नेपाल पत्रकार महासंघमा प्रेस चौतारीले नेतृत्वमा पुनः दावी गर्ने


धनगढी, साउन १६ गते । नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका लागि देशव्यापी अभियान शुरु गरेको बताएको छ ।

प्रदेश नं. ७ को विस्तारित बैठकको आइतबार यहाँ आयोजना गर्दै चौतारीले त्यस्तो बताएको  हो । यसअघि दुई कार्यकाल महासंघको नेतृत्व गरेको चौतारीले ठूलो संगठनको नाताले पुनः नेतृत्वको दावी स्वाभाविक रहेको बताएको छ । दुई कार्यकाल महासंघको नेतृत्व चौतारीले गर्दा ६० वर्षमा नभएको काम भएको तर्क सो संगठनको छ ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले महासंघको नेतृत्वमा चौतारीलाई स्थापित गराउने गरी नै देशव्यापी अभियान शुरु गरिएको बताउनुभयो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले महासंघको नेतृत्वमा चौतारीलाई स्थापित गराउने गरी नै देशव्यापी अभियान शुरु गरिएको बताउनुभयो । “सकेसम्म महासंघलाई साझा संगठन बनाउन हामी तीनवटै संगठनबीच छलफल गरिरहेका छौं, त्यो सम्भव नभए चौतारीलाई जिताउनेगरी एलाइन्स हुन्छ” बस्नेतले भन्नुभयो ।

यसअघि पत्रकार शीव गाउँले र अहिले डा. महेन्द्र विष्टले चौतारीको तर्फबाट महासंघको नेतृत्व गर्नुभयो । आगामी भाद्र ४ र ५ गते महासंघको २५ औं महाधिवेशन काठमाडौंमा हुन गइरहेकाले पत्रकारका संगठनहरु नेतृत्व आफ्नो पक्षमा पार्नेगरी अभियानमा सक्रिय भएका छन् । नेतृत्वमा नेपाली कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले पनि दावी गरिरहेको छ ।

यसअघि चौतारी र प्रेस सेन्टरबीचको एलाइन्सले दुई कार्यकाल महासंघको नेतृत्व चौतारीले पाएको थियो । यस पटक महासंघको नेतृत्व तीनवटै संगठनको साझा बनाउने कि एलाइन्स गर्ने भन्ने विषयमा नेतृत्वबीच छलफल भइरहेको चौतारीका अध्यक्ष बस्नेतले बताउनुभयो ।  चौतारीका पूर्व अध्यक्ष गगन विष्टले चौतारीको नेतृत्व स्थापित गराउनेगरी देशव्यापी अभियान शुरु भएकाले कार्यकर्तालाई इमान्दारिता देखाउन आग्रह गर्नुभयो । संगठनबीचको अन्तर्घाटले समस्या पार्ने भन्दै उहाँले सबैलाई सहयोगको अपिल गर्नुभयो ।

कार्यक्रममा पत्रकार खेम भण्डारी, चौतारीका उपाध्यक्ष नरेन्द्र साउँद, महासचिव राजेश राई, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु लक्की चौधरी, प्रकाश विक्रम शाह, खगेन्द्र पन्त, लगायतले पत्रकार महासंघले तीन वर्षे कार्यकालमा गरेको काम, सम्भावना र चुनौतिका विषयमा चर्चा गर्नुभएको थियो ।

चौतारीका हेमकर्ण विकको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी, पत्रकार विरेन्द्र रावल, पुष्प भट्ट, अर्जुन शाह, लक्ष्मण तिवारी लगायतले धारणा राख्नुभएको थियो । सुदूरपश्चिमका नौ वटै जिल्लाबाट करिब ६० जनाको प्रतिनिधित्व रहेको थियो ।

तपाईको प्रतिक्रिया