धनगढीको गुरही चोकमा थारुपर्व गुरही मनाउने हुँदैछ भव्य तयारी


राम दहित
धनगढी, साउन १२ गते । थारु समुदायको पर्व गुरही गत वर्षझै यो वर्ष पनि धनगढीको गुरही चौक (क्याम्पस चौंक) मा भव्यताका साथ मनाउने भएको छ ।

थारु कल्याणकारिणी सभा कैलाली र सखी सञ्जाल कैलालीको अगुवाई परम्परागत ढंगले यही साउन १३ गते गुरही पर्व मनाउने सो संस्थाका प्रतिनिधिले बताएका छन् ।

गुरही असरैना (सेलाउने) समयमा समुदायको परम्परागत पहिरन तथा पुरुषहरु धोटी र महिलाहरु लेहंगा अनिवार्य लगाउनु पर्ने आव्हान गरिएको छ । बुधबार धनगढीमा थारु अगुवाहरुको एक छलफलसहित ऐतिहासिक र साँस्कृतिक पक्षको प्रवद्र्धन गर्ने मुल उद्देश्यकासाथ गुरही पर्व मनाउने निर्णय गरेको हो ।

उक्त छलफलमा थारू अगुवाहरु गुरही पर्वको ऐतिहासिक र साँस्कृतिक महत्वको बारेमा पनि जानकारी गराएका थिए । उहाँहरुले गुरही पर्व थारू समुदायको पहिचान जुरेको प्राकृतिक पूजाकोरुपमा रहेकोले संरक्षण, सम्बद्र्धन गर्न एकदमै जरुरी रहेको औल्याएका थिए ।

थारू कल्याण कारिणी सभा कैलालीका पूर्व सभापति प्रभातकुमार चौधरीले समाजमा व्याप्त रहेको विकृती विसंगति तथा रोगव्याधि हटाउनका लागि प्राकृतिक पूजाकोरुपमा गुरही पर्व मनाउने गरेको जानकारी दिनुभयो । वर्तमान समयमा पनि गुरहीको त्यतिनै सान्दर्भिकता रहेको बताउदै उहाँ थारू समुदायको अस्तित्वसँग जुरेकोले पर्वको संरक्षण अनिवार्य रहेको तर्क गर्नुभयो ।

थारु अगुवाहरुकाअनुसार गुरही पर्व मनाउनेक्रममा रोगव्याधिको प्रतीक कपडाको स–सानो गुरही बनाएर महिलाहरु गाउँको दक्षिण गएर निकासी गर्ने असराउने र पुरुषहरु खासमा केटाहरु केराबोंगा र कुसको सोटा बनाएर त्यही गुरहीलाई ठटाउन (चुट्ने) प्रचलन रहेको छ ।

एक किंवदन्तीअनुसार धेरै समय पहिले एक राजाको वंशमा एक नाग बंशका केटीको बिहे भएको थियो । ऊ बारे राजालाई पनि जानकारी थिएन । पछि गएर त्यो केटी आफ्नो वंशबारे साथीसंगीलाई जानकारी गराएपछि उक्त कुरा बाहिर आयो । पछि राजाले उक्त कुराले आफ्नो अपमान भयो मनेर एकअरुको कुरा काट्ने महिलाहरुलाई धेरै चुटेका थिए रे ।

जुन घटनालाई स्मरण गर्दै खराबआचरण नाश भएर जाउन् भनी नागपञ्चमीका दिन गुरहीलाई सोटाले चुटेर गुरही पर्व मनाउने प्रचलन रहेको पनि थारु अगुवाहरुको बताउने गर्दछन् ।

थारू अगुवाहरु गुरहीको धेरै पृष्ठभूमि रहेपनि ऐतिहासिक पृष्ठभूमिका सार भने रोगव्याधि, विसंगति हटाउने र समाजमा शान्ति फैलाउने रहेको बताउने गरिन्छ ।

तपाईको प्रतिक्रिया