काठमाडौं, वैशाख २६ गते । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा फोरम लोकतान्त्रिकबाट मंगलबार तीन राज्यमन्त्री थपिएका छन् । थपिएका राज्यमन्त्रीमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदाकुमारी लामा राज्यमन्त्रीको रुपमा सरकारमा थपिएका हुन् ।
जनक चौधरीलाई स्थानीय विकास, सुमित्रालाई पर्यटन र यशोदालाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । तीनैजना राज्यमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।
सोमबार विजयकुमार गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्षसमेत रहेका गच्छदारले उपप्रधान तथा स्थानीय विकास, जितेन्द्र देवले पर्यटन र गोपाल दहिले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।