होमस्टे सञ्चालनमा थारु आकर्षित, आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो


भगतराम थारु
नेपालगञ्ज, साउन ११ गते । बाँके राष्ट्रिय निकुन्ज नजिकैको गाउँमा पर्ने गाभर भ्याली होमष्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो बढ्न थालेपछि स्थानीय गाउँबासीहरु लाभान्वित भएका छन् । थप होमस्टे सञ्चालनको तयारी गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बैजनाथ गाउँपालिका १ गाभरको पर्यापर्यटकिय क्षेत्रमा पर्ने गाभर भ्यालीमा पर्यटकहरुको आकर्षक बढ्दै गएको छ । गाभर भ्याली होमस्टे पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेपछि स्थानियहरु होमस्टे संचालनमा आकर्षित हुन थालेका छन् ।

गाभर भ्याली वरिपरि निकुञ्ज क्षेत्र भएकाले पैदलयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र नमुनाको रुपमा समेत चिनिदै आएको गाभर भ्यालीका स्थानिय बताउँछन् । गाभर भ्यालीमा दङगाली होमस्टे र नमुना थारु गाउँ होमस्टे संचालनमा छन् । पारिवारिक बसाइ र थारु परिकारका साथै बासस्थानको लागि सुविधा सम्पन्न होमस्टे संचालन गरिरहेको दङगाली होमस्टेका संचालक बुझावन थारुले बताउनुभयो ।

होमस्टेमा विशेष थारु परिकारका सम्पुर्ण परिकार जस्तै, अनदिको भात, सिद्रा, ढिक्री, घोंघी, गंगटा, परेवाको मासु, झिगे माछा, अनदीको रोटी, फुलौरी मौसम अनुसारको फलफुल र सागसव्जीहरु यहाँका लोकप्रिय परिकार रहेको संचालक बुझावन थारुले बताउनुभयो ।

नेपालगन्जदेखि करिव २३ किलोमिटर दुरीमा रहेको उक्त होमस्टेमा स्थानिय तथा वाहिय पर्यटकहरु समेत आउने गरेको होमस्टे संचालकहरुले बताएका छन् । होमस्टेकै वरिपरि चुरे पहाडसँगै जोडिएको हुनाले सधैंभरि हराभरा र हरियाली मौसमले पर्यटकलाई लोभ्याउँछ ।

पर्यटकको मागअनुसार स्थानीय थारु संस्कृति नाचगान समेत देखाउने गरिएको संचालक थारुले जानकारी गराउनुभयो । होमस्टेमा पाहुनालाई सेवा सत्कार गर्नेक्रम दिनप्रतिदिन वृद्धि भइरहेको थारुले बताउनुभयो । अहिलेसम्म २ वटा मात्रै होमस्टे संचालनमा रहेको गाभर भ्यालीमा दशैयता ५ वटा होमस्टेको विस्तार गरी सामुदायिक होमस्टे संचालन गरिने लक्ष्य रहेको दङगाली होमस्टेका संचालक बुझावन थारुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया