
लक्की चौधरी, गोकर्ण दयाल
धनगढी, असार १२ गते । सीमा नाकाको सुरक्षा संवेदनशीलतालाई ख्यालगर्दै भारतसँग जोडिएको कैलाली, कञ्चनपुर, वैतडी र दार्चुला जिल्लाको सीमानाका सोमबारदेखि विहिबार विहानसम्म बन्द हुनेभएका छन् ।
नेपाल र भारतको सीमा समन्वय समितिको भारतको लखिमपुरखिरी र दार्चुलामा बसेको छुट्टाछुट्टै संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो । कैलाली र कञ्चनपुर नाकाकालागि भारतीय सीमाबजार पलियामा बैठक बसेको थियो भने अर्को बैठक नेपाली सीमाबजार दार्चुलाको खलङ्गामा बसेको थियो ।
बैठकले चुनाव अवधिभर कुनै अप्रिय घट्ना नघटोस् भन्ने उद्देश्यकासाथ दुवै देशका सीमासुरक्षा प्रमुखबीच समन्वय र सहमति भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । रिजालकाअनुसार असार १२ गते बिहान ५ बजेदेखि १५ गते विहान ५ बजेसम्मका लागि सीमानाका पूर्णतः बन्द हुनेछन् ।
त्यस्तै, कैलाली र कञ्चनपुरमा असार ११ देखि २० गतेसम्म मदिरा र मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । सो अवधिमा कसैबाट त्यस्तो गरेको पाइएमा कानूनअनुसार कारवाही हुने उहाँले बताउनुभयो ।
खुलासीमाका कारण विभिन्न घटना हुनसक्ने भन्दै दुवै देशका सुरक्षा निकायहरुबीच निर्वाचन अवधीभर सीमाको सुरक्षा व्यवस्थामा कडाई गरिने सहमति बनेको छ, रिजालले जानकारी दिनुभयो । उहाँकाअनुसार यी दुई जिल्लामा सुरक्षाको थ्रेट छैन, शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न हुनेछ । सुरक्षा व्यवस्था चुस्त बनाउन आवश्यक व्यवस्थापन गरिएको रिजालले बताउनुभयो ।
संयुक्त सीमा बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत तीनै सुरक्षा निकायका प्रमुखहरु, कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल र तीनै निकायका प्रमुखहरुको सहभागिता थियो ।
तर भारतबाट नेपाल भोट हाल्नका लागि फर्किनेलाई र औषधि उपचारका लागि भारत जानेलाई सीमा नाकामा आवतजावतमा छुट दिइएको छ ।
त्यस्तै, भारत लखिमपुर जिल्लाका डिष्ट्रिक मजिष्ट्रेड आकाश दीप, लखिमपुरखिरी एसएसबीका कमाण्डेट, प्रहरी प्रमुखलगायत सुरक्षा अधिकारीहरुको सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।
सोहीअनुसार भारतसँग सीमा जोडिएका पहाडी जिल्ला वैतडी र दार्चुलाको सुरक्षा संवेदनशीलतालाई ख्यालगर्दै सीमानाका विहिबार विहानसम्म बन्द रहने अधिकारीहरुले बताउनुभएको छ । स्थानीयतहको निर्वाचनलाई लक्षित गरी भारतीय सिमानाका बैतडीको झुलाघाट र दार्चुला नाका ७२ घण्टाका लागि बन्दहुने जिल्ला सुरक्षा समिति बैतडीले बताएको छ ।
असार १२ गते बिहान ०७ः बजेदेखि १५ गते बिहान ७ बजेसम्म सिमानाका बन्दहुने बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो । बैतडी, दाुर्चला र भारतको पिथौरागढ जिल्ला प्रमुखको दार्चुलामा बसेको सयुंक्त सुरक्षा बैठकले ७२ घण्टा सिमानाका बन्द गर्ने निर्णय गरेको हो, पौडेलले भन्नुभयो ।
भौगोलिकरुपमा कठिन रहेको वैतडी जिल्लाका सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पुरचौडी नगरपालिकालाई संवेदनशील भन्दै जिल्ला सुरक्षा समितिले नेपाल प्रहरीसंगै सशस्त्र प्रहरी र नेपाली सेनालाई सुरक्षाको जिम्मेवारी दिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । निर्वाचन सुरक्षाका लागि प्रदेश नं. ७ मा नेपाली सेनाको हेलिकोप्टर तैनाथी अवस्थामा राखिएको उहाँको भनाई छ ।
तर भारतबाट नेपाल भोट हाल्नका लागि फर्किनेलाई र औषधि उपचारका लागि भारत जानेलाई सीमा नाकामा आवतजावतमा छुट दिइएको छ ।




