गंगा चौधरीले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । हमार पहुरा डट कममा समाचार प्रकाशन भएलगत्तै सहयोगका लागि आर्थिक संकलनको शुरुवात गर्ने तयारी आफूले गर्दा पनि केही सांसदले वेवास्ता गरेपछि सहयोग संकलन गर्न नसकिएको उहाँले गुनासो गर्नुभयो ।

थारु समुदायको हक अधिकारका लागि आवाज उठाउँदा राजबन्दी जीवन विताउन बाध्य सबैलाई थारुको सहयोगको खाँचो रहेको सांसद चौधरीले बताउनुभयो । लिलाम हुनलागेको घरजग्गा रोक्काका लागि सरकारसँग पनि आवश्यक पहल गर्ने उहाँले बताउनुभयो । सांसद चौधरीले पार्टीको तर्फबाट पनि सहयोगका लागि आग्रह गरिएको र केही सहयोग आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सभापति चौधरीले बैंकबाट लिएको ऋणको साँवा, व्याजसहित १० लाख ९४ हजार ४७ रुपिया तिर्न बाँकी रहेको बैंकले जानकारी गराएको छ । व्यवस्थापिका संसदमा विभिन्न दलबाट ४२ जना थारु सांसदको प्रतिनिधित्व छ । सहयोगका लागि सबैसँग सहकार्य भइरहेको सांसदहरुले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया