
दुर्गाप्रसाद जोशी
मेयर (प्रमुख) पदका उम्मेदवार
नेकपा (एमाले)
धनगढी उपमहानगरपालिका, कैलाली
लामो समय शैक्षिक र राजनीतिक क्षेत्रमा अनुभव संगाल्नु भएका नेकपा (एमाले) बाट धनगढी उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार दुर्गाप्रसाद जोशी सुपरिचित नाम हो । बौद्धिक व्यक्तित्वकोरुपमा परिचित जोशीले यहाँको समस्यालाई नजिकबाट बुझ्नुभएको छ । आफू निर्वाचित भएमा पाँचवर्षे कार्यकालमा उत्कृष्ट काम गरेर देखाउने क्षमता र प्रतिवद्धता उहाँको छ । प्रस्तुत छ पत्रकार लक्की चौधरी ले मेयर पदका उम्मेदवार जोशीसँग गर्नुभएको निर्वाचनसँग सम्बन्धित कुराकानीको सारसंक्षेप–
उपमहानगरपालिकाको १९ वटै वडामा घरदैलो गरिरहनु भएको छ, मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो ?
हजुर १९ वटै वडामा पुगिसकेको छुँ । चुनावप्रति मतदाताको उत्साह पाएको छुँ । ठाउँअनुसारको जनताको समस्या र चाहना देखिएको छ । आफूले गरेको प्रतिवद्धताअनुसार काम गर्ने विश्वास दिलाउँदै आएको छुँ । निर्वाचित भएमा त्यहीअनुसारको काम गर्ने मेरो गहिरो प्रतिवद्धता छ । मतदाताले पनि राजनीतिक कोर्स अव बदलियोस् भन्ने चाहेको पाएँ । परिपक्व र बौद्धिक नेतृत्व आवस् भन्ने चाहना देखें । त्यसका लागि म उपयुक्त छुँ लाग्यो, मतदाताको चाहनाअनुसार नै काम गर्ने मेरो पनि चाहना छ ।
तपाईको चुनावी एजेण्डा प्रमुख के के छन् ?
मेरो भन्दा पनि पार्टीको एजेण्डा प्रमुख हो । हाम्रो दल नेकपा (एमाले) ले लिएको राष्ट्रिय उपयुक्त छ । देशको विकास र समृद्धिको पक्षको एजेण्डा ठीक छ । त्यसको सही कार्यान्वयन र यहाँको स्थानीय समस्या समाधानका लागि मेरो व्यक्तिगत र पार्टीको एजेण्डा बनेको छ । त्यहीअनुसार काम गर्ने मेरो पूर्ण प्रतिवद्धता रहन्छ । राजनीति भनेको जनताको सेवा गर्ने निकाय हो । जनता मालिक र हामी सेवक हौं । राजनीतिलाई कमाई खाने भाँडो बनाइनु हुँदैन भन्ने मेरो बुझाई छ । यहाँका नागरिकको सेवक भएर काम गर्न म जहिले तयार हुनेछु ।
यहाँको समस्या भनेको शिक्षा, स्वास्थ्य, रोजगार, कृषिको आधुनिकीकरण, बाटोघाटोको सुविधा, खेलकुद मैदान, दक्ष जनशक्तिको निर्माण, यहाँको पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन, कृषकका लागि उपयुक्त सिंचाई र खानेपानीको व्यवस्था, उत्पादित वस्तुको बजारभाउ, शित भण्डार निर्माण, बेरोजगारीको अन्त्य लगायतको विषय प्रमुख हुन जस्तो लाग्छ । यी विषयको सम्बोधनका लागि म सँग र मेरो पार्टीसँग स्पष्ट योजना छ । निर्वाचित भएमा ती विषयको सम्बोधनमा मेरो नेतृत्वदायी भूमिका रहने छ ।
माथिका यी विषयको सम्बोधनको आधार के हो ?
जनताले विकास र समृद्धि चाहेका छन् । त्यसको आधार भनेको बौद्धिक र दक्ष जनशक्तिको निर्माण हो । यहाँको जनतामा बौद्धिक क्रान्ति ल्याएर यी समस्या र चुनौतिको समाधान सहजै गर्न सकिन्छ भन्ने मेरो आफ्नो बुझाई छ । जबसम्म जनता राजनीतिकरुपमा जागरुक हुन सक्दैनन्, तवसम्म विकास सम्भव छैन । जनतामा सचेतना नभएसम्म पाएको बजेट समेत खर्च गर्न सक्दैनन् । दिगो विकासका लागि पनि जनचेतना र बौद्धिकताको खाँचो छ । म आफै पनि शैक्षिक क्षेत्रमा लामो समयदेखि काम गरिरहेकाले विकासमा जनताको व्यापक जनसहभागिता मार्फत नै विकास सम्भव हुन्छ भन्ने मलाई लाग्छ ।
पारदर्शीता र कामको दुरुस्तताका लागि नियमित जनतासँग नजिक भएर काम गर्नेछौं । हरेक कामलाई पारदर्शी बनाउने छौं । सम्पर्कका लागि हटलाईन र महिनै पिच्छे जनताको माझमा प्रमुख र उपप्रमुखको उपस्थिति गराउने कार्यतालिका निर्माण गरेर अघि बढ्छौं । हरेक कामको पारदर्शीताका लागि नागरिकको सुनुवाई कार्यक्रम आयोजना गर्ने योजना छ । त्यसो गरेमा हरेक कामसँग नागरिक अपडेट हुन्छन् र पारदर्शीता कायम हुनेछ ।
मतदाताले तपाई र नेकपा (एमाले) को उम्मेदवारलाई किन रोज्ने ?
हाम्रो सिद्धान्त र उद्देश्य जनतालाई मालिक बनाउने हो । जनताको सेवा नै राजनीतिक मुख्य ध्येय हो, हुनुपर्छ । त्यसकालागि हामी जहिले पनि जनताको सेवक बन्न तयार छौं । एमाले नेतृत्वको सरकारले गरेका कामहरुबाट जनता राम्रोसँग जानकार हुनुहुन्छ । जनमुखी कार्यक्रम नै हाम्रो लक्ष्य हो । त्यसैले यहाँका मतदाताहरुले एमालेकै उम्मेदवारलाई रोज्नुहुन्छ भन्ने पूर्ण विश्वास छ ।
नागरिकलाई सचेत बनाउन कस्तो कार्यक्रम ल्याउने योजना बनाउनुभएको छ ?
शहरी विकास सेवा परियोजना कार्यक्रम बनाउने छौं । यसमार्फत यहाँको बौद्धिक क्षेत्र निर्माण गर्नेछौं । यहाँका नागरिकलाई अन्य विकसित मूलुकमा तालिम र प्रशिक्षणका लागि पठाउने छौं । आदानप्रदान भेटघाटका लागि वातावरण मिलाउने छौं । विदेशमा सिकेका सिपलाई हाम्रो यहाँ कार्यान्वयन गर्ने योजना बनाउने छौं । विदेशमा बसेका धनगढीबासी नागरिकको पहिचान गरी विदेशमा सिकेका सिपलाई यो ठाउँमा लगानी गर्ने वातावरण निर्माण गर्नेछौं । विकासको स्पष्ट मोडल बनाएर त्यसको सही कार्यान्वयन गर्ने हाम्रो नविन सोच र चिन्तन छ । राजनीति अब विकासमुखी र जनमुखी हुनुपर्छ । हिजोको परम्परागत राजनीतिले अब मुलुक चल्दैन । यसलाई समयानुकुल परिमार्जन गर्दै जनताको सेवा र सुविधामै हाम्रो ध्यान केन्द्रीत रहने छ । वैज्ञानिकीकरणको आधारमा कर तिर्ने वातावरणको निर्माण गर्नेछौं । सामान्य व्यक्तिलाई राज्यको करको बोझ बोकाउने सोचमा हामी छैनौं ।
भ्रष्टाचार अन्त्य गर्ने प्रतिवद्धता यहाँले जनाउँदै आउनुभएको छ कसरी सम्भव होला ?
विकासको सबैभन्दा ठूलो बाधक नै भ्रष्टाचार हो । यसको अन्त्यका लागि मेरो पूरै जोडबल रहने छ । भ्रष्टाचारको संरक्षण कहीं न कहीं सरकार र राजनीतिक दलले संरक्षण गरेको गुनासो नागरिकको छ, त्यो कुरा मलाई राम्रोसँग थाहा छ । म निर्वाचित भएमा भ्रष्टाचार अन्त्यका लागि जस्तोसुकै पहल र प्रयास गर्न बाँकी राख्ने छैन । शतप्रतिशत त केही काम सम्भव हुँदैन तर ९९ प्रतिशत भ्रष्टाचार न्यूनिकरणमा मेरो पहल रहने छ ।
मेरो आफ्नो पेशा व्यवसाय छ, म त्यहाँ जनताको सेवाका लागि गएको हुँ, कमाउन गएको हैन भन्ने ध्यान दिई भ्रष्टाचार अन्त्यकालागि मेरो नेतृत्वदायी भूमिका रहने छ । म यो प्रतिवद्धता पुनः गर्न चाहन्छु ।
यहाँको पर्यटकीय विकास गर्न तपाईसँग के के छ योजना ?
जलस्रोत र पर्यटन क्षेत्रको यथोचित विकासले नै मुलुक समृद्ध बन्ने हो । नेतृत्वकर्ता सक्षम र नेतृत्वदायी भूमिका निर्वाह गर्नसके मात्र यो सम्भव छ । म आफूलाई त्यसकालागि सक्षम व्यक्ति ठान्छु । पर्यटन व्यवसायलाई फष्टाउन पनि दक्ष जनशक्तिको खाँचो छ । पर्यटकको सेवा र सुविधाले नै पर्यटन व्यवसाय फष्टाउने हो । प्रत्येक वडामा प्राविधक शिक्षालयको स्थापना गरेर दक्ष जनशक्ति उत्पादन गर्ने मेरो स्पष्ट योजना छ । पर्यटन क्षेत्रमा काम गर्ने जनशक्ति र प्राविधिक क्षेत्रमा काम गर्ने यी दुवै जनशक्ति तयार गर्न आवश्यक छ । थारु गाउँमा होमष्टे, सांस्कृतिक संग्रहालय बनाउने सोच छ । यहाँका सांस्कृतिक पक्षलाई सबलीकरण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिन्छ ।
शहरमा तारे होटल खोल्ने, विमानस्थलको स्तरोन्नति गरेर अगाडि बढाउन सके पर्यटकको स्वागतमा मद्दत पुग्नेछ । एमालेको पर्यटन क्षेत्रको विकासमा स्पष्ट योजना र नीति रहेको छ । त्यहीअनुसार काम गर्ने हाम्रो पहलकदमी रहनेछ । यहाँका लागि धनगढीदेखि खप्तडसम्म पुग्ने हेलीकप्टरको व्यवस्था गर्न सकिन्छ । यहाँकै स्थानीय स्रोत साधनमा त्यो सम्भव छ । सुदूरपश्चिमको पर्यटकीय विकासका लागि त्यो आवश्यक छ । यहाँको धार्मिक पर्यटकीय क्षेत्र बेहडाबाबा, जोखरताल, शिवपुरी धामको समुचित विकास गरेर पर्यटकीय विकासमा जोड दिन सकिन्छ ।
यहाँका कृषकको सुविधा र आयस्रोतका लागि कस्तो योजना बनाउनुभएको छ ?
कृषिको विकासका लागि पहिलो आवश्यकता शित भण्डार हो । आधुनिक प्रविधिमार्फत कृषिलाई अगाडि बढाउन कृषकलाई आवश्यक तालिम, प्रशिक्षण गराउने योजना छ । हाम्रो छिमेकी मुलुक भारत पनि कृषिमा सबल राष्ट्र हो । त्यहाँको सीपका लागि हाम्रो यहाँका कृषकलाई अध्ययन भ्रमण, सीपका लागि तालिमको उचित प्रबन्ध मिलाउने मेरो योजना छ । किसानले उत्पादन गरेका वस्तुलाई बजारसम्म पु¥याउने र उचित बजारभाउ तय गर्नुपर्छ । कृषकले कृषिमा बढी लगानी गर्ने तर उत्पादित सामान कमसल भाउमा विक्री गर्ने बाध्यता देखिएको छ । यसको अन्त्य गरी कृषकलाई लाभहुनेगरी बजारभाउ तोक्ने र उत्पादनलाई बढीभन्दा वढी बढाउनेतर्फ मेरो ध्यान केन्द्रीत रहने छ । बाटो अभाव, पुलपुलेसाको अभावमा बजारसम्म उत्पादित वस्तुभाउ सजिलै लग्नेखालको सडक बाटोको प्रबन्ध मिलाइने छ ।
युवाको रोजगारी र आत्मनिर्भरताको यहाँसँग योजना के छ ?
राज्यको आर्थिक मेरुदण्ड भनेकै यहाँका युवाशक्ति हुन् । युवाहरुलाई रोजगारी दिन नसकेर हाम्रा युवाहरु भारतका गल्ली र अरव देशमा जान बाध्य छन् । यो अत्यन्त दुःखद पक्ष हो । त्यसको अन्त्यका लागि मेरो पहल रहने छ । स्वदेशी र विदेशी लगानीलाई यहाँ आकर्षित गरेर उद्योग कलकारखाना खोल्ने, युवाको सीप र दक्षताको उचित प्रबन्ध मिलाउने हाम्रो पार्टीको योजना छ । अब हामी यहाँका युवालाई विदेशमा होइन, बाहिरका प्रतिभाशाली युवालाई हाम्रो नगरमा ल्याएर काम गर्ने वातावरण बनाउने छौं । यहाँको समुचित विकासले अब धनगढी उपमहानगरपालिकाका युवा काम खोज्न बाहिर जानुपर्दैन, बाहिरका युवाहरु काम गर्न धनगढी आउनेगरी विकास गर्ने मेरो योजना छ । गरिबी विकासको प्रधान शत्रु हो । यसको अन्त्यको पहल हामी गर्नेछौं ।
तपाई निर्वाचित हुनुभयो भने कुन कामलाई कसरी प्राथमिकता दिनुहुन्छ ?
पहिलोकाम बौद्धिक क्रान्ति गर्छौं । दोस्रो दक्ष युवा जनशक्ति तयार गर्छौ । तेस्रो प्रत्येक वार्डमा नियमित मनिटरिङ प्रणालीको विकास गर्छौं, चौथोमा लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्छौं । यसको अतिरिक्त बाटोघाटो निर्माण, शिक्षा, स्वास्थ्य र रोजगार, तटबन्ध निर्माण आदि काम पनि जारी नै राख्ने छौं ।
अन्त्यमा केही भन्न बाँकी छ भने ?
जनतामा राजनीति प्रति निराशा अवश्य छ । यो बुझेका छौं । तर हाम्रो उपस्थिति जनतालाई निराश हैन खुशी बनाउनेगरी हुनेछ । आर्थिक विकास गरी जनतालाई मूल प्रवाहीकरणमा ल्याउने हाम्रो ध्याउन्न हुनेछ । हामी भ्रष्टाचार हैन, शिष्टाचार निर्माण गर्न नेतृत्वमा जाने तयारी गरेका हौं । जनतासँग गरेको प्रतिवद्धताको अक्षरशः पालना गर्ने छौं । पारदर्शीतालाई अंगीकार गर्दै काम गर्ने योजना हाम्रो रहेकाले मलाई र एमालेका उम्मेदवारलाई यहाँहरु सबैले माया गरी मतदान गरिदिनहुन हार्दिक अनुरोध गर्दछुँ ।




