धार्मिक पर्यटकीय सम्भावना बोकेको सुनसरीको चर्चित मन्दिर रामधुनी

लक्की चौधरी

सुनसरी जिल्लाको रामधुनी नगरपालिका ४ प्रकाशपुरको जंगलको मध्यक्षेत्रमा अवस्थित धार्मिक पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो रामधुनी धार्मिकस्थल । जहाँ हरेक रामनवमीको दिन ठूलो मेला लाग्ने गर्छ । झुम्काबजारबाट करिब ७ किलोमिटर उत्तरमा रहेको सो क्षेत्रमा त्रेतायुगदेखि रामधुनीस्थल रहेको छ ।

भगवान रामचन्द्र वनवास गएकाबेला सुनसरीको पवित्र सो क्षेत्रमा आएर एकरात बास बस्दा जलाएको अखण्ड धुनी अद्यापि जलिरहेको विश्वास छ । पूर्वाञ्चलकै प्रसिद्ध तीर्थस्थलकोरुपमा स्थापित रामधुनी मन्दिरमा बाल ब्रह्मचारी पूजारी रहँदैआएका छन् । अहिले त्यहाँका पूजारी काशीदास उदासी (थारु) रहेका छन् ।

रामनवमी, विवाह पञ्चमी, वालाचतुर्दशी र अन्यबेलामा पनि धर्मावलम्बीहरुको घुइँचो लाग्नेगर्छ । नेपाल गुठी संस्थानअन्तर्गत रहेको सो धार्मिकस्थलमा दैनिक धर्मावलम्बीहरु पुग्ने गर्छन् । आन्तरिक तथा बाह्य धार्मिक पर्यटनको पूर्वाञ्चलकै केन्द्रकोरुपमा सो क्षेत्र स्थापित भइरहेको छ ।

वर्षेनी लाखौं धर्मावलम्बीहरु त्यहाँ पुग्नेगरेको पूजारी काशीदास उदासीले बताए । नेपाल, भारत, भूटानका धर्मावलम्बीहरु त्यहाँ आउनेगरेको पूजारी उदासीको भनाई छ । ८७ वर्षिय पूजारी उदासीले आफ्नो पूरै जीवन मन्दिरको पूजापाठमा विताउने प्रतिवद्धता जनाए । जीवनभर सो मन्दिरको संरक्षण र भगवानको पूजापाठमा विताउने मेरो लक्ष्य छ उदासीले भने । उदासी १३ वर्षको उमेरदेखि सो मन्दिरको सेवा गर्दैआएका छन् ।

स्थानीयकाअनुसार भगवान रामचन्द्रले बालेको अखण्ड धुनी कहिलेकाहीं निभ्ने गरेको छ । सो धुनी निभेमा धरानस्थित पिण्डेश्वर मन्दिरमा रहेको अखण्ड दीपबाट प्रज्वलित गर्नुपर्ने परम्परा रहँदैआएको छ । रामधुनीमा बास बसेकाबेला भगवान रामले छाडेको खराउ र रथका पाङ्ग्रा अझै त्यहाँ देख्न पाइन्छ ।

भगवान रामको पाउ स्पर्स भएको यस पवित्र भूमिमा तत्कालिन समयमा ध्यानमा लिन बाबा बनखण्डीले सो अखण्ड धुनीलाई निरन्तर जलाएका थिए । भगवान राम त्यहाँ आउनुअघि नै बाबा (ऋषि) बनखण्डीले धुनी जलाएर तपस्यामा लिन रहँदैआएको किंवदन्ती पनि छ । सो धुनीबाट निस्केको खरानीलाई प्रसादकोरुपमा मन्दिरबाट आगन्तुकलाई दिने प्रचलन छ ।

रामधुनी मन्दिरको दर्शन गर्ने र धुनीबाट जलेको खरानी प्रसादकोरुपमा ग्रहण गर्नाले मनले चिताएको फल प्राप्त हुनेगरेको विश्वास धर्मावलम्बीहरुबीच छ । भगवान राम त्यहाँ आउँदा राजकुमारी विदिन्यूलाई भेटेको जनश्रुती छ ।

सो धार्मिकस्थल रामधुनीमा मुख्यगरी धुनी मन्दिर र दरवार मन्दिर छ । धुनी मन्दिरमा सधैं सालको मूढो सल्काएर राख्ने प्रचलन छ । त्यो जलिरहन्छ र त्यसबाट निस्कने खरानी नै धर्मावलम्बीका लागि मुख्य प्रसाद हो । त्यस्तै, दरवार मन्दिरभित्र शिवलिङ्ग, दुर्गा, चन्द्र र सिंह, बाबा बनखण्डीको मूर्ति राखिएको छ ।

घना सालको जंगलबीचमा अवस्थित सो मन्दिर क्षेत्रमा एकदिन बाबा बनखण्डीले आफ्नो चिम्टा रोपेर सालको रुखलाई आँपको वृक्षमा परिणत गरेका थिए । अहिले मन्दिर परिसरमा ठूलठूला आँपका रुखहरु हेर्न पाइन्छ । साल र आँपका ठूला र पूराना रुखहरु सँगसँगै लहरै रहेका छन् । केही समयसम्म मन्दिर परिसरका आँप र सालका रुख काट्दा रगत आउने गरेको मन्दिरका पूजारी उदासी सम्झिन्छन् ।
मन्दिरको उत्तरी छेउमा पोखरी निर्माण गरिएको छ । सो पोखरीको पानी कहिल्यै नसुक्ने विश्वास गरिन्छ । तर संरक्षणको अभावमा पोखरीको पानी प्रदुषित बन्दैगएको छ ।

प्रख्यात तीर्थस्थल रामधुनीको व्यवस्थापनका लागि हाल रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समिति बनाएर पूर्वाधार निर्माणको काम भइरहेको छ । अहिले सुनसरीको झुम्काबजारदेखि मन्दिर परिसरसम्मको सडक कालोपत्रे गरिएको छ । बाटोको सुविधाले भक्तजनलाई दर्शनकालागि जानआउन सुविधा भएको छ । सो क्षेत्र विवाह र वनभोजका लागि पनि प्रख्यात छ ।

सुरक्षा चुनौतिः
मन्दिर घना जंगलकोबीचमा अवस्थित छ । त्यहाँ आउने धर्मावलम्बीहरुको सुरक्षाको चुनौति छ । मन्दिरको रेखदेख र पूजापाठमा रहेका पूजारीको सुरक्षा र धर्मावलम्बीले चढाएका भेटीको समेत सुरक्षा गर्ने चुनौति रहेको मन्दिरका मुख्य पूजारी काशीदास उदासीले बताउँछन् । घना जंगलकोबीचमा मन्दिर परिसरमा एक्लै पूजारी बस्दा विभिन्न रुप धारण गरेर भूत पिसाचहरु आउनेगरेको र दिउँसै तर्साउने गरेको पूजारी उदासी बताउँछन् । भगवान राम र योगी वनखण्डीले समेत आफ्नो परीक्षा लिनेगरेको बुझाई पूजारी उदासीको छ । तर आफू सानै उमेरदेखि मन्दिरको रेखदेख र पूजापाठ गर्दैआएकाले भगवानको स्मरणले सबै समस्या हल हुनेगरेको उनको अनुभव छ ।

सो धार्मिकस्थलमा टेलीफोन सम्पर्क नहुने हुनाले केही समस्या देखिएको छ । जंगलको बीचमा रहेको सो मन्दिरमा आउनेजाने महिलामाथि दूव्र्यवहार हुने, लुटपाट र चोरीसमेत हुनेगरेको स्थानीयको भनाई छ ।

सुधार्नुपर्ने पाटोः
मन्दिर घनाजंगलको बीचमा रहेकाले बाटो निर्माणसँगै विजुलीबत्तिको जडानको खाँचो छ । मन्दिर परिसरमा टेलिफोन, मोबाइल सेवा जडान गर्न जरुरी छ । जंगलकोबीचमा अवस्थित मन्दिरका सरसामान, घण्टा, त्रिशुल र भेटीहरु समेत चोरी हुनेगरेको सुनिन्छ । महिला दर्शनार्थीहरु दर्शनकालागि जाने वातावरण निर्माण गर्न आवश्यक छ । लुटपाट तथा महिलामाथि बलात्कारका घटनासमेत हुनेगरेको स्थानीयले बताउँछन् । दर्शनाभिलाषीको भौतिक सुरक्षा तथा मन्दिरको पूर्वाधारको संरक्षण र सम्बद्र्धनमा ध्यान दिन जरुरी छ । मन्दिर आफैमा पवित्र धार्मिकस्थल भएकाले मन्दिर परिसरमा सरसफाई हुन अनिवार्य हुन्छ । तर त्यहाँ सरसफाईमा खासै ध्यान दिन नसकेको धर्मावलम्बीहरुको बुझाई रहेको छ ।

धर्मावलम्बीकालागि स्नान गर्ने मन्दिरको उत्तर–पश्चिममा सानो खोला रहेको र त्यसलाई स्नानकालागि व्यवस्थित बनाउन सकिएको छैन । मन्दिरको छेउमै रहेको पोखरीको सरसफाई र त्यसको व्यवस्थापनको खाँचो अझै छ । दर्शनकालागि आउने दर्शनाभिलाषीकालागि व्यवस्थित खानेपानी र शौचालयको व्यवस्था हुन सकेको छैन । मन्दिरमा चढ्ने भेटी (दक्षिणा) को पारदर्शीताको खाँचो रहँदैआएको छ । जुन अद्यापि व्यवस्थापन गर्न सकिएको छैन । रामधुनी पूर्वाञ्चलकै प्रख्यात धार्मिकस्थल रहेपनि त्यसको प्रचारप्रसार गर्न सकिएको छैन । सो क्षेत्रको उचित प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको बृद्धि गर्न सकिन्छ ।

शब्द र तस्विरः लक्की चौधरी

तपाईको प्रतिक्रिया