हराउन थाल्यो अन्न भण्डारण गर्ने परम्परागत थारु डेहरी


सन्तोष दहित
दाङ, कात्तिक २४ गते । कुनै समय थारू समुदायका घरमा अन्न भण्डारण गर्ने प्रमुख साधनको रूपमा प्रयोग हुँदैआएको माटोको डेहरी (डेह्री) पछिल्लो समय हराउन थालेको छ । आधुनिक घर निर्माण र अन्न भण्डारणको नयाँ साधनको प्रयोग बढेसँगै थारू समुदायको परम्परागत पहिचानसँग जोडिएको डेह्रीको प्रयोग घट्दै गएको हो।

तराईको थारू बस्तीमा पहिले प्रायः हरेक घरमा माटोको डेह्री बनाउने चलन थियो । धान, गहुँ, मकै लगायतका अन्न भण्डारण गर्न प्रयोग गरिने डेह्री घरभित्रै राखिन्थ्यो । ठूलो घडाजस्तो आकारमा बनाइने डेह्री अन्न राख्ने भाँडो मात्र नभइ घरभित्र कोठा छुट्याउने माध्यमका रूपमा समेत प्रयोग हुने गरेको थियो । घोराही उपमहानगरपालिका –१७ गुलरियाका प्रेम चौधरीका अनुसार माटो र परालको भुस मुछेर थारू समुदायका महिलाले डेह्री बनाउने गर्छन् ।

हातले बनाइने डेह्री तयार गर्न झन्डै एक हप्ता लाग्ने उहाँले बताउनुभयो । डेह्री बनिसकेपछि गोबरले भित्रबाहिर पोतेर सफा गर्ने र अन्तिम रूप दिने गरिन्थ्यो । उहाँले भन्नुभयो, “पहिले थारू समुदायका घर एक तले र लामो आकारका हुन्थ्यो । घरभित्रै डेह्री बनाएर अन्न राख्ने र त्यसले कोठासमेत छुट्याउने गरिन्थ्यो । पुर्खाहरूले धान, गहुँ, मकैजस्ता अन्न वर्षभरिका लागि डेह्रीमा भण्डारण गर्ने गरेका थिए ।”

माटोबाट बनाइने भएकाले डेह्रीभित्रको तापक्रम तुलनात्मक रूपमा चिसो रहने र अन्न लामो समयसम्म सुरक्षित राख्न सहयोग पुग्ने उहाँको भनाइ छ । डेह्रीमा राखिएको अन्नमा घुन तथा अन्य किराको प्रकोप कम हुने र लामो समयसम्म नबिग्रिने उहाँले बताउनुभयो । स्थानीय स्रोतसाधनको प्रयोग गरेर निर्माण गरिने भएकाले डेह्री वातावरणमैत्री परम्परागत प्रविधिसमेत भएको उहाँको बुझाइ छ।

तुलसीपुर उपमहानगरपालिका –१० गैह्रया गाउँका सवि चौधरीका अनुसार पछिल्लो समय डेह्रीको सट्टा भकारी प्रयोग हुन थालेपछि यसको प्रयोग थप घटेको हो । गाउँ गाउँमा पक्की घर निर्माण हुन थालेपछि घरभित्र डेह्री बनाउन पर्याप्त ठाउँ नहुने र आधुनिक भण्डारणका साधन प्रयोग गर्ने चलन बढेकाले यसको प्रचलन हराउँदै गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले थारू समुदायका घरमा डेह्री अनिवार्यजस्तै हुन्थ्यो । घर फराकिलो हुने, घरभित्रै डेह्रीको भित्ता बनाउने र त्यसमा अन्न भण्डारण गर्ने गरिन्थ्यो । अहिले पक्की घर बनेका छन् । पक्की घरमा इँटाको भित्ता लगाएर कोठा छुट्याइने भएकाले डेह्री राख्ने ठाउँ हुँदैन । त्यसैले नयाँ पुस्ताले डेह्री बनाउने र प्रयोग गर्ने चलन छाड्दै गएको छ ।”

डेह्रीमा अन्न भण्डारण गर्ने मात्र नभइ देवता राख्ने ठाउँमा समेत अनिवार्य रूपमा डेह्री राख्ने चलन रहेको उहाँले बताउनुभयो । “डेह्री अन्न भण्डारणका लागि मात्र नभइ हाम्रो पहिचान र संस्कृतिसँग पनि जोडिएको छ” उहाँले भन्नुभयो । परम्परागत सिप, स्थानीय सामग्री र पुर्खाले विकास गरेको अन्न भण्डारण प्रविधिका रूपमा रहेको डेह्रीको प्रयोग घट्दै जाँदा यसको निर्माणसम्बन्धी ज्ञानसमेत हराउने जोखिम बढेको उहाँको भनाइ छ।

(गोरखापत्र अनलाइन डट कम बाट)

तपाईको प्रतिक्रिया