
दीपक उपाध्याय
धनगढी, जेठ ८ गते । धनगढी उपमहानगरपालिका ७ क्याम्पसरोड स्थित छात्राबास टोलमा गएराति एक दम्पतिको घरमै सुतेको अवस्थामा हत्या भएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर दम्पत्तिको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा कोठामा बाहिरबाट ताला लगाएको भेटिएको थियो ।
प्रहरीले ताला तोडेर भित्र हेर्दा विभित्स अवस्थामा दम्पत्ति बद्रीप्रसाद जोशी (७२) र उनको श्रीमती कुन्तादेवि जोशी (६५) को शव फेला परेको थियो ।
उनीहरुको अनुहारमा धारिलो हतियारले छियाछिया हुनेगरी प्रहार गरेको र कोठामा ताला लगाएर राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अर्जुन चन्दले बताउनुभयो ।
हत्याको आशंकामा जोशीको घरमा कोठा भाडामा लिएर बसेका ७ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । अन्य २ जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
उनले हत्याको आशंकामा जोशीको घरमा कोठा भाडामा लिएर बसेका ७ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । अन्य २ जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
शिक्षण पेशाबाट अवकास प्राप्त जोशी जजमानी पेशा गर्दै आएका थिए । जोशी दम्पत्तिको कसले के कारणले हत्या गरेको हो भन्ने विषयमा छानविन गरी दोषिलाई कार्वाही गर्न स्थानीयले माग गरेका छन् ।
सोही घरमा कोठा भाडामा लिएर भुईतलामा बस्दै आएका भागीराम चौधरीका अनुसार आइतबार राती ८ बजेतिर २०, २२ जनाको संख्यामा मानिसहरु आएर खसी काटेर भोज खाएको र अबेर रातिसम्म नाचगान गरेका थिए ।
मृतक दम्पत्तिका ३ छोरी र १ छोरा छन् । छोरा हाल वैदेशिक रोजगारीको सिलसिलामा स्पेन र एउटा छोरी अष्ट्रेलिया र अर्को छोरी अमेरिकामा छिन । जेठी छोरी धनगढीमै रहेकी छन् ।




