महिला उत्थान समाजको तीन दिने महिला नेतृत्व विकास तालिम सम्पन्न


सुनिल चौधरी
झुम्का, बैशाख १९ गते । महिलाहरुमा नेतृत्व क्षमता अभिबृद्धि गर्दै महिला शसक्तिकरणकालागि आयोजित तीन दिने नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ ।

थारु महिला उत्थान समाज रामधुनीको आयोजनामा भएको तालिम रामधुनी १ को सहयोगमा भएको थियो । सो तालिममा नेतृत्वको बारे महिला अधिकार, भुमिका, मन्तब्य दिन सक्ने कला,उदघोषण र स्वास्थय सम्बन्धि जानकारी गराइएको आयोजकले बताएको छ ।

समापनमा वडा अधयक्ष महेश चौधरीले तालिममा सहभागी सबैलाई प्रमाणपत्र हस्तान्तरण गर्दै तालिमले महिलाहरुमा नेतृत्व क्षमताको बिकास भएको विश्वास व्यक्त गरे । समाजका हरेक गतिविधिमा महिलाहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै चौधरीले त्यसकालागि तालिम र प्रशिक्षणको आवश्यकता रहेको बताए ।

तालिम समापन गर्दै उत्थान समाजकी अध्यक्ष सीता चौधरीले राज्यले अधिकार दिए पनि गाउँघरका महिलाहरुमा चेतनाको अभावले अवसरको सदुपयोग हुन नसकेको बताइन् । अवसरको खोजी गर्न नसकेकाले महिलाहरु जहाको त्यही रहेको पनि उनको धारणा थियो । नेतृत्व विकास तालिमले सहभागी महिलाको सशक्तिकरणमा सहयोग पुगेको विश्वास उनले गरिन् ।

आफनो समस्या आफैले राख्न नसक्नु, डराउनु, महिलाहरुमाथी हिंसा भएपनि गुपचुप राख्नु, सभा सम्मेलनमा बोल्न लजाउनु आदि कारणले महिलाहरुमा बिभेद र अपराधजन्य घटनाहरु घटनेगरेको अध्यक्ष चौधरीले बताइन् । तालिमले महिलामा चेतना ल्याई जागरुक बनाउनमा सहयोग गरेको उनले तर्क गरिन् ।

तालिममा अभिनारायण भट्टराई, झुम्का स्वाथ्य चौकी ईन्चार्ज प्रशुराम साह, महिला तथा बालबालिका रामधुनी शाखा प्रमुख मोनाश्री आचार्यले सहजीकरण गरेका थिए । तालिममा करिब २५ जनाको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया