खिचरा महोत्सवमा डा. लामिछाने र डा. खरेललाई सम्मानित गरिने


सन्तकुमार चौधरी
चितवन, पुस १२ गते । पाँचौ खिचरा महोत्सव २०७४ मा डा. प्रमोद लामिछाने र डा. वीएम खरेललाई आयोजकले सम्मान गर्ने निर्णय गरेको छ ।

थरुहट आन्दोलनका घाइते सन्जीत महतोको उपचारमा सहयोग गरेको भन्दै एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका चिकित्सक डा. लामिछाने र हस्पिटलकी प्रबन्ध निर्देशक डा. खरेललाई सम्मान गर्ने निर्णय गरेको हो ।

घाइते महतोलाई ४६ दिनसम्म हस्पिटलमा राखेर निःशुल्क स्वास्थ्य उपचार सेवा दिएको भन्दै आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले दुवैजनालाई सम्मान गर्ने निर्णय गरेको छ । घाइते महतोलाई निशुल्क उपचार सेवा दिएर नयाँ जीवन दिएको भन्दै महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथिले दोसल्लासहित सम्मान पत्रले सम्मान गर्ने कार्यक्रम छ ।

प्रमुख अतिथिको रुपमा माओवादी केन्द्रका अध्यक्ष एवम चितवन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरिएको महोत्सव मुल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिनुभयो । सो अवसरमा आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले घाइते सन्जीत महतोलाई समेत नगदसहित सम्मान गर्ने तयारी गरेको छ ।

थरुहट आन्दोलनमा घाइते भएका महतोको योगदानको उच्च मुल्यांकन गर्दै नगदसहित सम्मान गर्ने निर्णय भएको प्रचार प्रसार समितिका संयोजक कारी महतोले जानकारी दिनुभयो । थारु कल्याणकारिणी सभा दक्षिण कोरियालेसमेत सोही अवसरमा आर्थिक सहयोग हस्तान्तरण गर्ने जनाएको छ ।

घाइते महतो राहत कोषकालागि दक्षिण कोरियामा रहेको नेपालीहरुबाट सभाले आर्थिक संकलन गरेको थियो । महोत्सव पौष २८ गतेदेखि माघ ८ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया