प्रियासनको ‘सहनशीला’मा योवन प्रेमको गाथा

पुस्तक समिक्षा


उपन्यासकार सविन ‘प्रियासन’ चौधरी नेपाली आख्यान लेखनमा चर्चित नाम हो । यसअघि तीनवटा उपन्यास प्रकाशित गरी उनले साहित्यिक वाङ्मय क्षेत्रमा स्थान बनाइसकेका छन् । यसअघि पल्लवी, पुनरागमन, भूमरी, रोदनपछिको..शीर्षकका उपन्यास उनको प्रकाशित छन् । त्यस्तै, सपनाभित्रको सपना नामक कथा संग्रह पनि उनको प्रकाशन भइसकेको छ । पत्रकारिता मूल पेशा बनाएका लेखक तथा आख्यानकार प्रियासन साहित्यिक रचना सिर्जना आफ्नो रुचीको विषय बताउँछन् । करिब दशकदेखि पत्रकारिता पेशामा जमेका प्रियासनले दाङको घोराहीबाट गणतन्त्र नामक दैनिक पत्रिका प्रकाशन गर्दैआएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको सभापतिको समेत जिम्मेवारी निर्वाह गरिसकेका प्रियासनले मूल पेशा पत्रकारितालाई बनाए पनि फुर्सदिलो समय साहित्यिक सिर्जनामा विताउँछन् । पत्रकारिताको समाचारमार्फत मात्र नभई साहित्यिक रचनामार्फत पनि समाजलाई सचेत बनाउनुपर्छ भन्ने उनको मुख्य ध्येय देखिन्छ । त्यहीभएर उनी पत्रकारिता पेशामा रहँदारहँदै पनि नेपाली साहित्यको श्रीबृद्धिकालागि तल्लिन छन् ।

सहनशीला उनको पछिल्लो उपन्यास बजारमा आएको छ । एक योवन युवा युवतीको प्रेम र पारिवारिक कठिनाईको विषयलाई मुख्य कथावस्तु बनाएर उपन्यासकार प्रियासनले उपन्यास सिर्जाएका छन् । उनको यो उपन्यासभित्रको कथा तपाई हाम्रो आफ्नै कथा, लेखक स्वयम्को कथाजस्तो अनुभूत गराउँछ । मानिसको जीवनमा आइपर्ने वास्तविक कथालाई उपन्यासमा उन्ने प्रयास लेखकले गरेका छन् । त्यही कथाको जीवन्तताले कृतिलाई वजनदार र परिस्कृत बनाएको छ ।

मानिस आफू स्वय्ममा पूर्ण प्राणी हो । भगवानले मानिसले सबैचिज पुर्याएका छन् । तर पनि मानिस आफूसँग कहिल्यै पूर्णतः सन्तुष्ट     हुँदैन । आफूसँग सबै खुशी छँदाछँदै थप खुशीकालागि मान्छे यताउता भौतारिन्छ । आफूसँगको खुशीलाई चिन्न नसक्दा व्यर्थमै दुःख  पाउँछ । आफ्नो खुशीलाई चिन्न नसक्दा, उपयोग गर्न नसक्दा बेकारमा कैयौंको जीवन धरापमा पर्नेगर्छ । समयमा होस पुर्याउन नसक्दा पछुताउनु पर्दाको विषयलाई यस उपन्यासले उजागर गरेको छ । संयोगान्तबाट शुरुभएको उपन्यास बीचमा गएर वियोगान्तमा पुग्छ र अन्ततः फेरि संयोगान्तमा पुगेर उपन्यासकारले आफ्नो कृतिको बिटमार्ने काम गरेका छन् । घरमा आफ्नो अप्सराजस्ती श्रीमती भएपनि पुरुषले जहिले परपुरुषकी श्रीमतीलाई राम्री देख्ने र अरु केटीसँग लहसिन खोज्ने चरित्रको उपन्यासले उदाङ्गो बनाएको छ । जातभातको कुराले अनावश्यक पारिवारिक कलह निम्त्यिाउने सन्देश प्रवाह कृतिले गरेको छ ।

घरमा आफ्नो अप्सराजस्ती श्रीमती भएपनि पुरुषले जहिले परपुरुषकी श्रीमतीलाई राम्री देख्ने र अरु केटीसँग लहसिन खोज्ने चरित्रको उपन्यासले उदाङ्गो बनाएको छ ।

उपन्यासकार प्रियासनको आफ्नै जीवनमा आधारित यो उपन्यासको कथावस्तुले पनि उनकै परिवारको विषयलाई उठाउने प्रयास गरेको देखिन्छ । प्रियासन बुवा थारु समुदायका हुन् । तर आमा नेवार समुदायका । तर उनले विवाह ब्राह्मण समुदायका केटीसँग गरेका छन् । सहनशीला ब्राह्मण समुदायकी एक पात्र हुन् । सहनशीलासँग प्रेम सम्बन्ध हुँदा उनले आफूलाई नेवारको छोरा भनेका रहेछन् । सहनशीलाले नेवारको छोरा भनेर प्रेम गर्छिन् र पछि विवाह गर्छिन् । पछि विस्तारै प्रियासन थारु समुदायको केटा भएको थाहा पाएपछि सहनशीला आफू ठग्गिएको महशुस गर्छिन् । घरपरिवार, आफन्तजनले के भन्लान भनेर उनको मन भित्रभित्रै भुटभुटिन्छ । प्रियासनले सबै कुरा आफूलाई नभनेर धोका दिएको उनले ठान्छिन् । पारिवारिक जीवनमा द्वण्द्व सिर्जना हुनुको एउटा कारण उपन्यासमा यही हो । अर्को, सहनशीला र प्रियासनबीच टकराव भएपछि उनी रमिला नामक अर्की केटीको मायाजालमा पर्छन् । रमिलालाई औधी माया गर्छन् । त्यो कुरा सहनशीलाले थाहा पाउँछिन् । उनको घर परिवार र गाउँलेले समेत थाहा पाउँछन् । जसकाकारण सहनशीला र प्रियासनबीच झगडा हुन्छ । मनमुटाव र नैराश्य हुन्छ । कैयौं दिन प्रियासन घर छाडेर बाहिर सुत्ने अवस्था सिर्जना हुन्छ । त्यसले पारिवारिक दुःख र चिन्ता बढाउँछ ।

जातभात र उचनिच जातको व्यर्थको संकुचित सोचाईकाकारण सहनशीला आफूले दुःख पाएको अन्त्यमा महुशस गर्छिन् । रमिलाले पनि प्रियासन र सहनशीलाको पारिवारिक जीवनमा आफू आएर परिवार नै समस्या परेको थाहा पाएर अर्को केटासँग विवाह गर्छिन् । त्यसपछिमात्र प्रियासन र सहनशीलाको जीवनमा पुनः खुशी र माया फर्किन्छ । उनीहरुको एउटा छोरा हुन्छ । त्यही छोराको माया र भरोशाले उनीहरुको पारिवारिक जीवन खुशी र सौन्दर्यमय पार्छन् । बीचमा बाटो विर्सेर पारिवारिक सुखमा कलह आएको दुवैले स्वीकार्छन् र अवदेखि त्यसो नगर्ने वाचासहित नयाँ जीवनको सुरुवात गर्छन् । मुख्यतः उपन्यासको सार यही हो । बाँकी जीवन भोगाइका क्रममा आएका अनेक कठिनाई, पीडा, तनाव, चुनौति र जीवन भोगाइकाक्रममा सहनशीला र प्रियासनबीचको गाढा प्रेम र सम्बन्धलाई पनि उपन्यासमा देखाइएको छ । युवावस्थाका पाठकले बढी रुचाउने कथावस्तु समेटिएको उपन्यासकार प्रियासनको सहनशीला उपन्यास प्रस्तुतीको हिसावले पठनीय  छ ।

कृतिः  सहनशीला (उपन्यास)
लेखकः सविन प्रियासन चौधरी
प्रकाशनः २०७४
प्रकाशकः ब्रदर बुक्स प्रकाशन प्रा.लि., काठमाडौं ।
पृष्ठः १९१
मूल्यः २६०

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया