थारु समुदायको उत्थानमा हामी सबै लाग्नुपर्छः प्रधानमन्त्री देउवा


काठमाडौं, साउन २ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले तराईका इमान्दार जातिमध्ये रहेका थारु समुदायको समग्र विकास र उत्थानमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।

संस्कृति मन्त्रालय तथा व्याकवार्ड सोसाईटी एजुकेशन (बेस) संस्थाको लगानी तथा नेपाल टेलिभिजनद्वारा निर्मित ‘हामी थारु’ बृत्तचित्रको सोमबार यहाँ सार्वजनिकीकरण गर्दै प्रधानमन्त्री देउवाले त्यस्तो बताउनुभयो । सांस्कृतिकरुपमा निकै धनी रहेको थारु समुदायको इमान्दारिता नै उनीहरुको विशेषता भएको उहाँले बताउनुभयो ।

शैक्षिक हिसावले निकै पछाडि रहेको थारु समुदाय अझै पनि गरिबीको रेखामुनी रहेको भन्दै उहाँले शिक्षामा पहुँच बढाएर थारु समुदायको उत्थान सम्भव रहेको बताउनुभयो । २०५७ साउन २ गते मुक्त भएका कमैयाहरुको अझै पुनस्र्थापना हुन बाँकीरहेकाले आफूले पुनस्र्थापनाका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

बेसका अध्यक्ष तथा सांसद डिल्लीबहादुर चौधरीले कैलाली र वर्दियामा मात्र अब मुक्त कमैयाको पुनस्र्थापनाको काम बाँकी रहेकाले सरकारले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवालाई आफ्नै कार्यकालमा सो काम गर्न आग्रह गर्नुभयो ।  थारु संस्कृतिविद अशोक थारुले करिब ५० मिनेटको हामी थारु बृत्तचित्रले थारु संस्कृतिको राम्रो दस्तावेज भएको बताउनुभयो । थारु संस्कृतिलाई देश विदेशमा चिनाउन पनि बृत्तचित्रले भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल, महाप्रबन्धक गोविन्द रोका, कर्मचारी संगठनका अध्यक्ष गोविन्द धिताल, निराजन खनाल लगायतले बृत्तचित्रले थारु समुदायको सामाजिक तथा सांस्कृतिक पक्षलाई उजागर गरेको बताउनुभयो । नेपाल टेलिभिजनले मुलुकको १२५ वटै जातजातिको सांस्कृतिक पक्षलाई समेटेर बृत्तचित्र बनाउनुपर्ने सुझाव उहाँहरुले दिनुभयो ।

तपाईको प्रतिक्रिया