
रामअवतार चौधरी
कपिलवस्तु, पुस २७ गते । हमार संस्कृति हम्मनके शान पहिचान बचएना हम्मनके अभियान भन्ने मूल नाराकासाथ प्रथम माघी मिलन महोत्सव २०७४ कपिलवस्तुमा हुन गइरहेको छ ।
पुस २९ र ३० गते भगवानपुरमा हुने माघी मिलन कार्यक्रममा थारु कला संस्कृतिको वेजोड प्रस्तुति रहने आयोजकले बताएको छ। माघी मिलन कार्यक्रममार्फत जिल्लाको पश्चिमी क्षेत्रमा विकट मानिने भगवानपुरको मुहारमा यसपालि लाली चढ्ने भएको छ ।
थारु समुदायमा नयाँबर्ष तथा हर्ष, उल्लासकासाथ मनाइने यस पर्वमार्फत थारु समुदायमा लुकेर रहेको थारु कला संस्कृति र भेषभुषाको संरक्षण हुने विश्वास गरिएको छ ।

महोत्सवका संयोजक रमेश चौधरीकाअनुसार थारु पहिरन तथा मातृ भाषा जार्गेना गर्ने उद्देश्यकासाथ कार्यक्रमको आयोजना गरिएको हो ।
थारु संस्कृति झल्काउने अभिप्रायले स्थानीय बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी, अगुवा, क्लब, संघसंस्था तथा गाउँ समाजको विशेष पहलमा कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।
महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न नौवटा उपसमिति गठन गरिएको छ । महोत्सवको शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।




