कांग्रेस र माओवादी पार्टी विकृतिका अर्को रुप हुन्ः नेता नेपाल


लक्की चौधरी

कञ्चनपुर, असार १० गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले विकासप्रेमी पार्टी एमालेलाई मतदान गरी देशलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न कञ्चनपुरबासीसँग आग्रह गर्नुभएको छ ।

नेकपा (एमाले) प्रचार प्रसार कमिटी कञ्चनपुरको आयोजनामा शनिबार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले त्यस्तो बताउनुभयो । कांग्रेस र माओवादीले आफू हार्ने डरले चुनाव सारेको आरोप लगाउँदै उहाँले मतदानमार्फत् ठेकान लगाउन मतदाताहरुलाई अपिल गर्नुभयो ।

विकासका लागि एजेण्डा नभएका पार्टी कांग्रेस र माओवादीले भ्रष्टाचार गरी मतदातालाई पैसा वितरण गरिरहेको सुनिएकाले त्यस्तालाई ठाउँका ठाउँ छोपेर कालोमोसो दलेर गाउँ घुमाउन नागरिकलाई आव्हान गर्नुभयो । गिरिजाप्रसाद कोइराला पाँचपटक, शेरबहादुर देउवा चार पटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको दुई पटक प्रधानमन्त्री हुँदापनि विकासको सिन्को नभाँचेको आरोप नेता नेपालले लगाउनुभयो ।

देशको समृद्धि र विकासको योजना एमाले नेतृत्वको सरकारको पालामा बनेको र कार्यान्वयन भएको दावीगर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भन्नुभयो, “देशलाई सडक सञ्जालबाट जोड्न, काठमाडौ–निजगढ फाष्टट्रयाक निर्माण, पुष्पलाल मध्यपहाडी राजमार्ग, तराईको हुलाकी राजमार्ग तथा महेन्द्र राजमार्ग फराकिलो बनाउने काम एमालेको पालामा भएको हो ।”

ज्येष्ठनागरिकको भत्ताको शुरुवात गरी एमालेकै सरकारको पालामा भत्ता बृद्धि, एकलमहिला, सुत्केरी भत्ताको व्यवस्था गर्ने काम पनि एमालेकै सरकारले गरेको बताउँदै उहाँले एमालेलाई मतदान गरी विजयी बनाउन सर्वसाधारणमा आग्रह गर्नुभयो । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमाले प्रथम बनिसकेको, अव दोस्रोचरण, प्रदेश र संघको निर्वाचनमा पनि एमालेलाई बहुमत दिन  उहाँले आग्रह गर्नुभयो ।

“एमालेलाई तीनवटै चरणको निर्वाचनमा बहुमत दिनुस्, हामी पाँच वर्षे सरकार बनाएर नेपालमा विकासको मूल फटाउँछौं” भन्दै वरिष्ठ नेता नेपालले विदेशीको अगाडि लम्पसार हुने कांग्रेस र माओवादीलाई मतदान नगर्न आग्रह गर्नुभयो । एमालेमात्र जनताको शरणमा रहेको र जनताकै हकहितका निम्ति काम गरिरहेकाले सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।  कांग्रेस र माओवादी विकृति एवं विसंगतिका अर्को नाम हो टिप्पणी गर्दै पूर्व प्रधानमन्त्री नेपालले भन्नुभयो, “एमाले जित्नु भनेको देश जित्नु हो, राष्ट्र जित्नु हो, जनता जित्नु हो ।”

कांग्रेसले मुलुकमा भएका सबै उद्योग कलकाराखानालाई ध्वस्त पारी माटोको मोलमा विक्री गरेको उहाँले आरोप लगाउनुभयो । कांग्रेसकाकारण मुलुकका युवाहरु रोजगार नपाएको उहाँले टिप्पणी गर्नुभयो ।  कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको चारपटक प्रधानमन्त्री बन्दासमेत सुदूरपश्चिमको विकासकालागि सिन्को नभाँचेको भन्दै उहाँले सुदूरपश्चिमको विकासकालागि एमालेकै सरकारले काम गरेको दावी गर्नुभयो ।

“शेरबहादुरले पञ्चेश्वर, पश्चिमसेती निर्माण गर्न सक्दैनन, यहाँको सडक सञ्जाल निर्माण गर्न सक्दैनन्, भने हात उठाउँदा हुन्छ”, एमालेले त्यो काम गरेर देखाउँछ नेता नेपालले भन्नुभयो ।  पूर्व उद्योगमन्त्री तथा युवा संघका पूर्व केन्द्रीय अध्यक्ष महेश बस्नेतले मतदान कन्यादान भन्दा पनि महत्वपूर्ण विषय भएकाले कामको तुलना गरेर एमालेलाई मतदान गर्न आग्रह गर्नुभयो । “कांग्रेस र एमाले सरकारका पालामा भएको कामको तुलना गर्नुस्, जुन पार्टीको नेतृत्वको सरकारले राम्रो काम गरेको छ, त्यसैलाई मतदान गर्नुस्” बस्नेतले भन्नुभयो ।

भिमदत्तनगर नगरपालिकाका एमालेबाट प्रमुख पदका उम्मेदवार सुरेन्द्र विष्टले यहाँको विकास र समृद्धिकालागि आफू र आफ्नो पार्टीसँग स्पष्ट योजना र दूरदर्शीता भएकाले मतदान गरेर सहयोग गर्न आग्रह गर्नुभयो । आफू निर्वाचित भएमा भिमदत्तनगरलाई नमूना नगर बनाई जनताको आर्थिकस्तरलाई माथि उकास्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कांग्रेस र माओवादी विकृति एवं विसंगतिका अर्को नाम हो टिप्पणी गर्दै पूर्व प्रधानमन्त्री नेपालले भन्नुभयो, “एमाले जित्नु भनेको देश जित्नु हो, राष्ट्र जित्नु हो, जनता जित्नु हो ।”

उपप्रमुख पदका उम्मेदवार माया पन्तले सामाजिक भत्ता बृद्धिगरी ज्येष्ठ नागरिक, एकल महिला, सुत्केरी महिलाको सेवा सुविधा र भत्ताको व्यवस्था गर्नेकाम एमाले सरकारले गरेकाले आफूलाई मतदान गरी कामगर्ने अवसर प्रदान गर्न आग्रह गर्नुभयो । आफू निर्वाचित भएमा यहाँ सडक निर्माण, विजुलीबत्ति, सिंचाई, कृषि सामग्री, सीपमूलक तालिम प्रदान गरेर आयआर्जनको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो ।  एमाले कञ्चनपुरका अध्यक्ष तारा लामाको सभापतित्वमा भएको कार्यक्रममा एमालेका नेता उर्वादत्त पन्त, रामकुमार ज्ञवली, भोजराज जोशी, ईश्वरीप्रसाद खरेल, निरुपालसहित कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

त्यसैगरी शनिबार नै कञ्चनपुरको दैजी र बेल्डाँडीमा आयोजित चुनावी सभालाई पनि पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्नुभयो । सो सभामा दैजी नगरपालिकाका एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार अशोककुमार चन्द र उपप्रमुख पदका उम्मेदवार सुशिला सिंहले आफू निर्वाचित भएमा दैजी नगरपालिकालाई आर्थिक एवं सामाजिकरुपले सम्मुन्नत बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया