इन्द्र थारुले आफ्नै श्रीमती गर्भा चौधरीको ज्यान लिए


लम्की (कैलाली) असार २१ गते । कैलालीको लम्कीचुहा नगरपालिका २ प्रतापपुरमा श्रीमानको कुटाईबाट श्रीमती गर्भा चौधरीको मृत्युभएको छ । बुधबार राति ९ बजे स्थानीय ३३ वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएपछि इन्द्र चौधरीले छिमेकीहरुलाई आफ्नी श्रीमती रक्सी सेवन गरेर घर छेउको सडकमा लड्दा मृत्यु भएको जानकारी दिएका थिए । विहीबार विहान वडाअध्यक्षले प्रहरीमा जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटना शंकास्पद लागेपछि इन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

मृतकका छोराछोरीसंग बुझ्दा गएराति बाबुले रक्सी खाई आमालाई कुटपिट गरेको बताएका प्रहरी उपरीक्षक घिमिरेले बताए । बच्चाले लौरोले हिर्काएको बताएका थिए । मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया