
उदयपुर, असार २४ गते । उदयपुरको सदरमुकाम गाइघाटस्थित त्रियुगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार बलदेव चौधरी झिनो मतको अन्तरले विजयी भए।
उनले नेपाली कांग्रेसका प्रतिस्पर्धी वसन्तकुमार बस्नेतलाई ७३ मतको झिनो मतको अन्तरले पराजित गरी बाजी मारेका हुन्। यस पटक कतैपनि एमालेका तर्फबाट त्रियुगा नगरपालिकाको प्रमुखको टिकटको लागि हल्लाखल्लासमेत नगरिकन सुटुक्कै उम्मेदवार बनेर आए। चौधरी उम्मेदवार बनेर आएपछि एमालेभित्र एक प्रकारको भाँडभैलेसमेत भयो। अन्तमा नगरप्रमुखमा चौधरीले ७३ मतको झिनो मत अन्तरले बिजयी भए। उनले प्रतिद्वन्दी नेपाली कांग्रेसका वसन्तकुमार बस्नेतलाई थोरै मत अन्तरले पराजित गरेका हुन्। चौधरीले ११ हजार ३ सय ६८ मत प्राप्त गरे भने बस्नेतले ११ हजार २ सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयको भनाइ छ। २०५४ सालको स्थानीय निर्वाचनमा पनि चौधरीले झिनो मतले मात्र हार व्यहोर्नु परेको थियो।
२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा पनि तत्कालीन नेकपा माओवादीसँग पराजित हुनुपरेको थियो। तर, २०७४ साल चौधरीको फलिफाप भएको छ। चौधरीका घोषणापत्रमा के के छन् ? नगरमा सडक सञ्जालको लागि गुरुयोजना निर्माण गरी नगरपालिकाभित्रका सडकहरुको प्राथमिकिकरण गर्ने, सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने, सबै गाउँ टोलहरुलाई सडक सञ्जालमा जोडी सहज यातायातको व्यावस्था गर्ने, प्रमुख बजार सम्मका सडकको स्तरोन्नति गर्ने, जनस्तरवाट निर्माण गरिएका सडकहरुलाई नगरपालिकाले स्वामित्वमा ल्याई त्यस्ता सडकहरुको विस्तार एवं स्तरोन्नती गर्ने, हरेक सडकहरुको दुवैतर्फ ढल निकाशको व्यवस्था गरिने छ र हरित सडकको लागि दुवैतर्फ वृक्षारोपण गरी उचित स्थानमा पार्क निर्माण गर्नेलगायत योजना छन्।
नगरका प्रमुख बजार क्षेत्रहरुमा सिसिटिभी क्यामेरा जडान गरी चौबिसै घण्टा सुरक्षा निगरानी राख्ने, सुकुम्वासी समस्यालाई स्थानीय आयोग गठन गरी समस्या समाधानका लागि प्राथमिताकासाथ पहल गर्ने, पहाडी सहर हिल स्टेशनकोरुपमा खाँबु, साउने र स्थानीय तह अन्तर्गत जोगीदह, जाल्पाचिलाउनेजस्ता स्थानमा सहरी विकासका योजनाहरु तर्जुमा गर्ने, सहरको सौन्दर्यताका लागि ग्रीनसिटीको अवधारणा अन्तर्गत अध्ययन र सम्भावनाका आधारमा वाल उद्यान, वनभोज स्थल, स्वीमिङ पुल, ताल तलैयामा बोटिङको व्यवस्था गर्ने।
भूमिहीन, बिपन्न दलित र सुकुम्बासीहरूको पहिचानगरी सबै वडाक्षेत्रमा जनता आवास लगायतका कार्यक्रम बनाउने, पाँच वर्षमा कम्तीमा एक हजार एककृत घर निर्माण गर्ने। प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न क्षमता विकास, पूर्व सूचना प्रणाली साथै, खोज तथा उद्धारसम्वन्धी सीप, राहत एवं पुनस्र्थापना र पुननिर्माण सम्बन्धि विशेष कानून निर्माण गरी नगरस्तरीय विपद् कोष खडा गरिने छ। प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गर्ने, सफा, हराभरा, सुन्दर सहर हाम्रो रहर भन्ने नारालाई सार्थक वनाउन गाउँका समुह तथा टोल विकासमार्फत नीजि साझेदारी विकासको अवधारणाअन्तर्गत परिचालन गरिने छ। बाह्रैमहिना सिँचाइ सुविधा उपलब्ध गराउन प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरण पक्षबाट सम्भाव्य मझौला, ठूला सतह सिँचाइ एवम् अन्तर जलाधार र जलाशययुक्त बहुउद्देश्यीय आयोजनाका कार्यक्रमहरू प्राथमिकताका दिने, भूमिगत सिँचाइ सम्भाव्य भएका स्थानहरूमा स्यालो तथा डिप ट्युवेलका कार्यक्रमहरू कार्यान्वयन गर्ने लगायतका छन्।

को हुन् बलदेव चौधरी ?
