सञ्चय कोषको कर्जा असुलीको नयाँ रणनीति, अरवौं रकम उठ्न बाँकी


लक्की चौधरी
काठमाडौं, साउन १३ गते । कर्मचारी सञ्चय कोष कार्यालयले विभिन्न चार शीर्षकमा कर्जा लगानी गरेको व्याज बापतको अरवौं रुपैयाँ रकम उठ्न बाँकी रहेको बताएको छ । हरेक तीन महिनामा तिर्नुपर्ने किस्ताअनुसार ऋण लिएकाहरुले समयमा व्याज नतिरेपछि सो कार्यालयले कार्यालय भेटघाट, घरदैलोको नयाँ रणनीति अख्तियारी शुरु गर्न थालेको हो ।

सञ्चय कोष कार्यालय ऋण असुली महाशाखाका प्रमुख सागरकुमार सिंहले गत आर्थिक वर्षमा छिटपुटरुपमा ऋण असुलीकालागि कार्यालय भिजिटको कार्यक्रम रहेपनि यस आर्थिकवर्षबाट त्यसलाई तदारुकतासाथ अगाडि बढाउने बताउनुयभो । हरेक तीन महिनामा सञ्चय कोषका कर्मचारीले कार्यालयमा भेटघाट गरेरै तिर्नुपर्ने साँवा व्याज रकमबारे जानकारी गराउने र त्यति गर्दापनि रकम नतिर्नेको घरदैलो गर्ने, घरजग्गा लिलामी, कालोसूचीमा राख्ने तयारी शुरुभएको प्रमुख सिंहले जानकारी दिनुभयो ।

घरदैलो कार्यक्रमको कार्यालयमा तयारी गरिएको र साउन महिनाबाटै त्यसको शुरुवात गर्ने ऋण असुल महाशाखाले जनाएको छ । यसअघिसम्म घरदैलो कार्यक्रम नगर्दा आशा गरेअनुरुप व्याज उठ्न नसकेको ठहर गर्दै सञ्चय कोष कार्यालयले घरदैलो कार्यक्रम र लिलामीको कार्यक्रम पहिलो पटक शुरु गर्न लागेको महाशाखा प्रमुख सिंहले जानकारी दिनुभयो ।

सञ्चय कोषले घरसापटी, सरल कर्जा, शैक्षिक कर्जा र घर मर्मत शीर्षक गरी चार शीर्षकमा कर्जा प्रवाह गर्नेगरेको छ । सोमध्ये सबैभन्दा वढी कर्जा प्रवाह घर सापटीमा गएको सो कार्यालयले बताएको छ । ऋण असुली शाखाका प्रमुख अर्जुनप्रसाद उपाध्यायकाअनुसार आर्थिक वर्ष २०७३÷७४ र आ.व. २०७४÷७५ मा गरी अरवौं रुपैयाँ बरावरको व्याज रकम उठ्न बाँकी छ । त्यसकालागि कार्यालयको तर्फबाट पत्रपत्रिकामा सूचना प्रकाशन, फोन, चिठी, इमेल मार्फत ऋणीहरुलाई जानकारी गराउँदासमेत ऋण तिर्नमा आलटाल भएको उहाँले बताउनुभयो ।

ऋणको व्याज असुलीमा समस्या देखिएपछि सञ्चय कोष कार्यालयको आर्थिक सन्तुलनमा समेत प्रभाव परेको बताउँदै प्रमुख उपाध्यायले यसै आ.व.को साउनदेखि ऋण लिएकाहरुको कार्यालय भिजिट, घरदैलो कार्यक्रम शुरु गर्न लागिएको उपाध्यायले बताउनुभयो । कर्मचारी सञ्चयकर्ताको सुविधाका लागि कम प्रतिशतमा व्याज निर्धारण गरिएको र व्याज तिर्ने किस्ता पनि तीन–तीन महिनाको सहुलियत दिइएको उहाँले बताउनुभयो । तर धेरै सुविधा पाएर कर्मचारीहरु वेवास्ता गरेको उहाँले गुनासो गर्नुभयो ।

