
काठमाडौं, जेठ १८ गते । सामुदायिक वन संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) का पूर्व केन्द्रीय सदस्य तथा प्रदेश ७ का प्रदेशसभा सदस्य चुनकुमारी चौधरी र प्रतिनिधिसभा सदस्य नीरा जैरुलाई सम्मानित गरिएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले दुवैलाई एक कार्यक्रमकाबीच शुक्रबार सम्मानित गर्नुभयो ।
सम्मानित चौधरी २०५१ देखि सामुदायिक वन संरक्षण तथा प्रवद्र्धनमा भूमिका निर्वाह गर्नुभएको थियो । केन्द्रीय सदस्यको समेत जिम्मेवारी निर्वाह गर्नुभएकी चौधरी २०६८ मा वन आन्दोलनका क्रममा एकदिन हिरासतमा समेत पर्नुभयो । सो अवसरमा वन तथा वातावरणमन्त्री बस्नेतले वन संरक्षण तथा स्वच्छ वातावरण निर्माणमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले खेलेको भूमिका प्रसंशनीय रहेको बताउनुभएको छ ।
फेकोफनको २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले त्यस्तो बताउनुभयो । “वन संरक्षणकालागि फेकोफनले खेलेको भूमिका महत्वपूर्ण छ, आवश्यक नीति नियम बनाउनमा समेत फेकोफनको सहयोगी भूमिका छ” उहाँले भन्नुभयो । मन्त्रालयले फेकोफनसँग सहकार्यगरी अघि बढ्न सदैव तयार रहेको उहाँले प्रतिवद्धता जनाउनुभयो ।
वन मन्त्रालयले जहिले जनताको हितमा काम गर्न प्रतिवद्ध रहेको र त्यसमा फेकोफनजस्ता संघ संस्थाको सहयोग अपरिहार्य रहेको बताउँदै मन्त्री बस्नेतले वन संरक्षणसँग नागरिकको जीवन गाँसिएको चर्चा गर्नुभयो ।
फेकोफनका अध्यक्ष गणेश कार्कीको अध्यक्षतामा भएको उदघाटनसत्रमा महासचिव भारती पाठक, भीम प्रकाश खडका, सम्मानित व्यक्तित्वहरु चौधरी, जैरु र मन्त्रालयका प्रतिनिधिहरुले वन संरक्षणमा सामुदायिक वनको सक्रियता र भूमिकाको प्रसंशा गर्नुभएको थियो । फेकोफनको कार्यक्रम शनिबारसम्म चल्ने सम्मानित चौधरीले बताउनुभयो ।




