रत्ननगरको थारु वस्तीमा ऐतिहासिक ईनार, पुरातत्व विभागले उत्खनन गर्ने


सन्तकुमार चौधरी
चितवन, माघ ६ गते । चितवनको रत्ननगरमा माछापोखरी खन्नेक्रममा ऐतिहासिक इनार फेला परेको छ । रत्ननगर नगरपालिका ९ लालपर्सास्थित इन्द्रराज राउतले आफ्नै खेतमा माछापालनकालागि पोखरी खन्ने क्रममा सो इनार भेटिएको हो ।

इनार धेरै वर्ष पुरानो हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । माछापोखरीका लागि झण्डै सात मिटर गहिराई खनेर कोदालोले माटो सम्याउनेक्रममा इनार भेटिएको इन्द्रराज राउतले जानकारी दिनुभयो ।

चार कट्ठा क्षेत्रफलमा पोखरी निर्माण भइरहेको थियो । माछापोखरी खन्नेक्रममा इनार भेटिएलगतै पोखरी निर्माण कार्य तत्कालका लागि रोकिएको छ । पुरातात्वीक विभागले पत्रचार गरेर नै तत्कालकालागि इनार वरिपरि कुनैपनि खालका संरचना नबनाउन भनेपछि पोखरी निर्माण कार्य रोकिएको छ ।

इन्द्रराज राउतका जेठा छोरा वकिल राउतले विभागबाट एउटा टोलीले अवलोकन गरेर फर्कीएपछि निर्माण कार्य रोक्न पत्रचार गरेको जानकारी दिनुभयो । विभागले पत्रमा प्राचिन इनार भएकोले तत्कालकालागि सो क्षेत्रको संरचना यथात नै राख्नु भनि उल्लेख गरेको छ ।

यो इनार गौतमबुद्धको पालाको हुनसक्ने विभागलेसमेत अनुमान गरेको छ । विभागले केहि साताभित्रै उत्खननको कार्यलाई प्राथमिकता दिने तयारी थालेको छ । उत्खननदेखि इनारको संरक्षणकार्यमा सहयोग गर्न रत्ननगर नगरपालिकालाई समेत विभागले आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख नारायण वनले इनार संरक्षणलाई प्रमुख प्राथमिकता दिएर नगरपालिका अगाडि बढ्ने वताउनुभयो । यो विषयमा पुरातात्वीक विभागसँग पटक पटक समन्यव भइरहेकोसमेत जानकारी दिनुभयो ।

इनार भेटिएको ठाउँ थारुबस्ती हो । चितवनको रैथाने बासिन्दाकोरुपमा थारुलाई लिने गरिन्छ । यो वस्तीमा एउटा पनि इनार छैन । पहिला पहिला इनारको पानी खाए मान्छेमर्ने भएकाले इनारको साटो नजिकैको खोलाको पानी पिउनकालागि प्रयोग गर्दै आएको वस्तीका अगुवाहरु बताउँछन् ।

यो इनार अहिलेको नभई धेरै पुरानो हुनसक्ने स्थानीयको अनुमान छ । झण्डै नौं महिना अघि माछापोखरी खन्नेक्रममा इनार भेटिएको भएपनि प्रचार प्रसार नहुँदा यो विषय बाहिर आउन सकेको थिएन ।

तपाईको प्रतिक्रिया