काठाडौं, जेठ २१ गते । सञ्चारमाध्यममा थारु पत्रकारको आशालाग्दो सहभागिता नभएको भन्दै अगुवा पत्रकारले त्यसमा जोड दिनुपर्ने तर्क गरेका छन् । पत्रकारिताको सहभागितासँगै गुणत्मकतामा जोड दिनुपर्ने पनि सुझाव उहाँहरुको छ ।
थारु पत्रकार संघ नेपालको आयोजनामा आइतबार यहाँ आयोजित विद्युतीय सञ्चारमाध्यममा थारु पत्रकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले त्यस्तो बताएका हुन् । अहिलेको युग सञ्चार प्रविधिको युग भएकाले पाठक, स्रोता र दर्शकको चेतनास्तरमा बृद्धि भएकाले पत्रकारको दक्षता पनि सोहीअनुसार बढाउन आवश्यक रहेको अगुवाहरुको भनाई छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष लक्की चौधरीले संख्यात्मक बृद्धिसँगै थारु पत्रकारको दक्षताको पनि आवश्यक रहेको बताउनुभयो । महासंघको साधारण सदस्य रहेका १७४ जना थारु पत्रकारलाई अझै संघले समेटन नसकेको उहाँले बताउनुभयो ।
थारु पत्रकारको दक्षता बृद्धिका लागि पत्रकार स्वयम् आफूलाई समयानुकुल अपडेट गर्न आवश्यक रहेको बताउँदै उहाँले संघलाई अझ फराकिलो दायरामा आउन आग्रह गर्नुभयो । देशभरका थारु पत्रकारलाई समेट्नगरी संघको गठन भएकाले सोहीअनुरुप नेतृत्वमा रहेकाले भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो ।
महासंघको साधारण सदस्य रहेका १७४ जना थारु पत्रकारलाई अझै संघले समेटन नसकेको उहाँले बताउनुभयो ।
संघका अध्यक्ष कृष्णराज सर्वहारीले संघको उद्देश्यअनुरुप अझै काम गर्न नसकिएको स्वीकार्नुभयो । संघमा आवद्ध भएका र नभएकाहरुले आफ्नो ठाउँबाट थारुका लागि भूमिका खेल्न आवश्यक रहेको उहाँले बताउनुभयो । देशभर रहेका थारुको आधिकारिक लगत अझै संघले लिन नसकेको बताउँदै उहाँले जिल्लामा कार्यरत पत्रकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा उहाँले विद्युतीय सञ्चारमाध्यममा थारु पत्रकारको अवस्था र कार्यक्रम विषयमा कार्यपत्र प्रस्तुत गर्नुभई थारु कार्यक्रमलाई अझै गुणस्तरीय बनाउन आवश्यक रहेको बताउनुभयो ।
पत्रकार प्रतीक तामाङले कार्यपत्रमाथि टिप्पणी गर्दै आदिबासी जनजाति पत्रकारको अवस्था समान रहेको बताउनुभयो । थारु पत्रकारले आदिबासी जनजातिको सवाल र मुद्दामा अझै मेहनत गर्नुपर्ने भन्दै उहाँले भाषाको संरक्षणमा पनि पत्रकार लाग्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सुशील चौधरी, फूलमान चौधरी, कुलदीप चौधरी, प्रदीप लेखी, पार्वता चौधरी, किशोरकुमार चौधरी, सञ्जय चौधरी लगायतले आफ्ना धारणा राख्दै पत्रकारितामा चुनौति र अवसर दुवै रहेको बताउनुभएको थियो ।
कार्यक्रममा विभिन्न जिल्लाबाट पत्रकारहरुको सहभागिता थियो । २०६७ चैत १६ गते विधिवत स्थापना भएको संघमा अहिले करिब डेढसय पत्रकार संलग्न छन् । विभिन्न १४ जिल्लामा संघको शाखा कार्य समिति गठन भइसकेको छ । अहिलेसम्म संघको नेतृत्व जयप्रकाश चौधरी, विनिता चौधरी, लक्की चौधरीले गरिसक्नुभएको छ ।