सियारी गाउँपालिका अध्यक्षमा एमालेका अयोध्या थारु निर्वाचित


रुपन्देही, असार २१ गते । रुपन्देही जिल्लाको सियारी गाउँपालिका अध्यक्षमा एमालेका अयोध्या थारु निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिका अध्यक्षमा विजय हासिल गर्नुभयो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गर्नुभयो । यस्तै, उक्त गाउँपालिकाको उपप्रमुखमा एमालेकी अमृता गुरुङ विजयी हुनुभयो । उहाँले ६ हजार ५० मतसहित जित हासिल गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै रीता चौधरीले पाँच हजार १२९ मत प्राप्त गर्नुभयो ।

गाउँपालिकामा सातवटा वडा रहेको सियारीमा पाँचवटा वडामा नेकपा (एमाले) र एक–एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काँग्रेस विजयी भएका छन् ।

वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुणकुमार शाही, २ मा नेपाली काँग्रेसका रामकिसन थारू र ३ देखि ७ सम्म क्रमशः नेकपा (एमाले) का किसन अहिर, सिरिप्रसाद श्रेष्ठ, थम्मनबहादुर पौडेल, शेरबहादुर गुरङ र सरोज अधिकारी विजयी भएका छन् । यो गाउँपालिकामा १७ हजार २०८ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया