
लक्की चौधरी
काठमाडौं, साउन ७ गते । नेपाल पत्रकार महासंघको २५ औं राष्ट्रिय महाधिवेशन आउन करिब महिना दिन बाँकी छँदा नेतृत्व आफ्नो पोल्टामा पार्न प्रमुख तीन संगठनमा अहिले छलफलको चटारो छ ।
महासंघको केन्द्रीय बैठकले आगामी भाद्र ४ र ५ गते काठमाडौंमा २५ औं महाधिवेशन गर्ने यसअघि निर्णय गरिसकेकाले सोअनुसारको तयारी प्रमुख तीन संगठनले गरेका हुन् । सकेसम्म महासंघलाई साझा नागरिक संगठनकोरुपमा विकास गर्न प्रमुख तीनै संगठनबीच छलफल भइरहेको बुझिएको छ ।
त्यसकालागि नेकपा (एमाले) का प्रचार विभाग प्रमुख योगेश भट्टराई, कांग्रेस नेता रमेश लेखक र माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालबीचसमेत दुईपक्षीय, त्रिपक्षीय वार्ता भइरहेको संगठनका नेताहरुको भनाई छ । महासंघलाई साझा संगठन बनाएर नेतृत्वका लागि आलोपालो गर्ने प्रस्ताव बैठकमा आएको बुझिएको छ ।
महासंघलाई राजनीतिक रंग दिनुभन्दा व्यावसायिक पत्रकारको साझा संगठन बनाउनुपर्ने व्यापक दवाव बाहिर रहेपनि प्रमुख तीन दलको सहमतिमा महासंघको नेतृत्वमा समेत आलोपालोको प्रस्ताव बैठकमा आएको पत्रकार नेताहरुले स्वीकार्नुभयो । दलबीच सो विषयमा सहमति बने नेतृत्व गौण विषय भएको पत्रकार नेताहरुको बुझाई छ ।
नेपालकाअनुसार तीर्थ कोइराला, गगन विष्ट, राजेन्द्र अर्याल र निर्मला शर्मा अध्यक्षकालागि आकांक्षी देखिएका छन् ।
विशेषगरी अहिले महासंघको नेतृत्व गरिरहेको एमाले निकट प्रेस चौतारी नेपाल, कांग्रेस निकट नेपाल प्रेस युनियन, माओवादी निकट प्रेस सेन्टर नेपालले नेतृत्वका लागि दावी पेश गरेका छन् । त्यसकालागि संगठनबीचको एलाइन्सको चर्चापनि सुनिने गरेको छ । यसअघि दुई कार्यकाल प्रेस चौतारी र प्रेस सेन्टरबीचभएको एलाइन्सअनुसार महासंघमा नेतृत्व निर्वाचित भएको थियो । अहिले पनि त्यसको प्रयास जारी देखिन्छ ।
महासंघको नेतृत्वकर्ता प्रेस चौतारी नेपालले तीनै संगठनको प्रतिनिधित्व रहनेगरी महासंघलाई साझारुपमा अगाडि बढाउने प्रस्ताव बैठकमा राखेको चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले बताउनुभयो । “महासंघको नेतृत्वमा आलोपालो गरौं भन्ने हाम्रो प्रस्ताव छ, त्यसमा सहमति बने सोहीअनुसार अगाडि बढ्न सकिन्छ” नेपालले भन्नुभयो ।
यद्यपि ठूलो संगठनको हिसावले चौतारीको दावी नेतृत्वमा स्वाभाविक रहेको नेपालले तर्क गर्नुभयो । सहमतिको नाममा भने चौतारी लचिलो हुन तयार रहेको उहाँको भनाई छ । चौतारीको तर्फबाट अहिलेसम्म चारजनाको नाम नेतृत्वको दावेदारमा देखिएको छ । नेपालकाअनुसार तीर्थ कोइराला, गगन विष्ट, राजेन्द्र अर्याल र निर्मला शर्मा अध्यक्षकालागि आकांक्षी देखिएका छन् ।
सिवाकोटीकाअनुसार अहिलेसम्म युनियनमा आठजनाले अध्यक्षताकालागि आकांक्षा देखाएका छन् । पोषण केसी, समिरजंग शाह, बिपुल पोखरेल, रामजी दाहाल, अनिता विन्दु, सालिक सुवेदी, गंगाधर पराजुली र रामप्रसाद दाहालले नेतृत्वको दावी गरिरहेका छन् ।
त्यस्तै, कांग्रेस निकट नेपाल प्रेस युनियनले पनि नेतृत्वकालागि दावी गर्दैआएको छ । लामो समय एकछत्र महासंघमा नेतृत्व गरेको युनियनले दुई कार्यकाल नेतृत्वबाट बञ्चित रहेको छ । पुरानै विरासत फर्काउने कसरतमा युनियन लागेको देखिन्छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीकाअनुसार नेतृत्व आफ्नो पक्षमा पार्नेगरी संगठनमा आन्तरिक छलफल भइरहेको छ । त्यसकालागि पत्रकार नेतादेखि पार्टीका नेतासम्मको सक्रियता रहेको उहाँले स्वीकार्नुभयो ।
सिवाकोटीकाअनुसार अहिलेसम्म युनियनमा आठजनाले अध्यक्षताकालागि आकांक्षा देखाएका छन् । पोषण केसी, समिरजंग शाह, बिपुल पोखरेल, रामजी दाहाल, अनिता विन्दु, सालिक सुवेदी, गंगाधर पराजुली र रामप्रसाद दाहालले नेतृत्वको दावी गरिरहेका छन् । यद्यपि प्रमुख तीन संगठनबीच सहमति बनेमा नेतृत्व ठूलो विषय नभएको सिवाकोटीले बताउनुभयो ।
सेन्टरबाट अध्यक्षकालागि गोविन्द आचार्य, ओम शर्मा, बलराम थापा, खिलबहादुर भण्डारी र उजीर मगर आकांक्षी देखिएका छन् ।
यता, माओवादी निकट प्रेस सेन्टर नेपालले पनि नेतृत्वको दावी गर्दैआएको छ । तेस्रो शक्तिको नाताले नेतृत्व एक कार्यकाल आफूहरुको स्वाभाविक दावी रहेको सेन्टरका महासचिव विष्णु सापकोटाले बताउनुभयो । महासंघलाई साझा संस्था बनाउनेमा हामी पनि सहमत छौं तर त्यसकालागि सबैको प्रतिनिधित्व आवश्यक रहेको उहाँले तर्क गर्नुभयो ।
सकेसम्म तीनै संगठनबीचको सहमतिअनुसार महासंघलाई साझा बनाउँ भन्ने हाम्रो भनाई हो, त्यसो हुननसके प्रतिनिधित्व सुनिश्चित् गर्नेगरी कुनै संगठनसँग एलाइन्स गरेर जाने तयारीका बारेमा संगठनभित्र छलफल भइरहेको सापकोटाले बताउनुभयो । उहाँकाअनुसार सेन्टरबाट अध्यक्षकालागि गोविन्द आचार्य, ओम शर्मा, बलराम थापा, खिलबहादुर भण्डारी र उजीर मगर आकांक्षी देखिएका छन् ।
महासंघको महाधिवेशन नजिकिदै गर्दा महासंघको केन्द्रीय कमिटीले आन्तरिक तयारी तिव्र बनाएको महासंघका महासचिव उजीर मगरले बताउनुभयो । आर्थिक संकलनदेखि प्रकाशन र अन्य व्यवस्थापनको कामलाई चुस्त बनाउन विभिन्न उपसमिति गठन गरेर तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । महासंघमा अहिले देशभर १२ हजार ७८४ साधारण सदस्य छन् ।