महाशाखा प्रमुख सिंहकाअनुसार आ.व. २०७३÷७४ मा घरसापटी तर्फ २० अर्व ९९ करोड ९८ लाख ३९ हजार ३३६ रुपैयाँ सञ्जयकोषले कर्जा प्रवाह गरेको थियो । सोही शिर्षकमा आ.व. २०७४÷७५ मा ९ अर्व १ करोड ९० लाख ७५ हजार ३४० कर्जा प्रवाह भएको थियो । तर गत असार मसान्तसम्म सो मध्ये १ अर्व ८२ करोड रुपैयाँ मात्र मुल्तबी व्याज उठेको उहाँले जानकारी गराउनुभयो ।

त्यस्तै, शाखा प्रमुख उपाध्यायकाअनुसार सरल कर्जातर्फ २०७३÷७४ मा २ अर्व ८ करोड ४२ लाख ५० हजार ७७५ रुपैयाँ र २०७४÷७५ मा सोही शीर्षकमा २ अर्व ३ करोड ७४ लाख ७७ हजार ८५ रुपैयाँ कर्जा प्रवाह भएको छ । सो मध्ये १९ करोड ३५ लाख ७८ रुपैयाँ मात्र व्याजबापत असुल भएको छ ।

यस साउन महिनादेखि घर सापटीमा ९.७५ प्रतिशत, सरल चक्र कर्जामा १०.२५ प्रतिशत, शैक्षिक कर्जामा ९ः७५ प्रतिशत र घर मर्मतमा ९ः७५ प्रतिशत व्याज निर्धारण गरेको छ । सञ्चयकोष कार्यालयले हरेक तीन महिना (असोज, पुष, चैत र असार मसान्त) मा व्याज तिर्नुपर्ने समयावधि निर्धारण गरेको छ ।

सोहीअनुसार शैक्षिक कर्जातर्फ आ.व. २०७३÷७४ मा ६५ करोड १९ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह भएको सो कार्यालयले जनाएको छ । त्यस्तै, आ.व. २०७४÷७५ मा सोही शीर्षकमा १८ करोड ४ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह भएको छ । सो मध्ये ६ करोड ५ लाख ९ हजार रुपैयाँ मात्र व्याजबापत उठेको शाखा प्रमुख उपाध्यायले बताउनुभयो ।

त्यस्तै, घर मर्मततर्फ आ.व. २०७३÷७४ मा ४४ करोड २ लाख ९४ हजार रुपैयाँ र आ.व. २०७४÷७५ मा ५ करोड ८८ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह भएको थियो । त्यसमध्ये व्याज मार्फत उठेको रकम जम्मा ३ करोड ४१ लाख ३९ हजार मात्र हो । कर्जा लगानी ठूलो मात्रामा भएपनि असुल निकै न्यूनमात्रामा भएको भन्दै सो कार्यालयले असुलको नयाँ रणनीति शुरु गर्ने तयारी गरेको हो ।

सो कार्यालयले यस साउन महिनादेखि घर सापटीमा ९.७५ प्रतिशत, सरल चक्र कर्जामा १०.२५ प्रतिशत, शैक्षिक कर्जामा ९ः७५ प्रतिशत र घर मर्मतमा ९ः७५ प्रतिशत व्याज निर्धारण गरेको छ । सञ्चयकोष कार्यालयले हरेक तीन महिना (असोज, पुष, चैत र असार मसान्त) मा व्याज तिर्नुपर्ने समयावधि निर्धारण गरेको छ ।

ऋण लिईसकेपछि ऋण तिर्नुपर्ने हरेक ऋणीको दायित्व भएपनि कतिपयले ऋण तिर्नमा आनाकानी गरेको ऋण असुली शाखाका प्रमुख उपाध्यायले गुनासो गर्नुभयो । समयमै व्याज रकम असुलउपर नहुँदा सञ्चयकोषको समग्र आर्थिक सन्तुलनमा प्रभाव पर्ने र सञ्चयकर्तालाई समेत प्रभाव पर्नेगरेको उहाँले बताउनुभयो । सञ्जयकोषको लगानी उठ्न नसकेपछि अरु कर्मचारीलाई कर्जा प्रवाहमा कठिनाई भइरहेको उहाँले प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया