निर्वाचनमा मतदाताको उत्साह, सुदूरपश्चिममा निर्वाचन शान्तिपूर्ण


धनगढी, असार १४ गते । सुदूर पश्चिमको नौ जिल्लामा छिटपुट सामान्य घटना बाहेक स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान शान्तिपूर्णरुपमा भइरहेको छ । बिहान ७ बजेदेखि शुरुभएको मतदान प्रक्रिया साँझ ५ बजेपछिसम्म सुचारु रहने निर्वाचन आयोगले बताएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालकाअनुसार कैलालीसहित प्रदेश नं. ७ का सबै जिल्लामा शान्तिपूर्ण रुपमा उत्साहकासाथ मतदान भइरहेका छन् । ५ बजे साँझ मतदान लाइनमा प्रवेश गरेकाहरुलाई मतदान प्रक्रियामा सहभागी हुन दिने अर्यालले बताउनुभयो ।

पहाडी जिल्ला अछम र बझाङमा कांग्रेस र एमालेका कार्यकर्ताबीचको सामान्य झडपले अशान्तिपूर्ण भएको मतदान प्रक्रिया आपसी सहमतिमा शुरुभएको छ । विहान साढे १० बजेतिर कैलाली र कञ्चनपुरमा परेको सामान्य पानीका कारण करिब २० मिनेट जति मतदान प्रक्रिया प्रभावित भएको थियो ।

स्थानीय निर्वाचन झन्डै दुई दशकपछि हुन लागेकाले मतदाता मतदान गर्न निकै आतुर देखिएका थिए । निर्वाचनको समय बिहान ७ बजे भएपनि जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदाता बिहान ५ बजेदेखि नै लामबद्ध भएका देखिन्थे । दिउँसो गर्मी हुने भएकाले पनि अधिकांश मतदाता बिहानै मतदान केन्द्रमा पुगेका छन् ।

प्रत्येक मतदान केन्द्रमा कम्तीमा पाँचदेखि बढीमा छजना कर्मचारी खटिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख आर्यालले बताउनुभयो । कैलाली जिल्लाका स्थानीय तहमा २३१ वटा मतदानस्थल र ४९० मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

जिल्लामा धनगढी उपमहानगरपालिका, टीकापुरनगरपालिका, लम्कीचुहा नपा, भजनी नपा, गौरीगङ्गा नपा, गोदावरी नपा, घोडाघोडी नपा, कैलारी गाउँपालिका, बर्दगोरिया गापा, चुरे गापा, मोहन्याल गापा, जानकीनगर गापा, र जोशीपुर गापासमेत १३ स्थानीय तह रहेका छन् ।

उक्त सबै तहका ६८९ पदका लागि जम्मा तीन हजार ४४६ जना चुनावी प्रतिस्पर्धामा छन् । कैलालीमा कुल चारलाख तीनहजार २८० मतदाता रहेकामा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा ७६ हजार ४३० मतदाता रहेका छन् ।

निर्वाचन आयोगले कैलाली जिल्लाका स्थानीय तह निर्वाचनको प्रयोजनका लागि ४४ वटा चुनाव चिह्न समावेश गरिएको मतपत्रको व्यवस्था गरेको छ ।

निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा राखेर सुरक्षा व्यवस्था सुदृढ पारिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

प्रमुख दलका नेताहरु प्रधामन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरामा, एमाले उपाध्यक्ष भीम रावल अछाममा, कांग्रेस अर्का नेता दिलेन्द्रप्रसाद बडु दार्चुलामा, राप्रपाका महामन्त्री जयन्त चन्द वैतडीमा र माओवादी केन्द्रका नेता लेखराज भट्ट कैलालीको अत्तरियास्थित मतदान केन्द्रमा गएर मतदान गरेका छन् ।

तपाईको प्रतिक्रिया