उपन्यासकार मुना चौधरीको जयवर्धन सलहेशमा आत्मिक–प्रेमको गाथा

पुस्तक समिक्षा


मुना चौधरी नेपाली साहित्यिक फाँटकी फक्रिन लागेकी मुना हुन् । विशेषगरी थारु साहित्यमा स्थान बनाउने प्रयासमा रहेकी लेखिका मुनाले पहिलो कृतिकोरुपमा ‘जयवर्धन सलहेश’ उपन्यास लिएर आएकी छिन् । अध्ययन र अध्यापन पेशामा रहेकी उपन्यासकार चौधरीले थारुको ऐतिहासिक तथा पौराणिक विषयलाई समेटेर उपन्यासलाई पुस्तकाकार दिएकी छिन् ।

जयवर्धन सलहेश मुख्य पात्रकारुपमा उपन्यासमा छन् । उनको यो कृति ‘मिथक’ हो । थारु पूर्खाहरुले सुनाउने गरेका सलहेशको वीरगाथा र कर्तव्यको पाटोरुपी किंवदन्तीलाई लेखिका चौधरीले यस उपन्यासमा उतारेकी छिन् । पौराणिककालमा थारुको आफ्नै गणराज्य थिए । तराईका विभिन्न ठाउँमा थारु राजाले गणराज्य सञ्चालन गरेका थिए भन्ने प्रमाणहरुको खोजी जारी छ । केही प्रमाण फेलापरेका पनि छन् । दाङमा दंगीशरण राजाले गणराज्य चलाएको सिक्का नै भेटिएको छ । त्यस्तै, यस उपन्यासमा लेखिकाले जयवर्धन सलहेश सेनापतिको भूमिकामा रहेको गणराज्य पनि कुनै थारु राजाले सञ्चालन गरेको विषयलाई उठाउन खोजेकी छिन् । यद्यपि लेखिकाले जयवर्धनलाई यस उपन्यासमा एउटा ‘दलित पात्र’ भएर पनि साहसिक, ज्ञान र कला कौशलले निपूर्ण पात्रकोरुपमा स्थापित गरेकी छिन् ।

उपन्यासमा लेखिकाले जयवर्धन सलहेश सेनापतिको भूमिकामा रहेको गणराज्य पनि कुनै थारु राजाले सञ्चालन गरेको विषयलाई उठाउन खोजेकी छिन् ।

सिराहा जिल्लाको महिसोथास्थित खुकठा गाउँमा पाँचौ शताब्दीमा सोमन तरेगना गोविन्दपुरगढका हिन्दूपति राजा थिए । त्यही राजाका सेनापति थिए भैरव गोपाल । भैरव गोपालका छोरा थिए जयवर्धन सलहेश । उपन्यासमा लेखिका चौधरीले सलहेशलाई ‘म’ पात्रकोरुपमा प्रस्तुत गरेकी छिन् । उनकै दिनचर्या, काम र गतिविधिलाई उपन्यासमा उतारिएको छ । सलहेशलाई साथ दिएका छन् राजाका सातजना राजकुमारी र अन्य गणका राजकुमारीहरुले । सलहेशको वीरता, इमान्दारिता, कुशलता र कर्तव्य परायणताबाट प्रभावित भएर राजकुमारीहरुको एकतर्फी प्रेम (आत्मिक प्रेम) लाई उपन्यासमा उतारिएको छ । त्यही प्रेम र कर्तव्यको वरिपरि उपन्यासको विषयवस्तु घुमेको छ । राजाकालागि सेनापति पद जसरी प्रमुख पदकोरुपमा रहन्छ, त्यसैगरी सो पदमा रहेको पात्रले आफ्नो इमान्दारिता र कुशलताको प्रदर्शनले राजकाज सफल हुन्छ भन्ने सन्देश उपन्यासमा दिइएको छ । सलहेशको कर्तव्यनिष्ठता र कार्यकुशलताले गोविन्दपुरगढको राजकाज सफल भएको सन्देश उपन्यासमा दिन खोजिएको छ । यद्यपि उपन्यासभरी सलहेशको प्रेम र राजकुमारीहरुको एकतर्फी प्रेमको कहानीलाई पुस्तकको शुरुदेखि अन्तिमसम्म चित्रण गरिएको छ । जसले उपन्यासलाई पठनीय बनाएको महुशस हुन्छ ।

गोविन्दपुरगढका हिन्दूपति राजाका सात छोरी (राजकुमारी) रेश्मा, कुश्मा, हिरिया, जिरिया, पनमा, फूलवा र दौना थिए । सेनापति भैरव गोपालका एकमात्र छोरा जयवर्धन सलहेश थिए । एकै उमेर समूहका भएकाले सानैदेखि सँगै खेल्ने गर्थे उनीहरु । कहिले घोप्पा खेल्थे त कहिले लुकीचोरी कन्यापुतली खेलहरु खेल्थे । बाल्यकालदेखिको बालसखाकोरुपमा रहेका उनीहरु जवान भएपछि सातजना राजकुमारीहरु एकतर्फी प्रेम गर्न पुग्छन् सलहेशलाई । सबैले प्रेम प्रस्ताव गर्छन् तर जयवद्र्धन सलहेश सोही गढका सेनापति भएकाले राजकुमारीहरुको प्रेम प्रस्ताव स्वीकार गर्न सक्दैनन् । राजाप्रति बेइमानी हुने भन्दै उनले आफ्नो प्रेमलाई मनभित्रै दवाएर राख्छन् । यद्यपि उनी राजकुमारीहरुको सुरक्षाको प्रमुख भूमिकामा रहन्छन्, मनमनै प्रेम पनि गर्छन् तर राजकुमारीहरुको प्रेमलाई स्वीकार्न सक्दैनन् । पदीय मर्यादा र कर्तव्यनिष्ठाकै कारण उनले आफ्नो प्रेम लिलाम गर्छन् । पकडियागढका राजा कुलेश्वरका छोरी चन्द्रावती पनि सलहेशलाई एकतर्फी प्रेम गर्न पुग्छिन् । उनको प्रेममा परेर आजीवन विवाह नगरी आफ्नो प्रेमलाई अमर बनाउने आत्मिक प्रेम गरेको विषय उपन्यासमा लेखिकाले उठान गरेकी छिन् ।

समाज परिवर्तनको योगदानले जयवर्धनलाई सलहेशको उपनाम दिइएको थियो । सलहेशलाई आठजना राजकुमारीले एकतर्फी प्रेम गर्थे तर सलहेशले उनीहरुको प्रेमलाई साकार रुप दिएनन् ।

खासमा जयवर्धनको उपनाम थियो सलहेश । शुभकाम गर्नेलाई सलहेश भन्ने गरिन्छ । जयवर्धनको काम र कुशलताले उनको उपनाम सलहेश राखिएको थियो । पछि उनी त्यही नामबाट परिचित भए । समाजमा विद्यमान विकृति विसंगतिको अन्त्यगरी समाज रुपान्तरणमा प्रमुख भूमिका निर्वाह गरेका कैयौं उदाहरण उपन्यासमा चर्चा गरिएको छ । उनको सोही समाज परिवर्तनको योगदानले जयवर्धनलाई सलहेशको उपनाम दिइएको थियो । सलहेशलाई आठजना राजकुमारीले एकतर्फी प्रेम गर्थे तर सलहेशले उनीहरुको प्रेमलाई साकार रुप दिएनन् । वल्की उनले विहार राजाकी छोरी सत्यावतिसँग विवाह गरे । राजा हिन्दूपतिको निर्णयकाकारण उनले सत्यावतिसँग विवाह गर्न बाध्य भए । भुटानी राजासँगको लडाईकाक्रममा उनले सत्यावतिलाई रणभूमिमै फेला पारेका थिए । उनलाई जोगाएर दरवार ल्याएपछि राजा हिन्दूपतिले सत्यावतिलाई आफ्नै छोरीको दर्जा दिएर सलहेशको विवाह उनीसँग गराउने निर्णय सुनाएका थिए । सलहेशले राजाको निर्णयलाई अकस्मात र एकतर्फी रहेको ठहर गरेपनि सेनापतिको हैसियतले प्रस्ताव नकार्न सकेनन् । आखिरमा सत्यावतिसँग विवाह गरे । उनको विवाह सत्यावतिसँग भएपछि राजकुमारीहरु सलहेशलाई एकतर्फी र अमर प्रेम गर्ने निर्णय सुनाएका थिए । आजीवन विवाह नगर्ने निर्णयसहित ।

उपन्यासमा चोहरमल खल पात्रकोरुपमा प्रस्तुत गरिएका  छन् । राजा कुलेश्वरको सेनापतिको भूमिकामा समेत रहेका चोहरमल सलहेशको यश र नामले जल्थे ।

उपन्यासमा चोहरमल खल पात्रकोरुपमा प्रस्तुत गरिएका छन् । राजा कुलेश्वरको सेनापतिको भूमिकामा समेत रहेका चोहरमल सलहेशको यश र नामले जल्थे । पछि राजा कुलेश्वरले चोहरमललाई सेनापतिको दर्जाबाट हटाएर सलहेशलाई शान्ति सुरक्षाको जिम्मा दिएपछि त झन उनी बदला लिने दाउमा लागे । सलहेश काम विशेषले बाहिर गएकाबेला चोहरमलले राजकुमारीको आभूषण र लगाएको गहनासमेत फुकालेर राती चोरी गरेका थिए । सो घटनापछि राजकुमारी चन्द्रावतिको कुमारीत्वमा समेत प्रश्न उठेको थियो । धेरै मेहनत र परिश्रमले सलहेशले चोहरमललाई परास्त गरी चन्द्रावतिको कुमारित्व कायम रहेका पुष्टि गरेका थिए । सेनापति सलहेशको इमान्दारिता, सक्रियता र कार्यकुशलताले गोविन्दपुरगढका जनताले सुखी अनुभूति गरेका थिए । सबैलाई न्याय र समानताको अनुभूति गराइएको थियो । उपन्यासले यही विषयलाई मुख्यरुपमा उठाएको छ । लेखिका चौधरीको यो कृति पहिलो भएपनि पठनीय र संग्रहणीय छ ।

कृतिः जयवर्धन सलहेश (उपन्यास)
लेखकः मुना चौधरी
प्रकाशनः २०७४ भदौ
प्रकाशकः सांग्रिला पुस्तक प्रा.लि. काठमाडौं ।
पृष्ठः ३२२
मूल्यः ३७५।–

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया