
कारी महतो
चितवन, भाद्र २८ गते । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा “प्रकृति र संस्कृतिलाई, बचाई राखौं संस्कृतिलाई” भन्ने मूल नारासहित सौराहामा आयोजित बाघ संरक्षणमूलक जितिया झम्टा गीत प्रतियोगितामा इको प्याराडाइज महिला समूह, मालपुर प्रथम भई बाजी मारेको छ ।
प्रथम हुने महिला समूहले नगद १० हजार रुपैयाँ जितेको छ । द्वितीय हुने दोरङ्गी महिला समूहले नगद ७ हजार ५ सय सहित पुरस्कार जितेको छ । इन्द्रेणी युवा क्लब, डेबौली तृतीय भएको छ । तृतीय पुरस्कारको राशी नगद ५ हजार ५ सय रुपैया रहेको थियो । बाघमारा आमा समूह र प्रगतिशील टरौली महिला समूहले शान्त्वना स्थान हासिल गर्यो । प्रतियोगितामा भाग लिएका १४ वटा झम्टा समूहले बाघ संरक्षण सम्बन्धी चेतनामूलक गीतहरुसँगै झम्टा नृत्य प्रस्तुत गरेका थिए ।
उक्त झम्टा प्रतियोगिता बाघ संरक्षण उपसमितिद्वारा चितवनको रत्ननगर नगरपालिका वडा नं. ७, सिसुवारको चौरमा आयोजना गरिएको थियो । बाघ संरक्षण उपसमितिका अध्यक्ष जितबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको उदघाटन प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गर्नुभएको थियो । प्रमुख अतिथि कँडेलले प्रतियोगिताले जनचेतनामा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
झम्टा प्रतियोगिता बाघ संरक्षण उपसमितिद्वारा चितवनको रत्ननगर नगरपालिका वडा नं. ७, सिसुवारको चौरमा आयोजना गरिएको थियो ।
कार्यक्रममा अन्य वक्ताहरुमा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, उपमेयर विमला दुवाडी, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगाना, वडा नं. ७ का वडाध्यक्ष लालबहादुर भट्ट, नारी चेतना महिलाका अध्यक्ष वविता चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
ओम शान्ति राप्राविका प्र.अ. राधा चौधरी, ग्रीन सोसाइटीका अध्यक्ष गिरीधारी चौधरी र चितवन राष्ट्रिय निकुञ्जका ना.सु. विष्णु प्रसाद लामिछानेले प्रतियोगी सहभागी झम्टा समूहका गीत तथा नृत्यहरुको मुल्यांकन गर्ने निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा वन्यजन्तु संरक्षण सम्बन्धि थारु भाषामा चेतनामूलक नाटक प्रस्तुत गर्नुका साथै मनोरञ्जनपूर्ण नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । सोहि दिन खैरहनी नगरपालिका वडा नं. १ बहेरा गाउँ र रत्ननगर नगरपालिका वडा नं. ७ पडरिया गाउँमा जितिया विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । दुवै कार्यक्रम थारु महिलाहरुको सक्रियतामा सम्पन्न भयो ।
कार्यक्रममा वन्यजन्तु संरक्षण सम्बन्धि थारु भाषामा चेतनामूलक नाटक प्रस्तुत गर्नुका साथै मनोरञ्जनपूर्ण नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।
थारु महिला समूह र बहेरा टोल सुधार समितिको संयुक्त आयोजनामा भएको जितिया विशेष साँस्कृतिक कार्यक्रमको उदघाटन प्रमुख अतिथिकोरुपमा आमन्त्रित वडाअध्यक्ष भूमिप्रसाद कँडेलले गर्नुभएको थियो । थारु महिला समूहका संयोजक सीता चौधरीको अध्यक्षातामा भएको कार्यक्रममा केन्द्रीय सहकारी संघका पूर्व अध्यक्ष पूर्णदत्त भुसाल, सिर्जनशील थारु समाजका उपाध्यक्ष हरिकुमार चौधरी, बहेरा टोल सुधार समितिका अध्यक्ष इन्दिरा भुसालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पडरिया आमा समूहको आयोजनामा भएको अर्को जितिया विशेष मौलिक साँस्कृतिक कार्यक्रमको उद्घाटन थारु कल्याणकारिणी सभा रत्ननगर क्षेत्रका सभापति रामेश्वर चौधरीले गरेका थिए । पडरिया आमा समूहका अध्यक्ष मञ्जु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर विमला दुवाडी, वडा नं. ७ का अध्यक्ष लालबहादुर भट्ट, वडा नं. ५ का अध्यक्ष कृष्ण महतो, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




