भरतपुरको वडा नं. १९ मा पुनः निर्वाचन गर्ने आयोगको निर्णय


काठमाडौं, जेठ २० गते । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ। आयोगको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो। निर्वाचनको मिति तोक्ने अधिकार भने मुख्य निर्वाचन अधिकृतलाई दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो।

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादीहरुले मतपत्र च्यातेपछि त्यहाँ मतगणना रोकिएको थियो। जेठ १४ गते आइतबार मध्यरात १९ नम्बर वडाको मतगणना गर्दैगर्दा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए। त्यतिबेला कुल २९ वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिसकेको थियो।

माओवादीहरुले १९ वडाका २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातेका हुन्। त्यो वडापछि २० नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो। यी दुई वडाको मत गन्न थाल्नुअघि नेकपा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली र माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहालबीच जम्मा ७८४ मतको अन्तर थियो। १९ नम्बर वडाको १८०० मत गनिसक्दा त्यो अन्तर घटेर ७३३ मा झरेको थियो।

घटनापछि माओवादी केन्द्र र नेपाली कांग्रेसले मतपत्र च्यातिएको वडा नम्बर १९ मा पुनः मतदान हुनुपर्ने माग गरेका थिए भने एमालेले माओवादीले नियतवश मतपत्र च्यातेको भन्दै पुनःमतदान स्वीकार्य नहुने बताउँदै आएको थियो।

आइतबार राति १२ बजेसम्ममा उक्त वडाको थप ४०० मत गनिइसकेको थियो, परिणाम भने सार्वजनिक भएको थिएन। मतगणना स्थगित भएपछि निर्वाचन आयोगले सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरी भरतपुर पठाएको थियो।

सोही टोलीले अध्ययन गरी त्यहाँ ९० वटा मतपत्र च्यातिएको यकिन गरी आइतबार प्रतिवेदन बुझाएको थियो। यो घटनापछि माओवादी केन्द्र र नेपाली कांग्रेसले मतपत्र च्यातिएको वडा नम्बर १९ मा पुनः मतदान हुनुपर्ने माग गरेका थिए भने एमालेले माओवादीले नियतवश मतपत्र च्यातेको भन्दै पुनःमतदान स्वीकार्य नहुने बताउँदै आएको थियो।

निर्वाचन आयोगको शनिबारको बैठकले गरेको निर्णयअनुसार अब पूरै १९ नम्बर वडामा मतदान गराउनुपर्नेछ। कानुनअनुसार सम्बन्धित केन्द्रको मत्र गराउनुपर्ने भए पनि १९ नम्बर वडाका सबै मतदान केन्द्रका मतपत्र एकैठाउँ मिसाएर मतगणना भइरहेकाले पूरै वडामा मतदान गर्नुपरेको हो। यहाँ तीन मतदान केन्द्र र ३७९७ मतदाता छन्।

तपाईको प्रतिक्रिया