उदयपुर जिल्लाको साविक मोतिआदर्श गाउँ पञ्चायत हाल त्रियुगा नगरपालिका ११ मा २०२५ साल बैशाख १ गते जन्मेका हुन् चौधरी। उनी एसएलसी पास गरेलगत्तै सप्तरीको राजविराजस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कानुन विषयमा भर्ना भए। त्यही क्याम्पसबाट उनको औपचारिक र संगठित राजनीतिक यात्रा सुरुभयो। क्याम्पस पढ्दा पढदै उनको नजिकको दाई स्व. शुभनारायण चौधरीको प्रभावले अनेरास्ववियूप्रति आकषिर्त बने। विद्यार्थी आन्दोलनमा होमिए पनि। ०३६ सालको विद्यार्थी आन्दोलनमा कानूनका विद्यार्थी भएका पनि बहुदल र निर्दलको भेद छुट्याउन सक्ने थिए। ०४२ सालमा अनेरास्ववियुको सदस्यता प्राप्तगरी क्याम्पसको संगठन विभाग प्रमुख, सचिव हुँदै क्याम्पस कमिटीका अध्यक्ष समेत भए। त्यस समयमा अनेरास्ववियुलाई जिताउन उनले कैयौ पटक प्रहरीको फन्दामा परे, कहिले प्रहरीबाट पिटिए त कहिले प्रहरीलाई लखेटे। पढाइको हकमा उनले बीएलसम्मको अध्ययन पूरा गरेका छन्। विद्यार्थी हुँदाबखत नै पहिलो जनआन्दोलन ०४६ मा सक्रिए भए। आन्दोलनको क्रममा पटक पटक प्रहरीको बुट र लाठी खाए। फलस्वरुप उनी ०४६ सालको जनआन्दोलनको दौरानमा पक्राउ परे।
पक्राउ परेपछि उनी ७ दिन प्रहरी हिरासतमा बसे। अदालतको आदेशमा रिहा पनि भए। लुकीछिपी प्रहरीलाई छलेर आन्दोलन गरिरहे। फलस्वरुप आन्दोलनको अगाडी सरकार जनताको अगाडी घुडा टेक्यो र पहिलो जनआन्दोलन सफल पारेरै छोड्ने एक चौधरी नै परे। त्यसपछि पढाइको अन्तिम सँगसँगै अनेरास्ववियुको यात्रालाई बिट मार्दै उदयपुर फर्केर वकालत पेशा अंगाले। अनि पार्टीको राजनीतिमा प्रवेश गरे। ०४७ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरे। पार्टीले ०४८ सालमा राष्ट्रिय प्रजातान्त्रिक युवासंघ हाल युवा संघ नेपालको जिल्ला सदस्यकोरुपमा रही काम गरे। यसको साथसाथै वडा कमिटी, गाउँ कमिटी, नगर कमिटी संयोजक हुँदै इलाका कमिटीमा रहेर काम गरे। कानूनमा स्नातकसम्मको अध्ययन गरेर घर फर्केका चौधरी वकालत पेशासँगै जिल्लाको राजनीतिमा सक्रिय हुन थाले। वकालत पेसाले गर्दा राम्रै नाम चल्यो चौधरीको। उनले नाम र दाम समेत कमाए। फलस्वरुप उनले ०५४ सालको स्थानीय निर्वाचनमा पार्टी भित्रको असन्तुष्टले गर्दा स्वतन्त्रबाट प्रमुखमा उम्मेदबारी दिए अर्थात बागी।
तर, सम्मानजनक मतले पराजित भए। पार्टी विभाजन पश्चात माले र एमालेकोवीचमा विभाजन हुन पुगे। त्यसपछि एकीकरणपश्चात उनी जिल्ला कमिटी सदस्य, हुँदै सचिवाय सदस्यसहित कानुन विभाग प्रमुख, युवा विद्यार्थी इन्चार्ज, क्षेत्र नं. २ को क्षेत्रिय इन्चार्ज, सामाजिक सेवा विभाग प्रमुख, आर्थिक विभाग प्रमुखलगायतको विभागमा जिम्मेबारी पुरा गरे। ०४८ सालदेखि ४ पटकसम्म नेपाल बार एशोसियसन, उदयपुरको अध्यक्ष पदमा रही काम पनि गरेका छन चौधरीले। माघ १९ को शाही कदमकाबेला चौधरी एमालेमा सक्रिय थिए। उदयपुरमा शाही कदमको विरुद्धको गतिविधिमा सक्रिय भएकाले गर्दा उनलाई झनै राजनीति उचाईमा पुग्न सजिलो भयो। सरकार विरोधी आन्दोलनमा खरोरुपमा उत्रिएपछि त्यसैले उनी प्रहरी–प्रशासनको आँखाको कसिंगर बन्न पुगे। कथित नगर निर्वाचनको बहिस्कारको समयमा उनलाई प्रहरीले पक्राउ गर्यो। त्यसपछि राजविराज पुनरावेदन अदालतको आदेशले उनी छुटेको बताउँछन्। उनले जिल्ला कमिटीको साथै नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य, नेपाल लोकतान्त्रिक थारु संघ केन्द्रीय कमिटी उपाध्यक्ष, प्रगतिशील पेशागत कानूनी व्ययवासयी संगठन जिल्ला कमिटी सदस्यसमेत भएर काम गरे। यस्तै हाल उनको केन्द्रिय जिम्मेबारीमा नेपाल लोकतान्त्रिक थारु संघ केन्द्रीय कमिटी महासचिव, अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष र नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा उदयपुर इन्चार्ज छन्।

यति लामो राजनीतिक जीवनमा चौधरी कहिल्यै लाभको पदमा पुगेनन्। पहिलो संविधानसभाको चुनावमा उदयपुर क्षेत्र नम्बर २ बाट सभासदको उम्मेदबार बन्दा पराजित भए। स्थानीय निर्वाचन २०७४ को लागि टिकट नलिने मोडमा भएपनि उनलाई अनन्त, प्रदेश नं.१ प्रदेश कमिटीले उनैलाई नगर प्रमुखको उम्मेदवार बनायो। उम्मेदवार बनेपछि झिनो मतान्तरले बसन्तकुमार बस्नेतलाई पराजित गर्दै त्रियुगा नगरपालिकाको गणतान्त्रिक नेपालको पहिलो र त्रियुगाको दोस्रो प्रमुखमा पाँच वर्षका लागि पद बहाली गर्न पुगेका छन्।
थाहाखवरबाट




