
लखन चौधरी
धनगढी, माघ ११ गते । कैलालीमा मुक्तकमलरीहरुलाई परिचयपत्र वितरण गर्न भन्दै धमाधम फारम संकलन भइरहेको छ । मुक्त कमलरीहरु त्यसबाट उत्साहित भएको बताएका छन् ।
सरकारले मुक्त घोषणा गरेको चार वर्षपछि कमलरीहरुको पहिचानसहितको परिचयपत्र वितरणका लागि फारम संकलन गरिएको हो । २०७० असार १३ गते गते मन्त्रिपरिषद्को बैठकले तराईका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित कमलरीहरुलाई मुक्त घोषणा गर्ने निर्णय गरेको थियो । सोही वर्षको साउन ३ गते कमलरीमुक्त घोषणा गरिएको थियो ।
गत आर्थिक वर्षदेखि बर्दियाबाट परिचयपत्र वितरणको कार्य शुरु भएपनि कैलालीमा भने पुस १७ गतेदेखि तयारी सुरु गरिएको जिल्ला भूमि सुधार कार्यालय कैलालीका प्रमुख लोकराज जोशीले जानकारी दिनुभयो । माघ महिनाभरी फारम संकलनपश्चात फागुनदेखि परिचयपत्र वितरण गर्ने तयारीमा जुटेको जोशीले जानकारी दिनुभयो ।
जिल्लामा २ हजार ७ सय ३८ जना मुक्तकमलरी रहेको सो कार्यालयले जनाएको छ । हाल भूमिसुधार कार्यालय धनगढीमा फारम बुझाउने मुक्तकमलरीहरुको भीड लागेको छ ।
परिचयपत्र वितरणको तयारी शुरु भएपछि मुक्तकमलरीहरु उत्साहित भएका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ हरैया मुक्तकमैया शिविरकी ममता चौधरीले परिचयपत्रबाट आफूहरुको पहिचान हुने भन्दै खुशी व्यक्त गर्नुभयो ।
त्यस्तै, टीकापुर नगरपालिका–२ विजयनगर मुक्तकमैया शिविरकी रामकुमारी चौधरीले पनि परिचयपत्रको लागि फारम दर्ता गराउनुभयो । लामो समय जमिन्दारको घरमा कमलरी बसेको सुनाउँदै उनले परिचयपत्रको आधारमा राज्यले प्रदान गर्ने लक्षित वर्गको सेवा सुविधा उपभोग गर्न पाउनेमा आशा उहाँको छ ।
सबैभन्दा बढी कैलालीमा ३ हजार ३ सय ४९ मुक्तकमलरी मध्ये करिब डेढ सय कमलरीहरुको उद्धार गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले बताएको छ ।
कार्यालय प्रमुख जोशीकाअनुसार परिचयपत्रको आधारमा मुक्त कमलरीलाई क्षमता अभिवृद्धि र सशक्तिकरणको कार्यक्रममा सहभागी गराइने छ ।
तराईका पाँच जिल्लास्थित जिल्ला प्रशासन कार्यालय र कमलरीको क्षेत्रमा काम गर्दैआएको वेस, मुक्त कमैया महिला विकास मञ्च र मुक्त कमलरी विकास मञ्चले संयुक्तरुपमा तयार पारेको तथ्यांकअनुसार १३ हजार ७३ कमलरीहरु रहेका छन् । जसमध्ये अझै ४ सय ४५ कमलरीहरुको उद्धार गर्न बाँकी छ । त्यसमध्ये सबैभन्दा बढी कैलालीमा ३ हजार ३ सय ४९ मुक्तकमलरी मध्ये करिब डेढ सय कमलरीहरुको उद्धार गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले बताएको छ ।
के हो कमलरी प्रथा ?
तराईको पाँच जिल्लास्थित थारूहरुबीच भाषा, रहनसहन, चालचलनमा एकरुपता रहेको पाइन्छ । यी जिल्लाहरुमा थारू समुदायले माघी पर्वलाई नयाँ वर्षकोरुपमा मनाउने गर्दछन् । वर्षभरीको लागि पारिवारिक र गाउँ समाजको योजना बनाउने काम माघीमा नै हुने गर्दछ ।
यसैबीच परिवारको कुन सदस्य कमैया बस्न जाने र कुन बालिका कमलरी बस्नेबारे छिनोफानो हुने प्रचलन थारु समुदायमा यसअघिसम्म रहेको थियो । यसरी अर्काको घरमा काम गर्न जाने ठूला मानिसलाई कमैया र बालबालिकाहरुलाई कमलरी या कमलर भन्ने प्रचलन थियो ।
(लोकान्तरबाट)




