मौन अवधिमा आचारसंहिता कार्यान्वयन भएन, उम्मेदवार घरदैलोमा


लक्की चौधरी

धनगढी, असार १३ गते । मतदान शुरुहुनु ४८ घण्टाअघि निर्वाचन आचारसंहिता बमोजिम मौन अवधि शुरुहुने भएपनि प्रमुख दलका उम्मेदवारहरु सो अवधिमा गोप्य चुनावी प्रचारमा लागेको पाइएको  छ । सो अवधिमा चुनाव प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।

  कैलालीको विभिन्न गाउँमा प्रमुख दलका उम्मेदवारहरु विहानदेखि साँझसम्म गोप्यरुपमा घरदैलो गरिरहेको पाइएको छ । अरुबेला बजार, चोक, चौतारामा प्रचारलाई तिव्र बनाएका उम्मेदवारहरु मौन अवधि शुरु हुनासाथ घरदैलोमा केन्द्रीत भएको पाइएको छ । सोमबारदेखि मौनअवधि शुरुभएको छ । बजार, चोक सबै सुनसान भएपनि गाउँघरमा चहलपहल शुरुभएको देखिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नं. १७ रामपुरका नारायण चौधरीकाअनुसार मौन अवधिमा प्रमुख दलसहित अन्य उम्मेदवार पनि गाउँमा केन्द्रीत भएका छन् । विहानदेखि गाउँमा आएर प्रमुख दलका उम्मेदवार घरदैलो गरेको र साँझ भोज खुवाएको बताउनुभयो । योक्रम चुनावअघिको रात १३ गतेसम्म चल्ने आश्वासन आफूहरुलाई उम्मेदवारले दिएको चौधरीले बताउनुभयो ।

गौरीगङ्गा नगरपालिका स्थित बढैपुरका मतदाता सगतराम थारुले मौन अवधिलाई ठूला दलहरुले नै गम्भिरतापूर्वक नलिएको देखिएको बताउनुभयो । उहाँले ठूला दलका कार्यकर्ताहरु चुनाव चिन्ह अङ्कित टी–सर्ट लगाएर गाउँघरमा मतदातालाई भेटिरहेको बताउनुभयो । ‘मौन अवधिको समय भनिए पनि आजै ठूला दलहरुका कार्यकर्ता आफ्ना, इष्टमित्र, आफन्तको घरमा गएर भोट माँगिरहेका छन्’ उहाँले भन्नुभयो ।

‘मौनअवधि भन्दै राजनीतिक दलहरुले गाउँघरमा गोप्यरुपमा आफ्नो चुनावी प्रचारमा लागेका छन् ।’धनगढी उपमहानगरपालिका वडा नं. ८ स्थित धनगढी गाउँका रामदिन रानाले पनि उम्मेदवारहरु गोप्यरुपमा घरदैलोमा केन्द्रीत भएको बताउनुभयो ।

मौन अवधिमा चुनावी प्रचारप्रसार आचारसंहिता विपरित भएपनि दलहरुले त्यसको पूर्ण पालना गरेको नदेखिएको कैलारी गाउँपालिकास्थित टेंढीका बुधराम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो–‘मौनअवधि भन्दै राजनीतिक दलहरुले गाउँघरमा गोप्यरुपमा आफ्नो चुनावी प्रचारमा लागेका छन् ।’धनगढी उपमहानगरपालिका वडा नं. ८ स्थित धनगढी गाउँका रामदिन रानाले पनि उम्मेदवारहरु गोप्यरुपमा घरदैलोमा केन्द्रीत भएको बताउनुभयो ।

मौनअवधि अघि गानाबजाना र माइकिङ्सहित घरदैलो गरेका उम्मेदवारहरु सोमबारदेखि एक्लाएक्लै घरदैलोमा लागेको उहाँको भनाई छ । आफूलाई मतदान गरेमा जागिर दिने, बैंकको ऋण तिरिदिने सम्मको आश्वासन आएको उहाँले गोरखापत्रलाई बताउनुभयो ।

यता स्थानीय तह निर्वाचन आचारसंहिता २०७४ को ५ नम्बर बुँदाको (घ) मा मौन अवधिमा निर्वाचन प्रचार प्रसार र मत माग्न नहुने, मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका निर्वाचन चिन्ह अंकित निर्वाचन सामग्री हटाउनुपर्ने, सामाजिक सञ्जालमार्फत निर्वाचन प्रचारप्रसार तथा मत माग्न नहुने, निर्वाचन चिन्ह अंकित पहिरन लगाउन नहुने व्यवस्था गरेको छ ।

तर सोअनुसार पार्टीका कार्यकर्ताले व्यवहार नदेखाएको स्थानीय मतदाता र प्रशासनको भनाई छ । हरेक दलका पार्टीको चुनाव चिन्ह अंकित झण्डा मतदान केन्द्र नजिकका पोलपोलमा टाँगिएकै छन् । त्यसलाई हटाउने पहल पनि कसैले गरेको देखिएन । यस विषयमा कैलालीका सहायक प्रमुख निर्वाचन अधिकृत नारायण ओझाले झण्डा र व्यानर हटाउने निर्देशन सबै दलका नेताहरुलाई दिएको भएपनि त्यसको कार्यान्वयन भएको नदेखिएको स्वीकार्नुभयो ।

त्यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सबै दलका नेतालाई सो निर्देशन गरिएको भएपनि कार्यान्वयनमा ल्याएको नदेखिएको गुनासो गर्नुभयो । “दलका नेताहरु आफू जिम्मेवार हुनुपर्ने ठाउँमा पनि जिम्मेवार बन्दैनन्, विधिको शासनलाई ख्याल नगर्नेले निर्वाचित भएपछि कसरी काम गर्लान् ?” उहाँले भन्नुभयो, “सबैलाई यस विषयमा जानकारी गराइसकिएको छ, बाहिर अनुगमन गर्दा कार्यान्वयनमा आएको मैले पनि देखिन ।”

धनगढी उपमहानगरपालिका वडा नं. १ को शारदा उच्च मा.वि.को मतदान केन्द्र, वडा नं. ६ को वासुदेवी उच्च मा.वि.को मतदान केन्द्र, वडा नं. ५ को पञ्चोदय उच्च मा.वि.को मतदान केन्द्र, वडा नं. ११ को ठेकराज मा.वि., वडा नं. १३ स्थित जनता उच्च मा.वि.का. मतदान केन्द्र लगायतका मतदान केन्द्र वरिपरि पार्टीका झण्डासहितको व्यानर पोल र घरमा झुण्डिएकै छन् ।

तपाईको प्रतिक्रिया