कांग्रेस राजनीतिक आवरणमा व्यापार गर्ने पार्टी होः महासचिव पोखरेल


लक्की चौधरी

धनगढी, असार ११ गते । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले आइतबार एमालेको चुनावी सभालाई सम्बोधन गर्दै पहिलो चरणको निर्वाचनबाटै एमालेमा जनलहर भएकाले दोस्रो चरणको निर्वाचनमा पनि एमालेलाई नै मतदान गर्न सर्वसाधारणमा आव्हान गर्नुभयो । दोस्रो चरणमा पनि एमाले पहिलो शक्ति बन्ने उहाँले दावी गर्नुभयो ।

नेपाली कांग्रेस व्यापार गर्ने पार्टी भएकाले जनताको पक्षमा काम नगर्ने बताउँदै महासचिव पोखरेलले जनताको दल एमालेलाई नै मतदान गर्न आग्रह गर्नुभयो । देशका सबै उद्योग कलकारखाना कांग्रेसले कौडीको दरमा बेचेर नागरिकलाई बेरोजगार बनायो भन्दै पोखरेलले भन्नुभयो, “जनकपुर चुरोट कारखाना, भृकुटी कागज उद्योग, विराटनगर जुटमिल कारखाना, चिनी उद्योग सबै कांग्रेसले बेच्यो ।”

स्थानीय तह निर्वाचनबाट सिंहदरवारको अधिकार गाउँगाउँ पुग्ने बताउँदै महासचिव पोखरेलले भन्नुभयो, अब आफूलाई चाहिने सबै ऐन नियम स्थानीय तहले आफै निर्माण गर्नसक्छ, सिंहदरवारको मुख ताक्नु पर्दैन । ज्येष्ठनागरिक, एकल महिला, सुत्केरी महिलाका लागि उचित भत्ताको व्यवस्था आफूहरुले गरेको पोखरेलले चर्चा गर्नुभयो ।

चुनावीसभामा एमालेका केन्द्रीय सदस्य झपट रावल, महेश्वर पाठक, वैकल्पिक केन्द्रीय सदस्य नारदमुनी राना, नेताहरु हनुमान चौधरी, दीर्घ सोडारी, दिपक देवकोटा, गणेश विके, राजेश भण्डारी, ऋषि विनाडी, धनगढी उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार दुर्गाप्रसाद जोशी, उपप्रमुखका उम्मेदवार रुक्मणी देवकोटा लगायतले एमालेलाई मतदान गरी देशको समृद्धिको अभियानमा सहभागी हुन मतदाताहरुलाई आव्हान गर्नुभयो ।

तपाईको प्रतिक्रिया