झुम्का (सुनसरी), पुस २२ गते । पोहोर सालकोजस्तो यस वर्षपनि थारु महिला उत्थान समाज सुनसरीले माघी महोत्सव २०७४ को तयारी गरेको छ । तयारी करिब ९० प्रतिशत सकिएको आयोजकले बताएको छ ।
रामधुनी १, झुम्काबजारमा पुस ३० देखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवको मुख्य आकर्षण नै थारु पहिचान तथा थारु संस्कृतिको जगेर्ना गर्ने रहेको उत्थान समाजले जनाएको छ । महोत्सवमा थारु समुदायको जनचेतनामूलक कार्यक्रम तथा थारु भाषा, संस्कृतिको जगेर्नासहित अन्य जातजातिको भेषभुषाको समेत प्रदर्शन गर्ने तयारी गरेको छ ।
उत्थान समाजकी अध्यक्ष सीता चौधरीकाअनुसार महोत्सवमा थारुको पहिचान झल्किने करिब २० वटा स्टलहरु राखिनेछन् । उदघाटनसत्रमा थारु समुदायकालागि जनचेतनामूलक प्रस्तुतीकासाथै माघी महोत्सवको पौराणिक गाथा र आकर्षणका बारेमा जानकारी गराइने बताइएको छ ।
पुस ३० गते हुने उदघाटनसत्रअघि गरिने ¥याली प्रदर्शनमा विभिन्न जातजातिको भेषभुषा झल्किने तथा पूर्वदेखि पश्चिमसम्मको थारु पोशाकसहित प्रदर्शन गर्ने तयारी उत्थान समाजले गरेको छ । महोत्सवलाई व्यापारभन्दा पनि थारुको पहिचान तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
महोत्सवको माध्यमबाट थारु समुदायको रीति, चालचलन, भेषभुषा, संस्कृति, संस्कार तथा थारु खाना परिकार एवं हस्तकलाका विषय समेत प्रदर्शन गरिने बताइएको छ । सात दिनसम्म चल्ने महोत्सवको करिब ५० हजार बढीले अवलोकन गर्ने आँकलन आयोजकले गरेको छ । २०७३ सालमा स्थापना भएको महिला उत्थान समाजले समाजमा विद्यमान कुरीति हटाउन जनचेतनामूलक कार्यक्रमहरु गर्दैआएको छ । विभिन्न दैवीप्रकोपमा परेकाहरुको उत्थानका लागि पनि सक्रिय सो संस्थाले गतवर्ष पनि माघी महोत्सवको आयोजना गरेको थियो ।
त्यस्तै, थारु महिला सभा सुनसरीले पनि पुस २१ देखि महोत्सव शुरु गरेको छ । महोत्सवमा विभिन्न थारु परिकारको प्रदर्शन गरिएको आयोजकले बताएको छ । सभाको महोत्सव पुस ३० गतेसम्म चल्ने बताइएको छ ।