सीता रानाथारुले पाइन् नगद एक लाखसहित युवा प्रतिभा सम्मान


लक्की चौधरी

काठमाडौं, साउन २८ गते । अपाङ्गता भएकी बेलौरी ६, कञ्चनपुरकी सीता रानाथारुले नगद एक लाख रुपियाँसहित यस वर्षको युवा प्रतिभा सम्मान २०७४ प्राप्त गर्नुभएको छ ।

सिलाई कटाई उद्यममार्फत् समाजलाई सकारात्मक परिवर्तनमा अतुलनीय योगदान पुर्याए बापत रानाथारु शनिबार एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट काठमाडौंमा सम्मानित हुनुभयो ।

सामान्य लेखपढ गर्न जान्ने रानाथारु बेलौरीमा कल्पना सिलाई सेन्टर खोलेर स्थानीयस्तरमा उद्यम सञ्चालन गर्दैआउनुभएको छ । उहाँले आफ्नो सिलाई सेन्टरमा करिब १५ जनालाई रोजगारी दिनुभएको छ । तीन महिने सिलाई कटाई तालिम लिएर आफ्नो उद्यम सञ्चालन गर्नुभएकी रानाथारुले सपाङ्गता भएकालाई चुनौति दिनुभएको छ ।

ह्वील चियरमा बसेरै सिलाई कटाईको काम गर्ने रानाथारु सम्मानले आफूलाई थप उर्जा र सो पेशा व्यवसायमा लाग्ने उत्प्रेरणा थपेको बताउनुभयो । नेपाल अपाङ्ग महिला संघको सिफारिसमा आफूले युवा प्रतिभा सम्मान प्राप्त गरेको रानाथारुले हमार पहुरा डट कमलाई जानकारी दिनुभयो । प्राप्त नगद राशीलाई उद्यममा लगानी गरी थप सशख्तरुपमा अघी बढ्ने उहाँले बताउनुभयो ।

२०४२ साल जेठ ७ गते कञ्चनपुरमै जन्मनु भएकी सीता रानाथारुले सामुदायिक विकास केन्द्रबाट आफूले शुरुमा ३ महिने सिलाई कटाई तालिम लिई आफ्नो उद्योग सञ्चालन गरेको बताउनुभयो । इच्छाशक्ति भएमा जस्तोसुकै काम गर्न सकिने भएकाले युवालाई दत्तचित्त भएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया