नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाईमा

विचार (विश्लेषण)

महेन्द्रबहादुर पाण्डे

नेपाल र चीन दुईटा छिमेकी र घनिष्ट मित्रराष्ट्र हुन् । नेपाल र चीनको कुरागर्दा भूगोल, जनसंख्या, विकास, अर्थतन्त्रको हिसावले हामीबीचमा भिन्नता छ । तर सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका हिसावले दुवै देश समान छौं । किनभने सार्वभौमिकता, स्वतन्त्रता सानो ठूलो हुँदैन । हिजो चिनिया कम्युनिष्ट पार्टीका नेतृत्वकर्ता माओत्सेतुङले पनि ‘मुलुक सानो ठूलो हुन सक्छन् तर सार्वभौमिकता समान हुन्छ’ भनेका छन् । नेपाल र चीन भूगोलमा सानो ठूलो छौं तर सार्वभौमिकताको हिसावले समान छौं । नेपालको चीनसँगको सम्बन्ध विभिन्न आयाममा छ । ऐतिहासिक कालदेखि नेपालको सम्बन्ध कायम रहँदैआएको छ । चाहे त्यो भृकुटीको विवाह श्रमचङगम्पोसँग भएकोबेला होस् या नेपाली कलाकार अरनीकोले आफ्नो कला चीनमा प्रदर्शन गर्दाताका होस् । या अहिलेको विशेष राजनीतिक परिस्थितिको सम्बन्ध होस् । सन् १९५५ मा नेपाल र चीनबीच दौत्यसम्बन्ध कायम भएको थियो । चीनलाई संयुक्त राष्ट्र संघको सदस्यता दिलाउनमा पनि नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । अहिले संयुक्त राष्ट्र संघमा चीनको महत्वपूर्ण पकड कायम भएको छ ।

सन् १९५५ मा नेपाल र चीनबीच दौत्यसम्बन्ध कायम भएको थियो । चीनलाई संयुक्त राष्ट्र संघको सदस्यता दिलाउनमा पनि नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथाले दुई देशलाई छुट्याएको भनेर चर्चा गरिन्छ । तर त्यस्तो होइन, यो हिमालले दुई देशलाई जोडेको छ । हामीबीचको सम्बन्धलाई थप सुमधुर बनाएको छ । दुई देशको नेतृत्वबीच अहिले नयाँ सम्बन्ध कायम छ । इतिहासको कुरागर्दा दुई मुलुकबीच युद्ध भएको र सम्झौता भएको पनि घटना अध्ययन गर्न पाइन्छ । तर अहिले त्यो अवस्था छैन । दुई देशबीच प्रसंशा गर्नलायक सम्बन्ध कायम भएको छ । एउटा समुन्द्रसँग जोडिएको ठूलो मुलुक, अर्को भूपरिवेष्ठित भूभाग रहेको नेपालबीचको सम्बन्ध गहिरोगरी जोडिएको छ । नेपाललाई ऋषिमुनीको देश भनेर पनि चिनिन्छ । उता, चीनिया सभ्यतालाई सबैभन्दा पूरा सभ्यताकोरुपमा चिनिन्छ । दुई देशबीच कुटनीतिक सम्बन्ध कायम भएयता एक अर्कालाई निजकसँग सहयोगको भावना जोडिएको छ । सुखको बेलामात्र होइन, दुःखका बेला पनि कुनै शर्त नराखीकन दुई देशबीचको पारस्परिक सहयोग कायम छ । दुई देशबीचको सम्बन्धलाई व्यवहारले पुष्टि गरिदिएको छ । अहिले नेपालको आर्थिक विकासकानिम्ति चीनले धेरै पक्षमा सहयोग गर्दैआएको छ । यसले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक रुपदिन मद्दत पुग्नेछ ।

नेपाल र चीनबीचमात्र सम्बन्ध कायम गरेर पुग्दैन । त्यसरी नै अन्य मुलुकसँग पनि नेपालले सम्बन्ध विस्तार गर्नुपर्छ । अहिले चीन विश्व अर्थतन्त्र र राजनीतिमा पकड बनाएको छ । उसको समृद्धिले नेपालको समृद्धि कायम गर्नमा सहयोग पुग्छ । त्यसको सदुपयोग हामीले गर्न सक्नुपर्छ । हिजोका दिनमा चीनमा खाद्यान्नको अभाव थियो, लत्ताकपडाको अभाव थियो । तर अहिले उसको विकासे स्पिड र स्पिरिट हेर्दा ऊ विश्व अर्थतन्त्रमा नम्बर एकको स्थानमा पुगेको छ । अहिले चीनले ‘वान बेल्ट वान रोड–ओ.वि.ओ.आर.’ इनिसिएटिभ प्रोजेक्ट चीनको ड्रिम प्रोजेक्ट हो । त्यसबाट विश्वलाई चीनले जोड्नेमात्र होइन, विश्वका नागरिकसँगको भावनात्मक सम्बन्ध कायम गर्ने प्रयास गरिरहेको छ । जसमा नेपालले पनि सहयोग गर्ने सहमति गरेको छ । चीनले अहिले विश्वबाट गरिबी अन्त्य गर्ने र परनिर्भताको प्रवृत्तिको अन्त्य गर्ने अभियानमा छ । त्यसले हामीलाई पनि सघाउ पुग्छ । आफ्नै स्रोतसाधनको पहिचान र परिचालन गरी विकास गर्नुपर्छ र आत्मनिर्भर बन्नुपर्छ भन्ने अभियान चीनको हो । त्यसकैनिम्ति ब्रिक्स अन्तर्राष्ट्रिय बैंकको स्थापना भएको छ । बाह्य मुलुकसँग भाइचाराको सम्बन्ध कायम गर्न ओविओआर इनिसिएटिभ अभियान चीनको देखिन्छ ।

चीनको विकासले विश्वलाई अभिप्रेरित गर्ने देखिन्छ । त्यसबाट नेपाल पनि अभिप्रेरित हुनेछ । अहिलेको सरकारले लिएको मुख्य नीति समृद्ध नेपाल र सुखी नेपालीको अभियान पनि त्यससँग जोडिएर लग्न सक्नुपर्छ । चीनले विकासकालागि प्रयोग गरेको प्रविधि, विकासका मोडलबारे हामीले सिक्नुपर्छ । हाम्रो सभ्यता र भौगोलिक अवस्थाबाट चीनले पनि हामीबाट सिक्न सक्छ । सिक्ने र सिकाउने विषय दुईतर्फी हुन्छन् । धेरै कुरा हामीले चीनबाट सिक्न सक्छौं भने, केही विषय चीनले पनि हामीबाट सिक्न सक्छ । चीनसँग नेपालको धेरै नाका खुल्ने चरणमा छन् । यसले नेपाली उत्पादन चीनमा र चीनको उत्पादन नेपालमा प्रयोग गर्न सहज गर्नेछ । व्यापार र व्यवसायमा बृद्धि हुनेछ । गत सोमबार मात्र चिनिया गैरसरकारी संस्थाले नेपालको गैर सरकारी संस्थासँग मिलेर काम गर्ने सहमति गरेको छ । अब सरकार–सरकारबीच मात्र होइन, जनता–जनताबीच पनि मिलेर काम गर्ने प्रतिवद्धता चीनले खोजेको छ । आवश्यकता पर्दा एक मित्रले अर्को मित्रलाई सघाउने रणनीतिमा नेपाल र चीन अघि बढेको अवस्था छ । गत भुइँचालोले नेपालको अधिकांश विद्यालय भत्केका थिए । उत्तरी सीमानाकातिर चीन सरकारले पुनस्र्थापनामा ठूलो सहयोग गरिरहेको छ । विद्यालयका भवन निर्माणमा सघाइरहेको छ ।

चीनको विकासले विश्वलाई अभिप्रेरित गर्ने देखिन्छ । त्यसबाट नेपाल पनि अभिप्रेरित हुनेछ । अहिलेको सरकारले लिएको मुख्य नीति समृद्ध नेपाल र सुखी नेपालीको अभियान पनि त्यससँग जोडिएर लग्न सक्नुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो दक्षिणी र उत्तरी छिमेकी मुलुकको भ्रमणका क्रममा दुवै तर्फबाट काठमाडौंसम्म रेल ल्याउने छलफल भएको    छ । भारतले पनि काठमाडौंसम्म रेल ल्याउने प्रतिवद्धता गरेको छ । चीन सरकारले पनि काठमाडौंसम्म उत्तरी क्षेत्रबाट रेल ल्याउने प्रतिवद्धता गरेको छ । अब नेपाल दुई छिमेकी मुलुकको भेटघाट गर्ने, एउटा मुलुकको उत्पादित वस्तु अर्को ठाउँमा जाने व्यापारिक हबकोरुपमा नेपाल बन्ने देखिन्छ । चीन र भारतकालागि जाने सामानहरु नेपालकै बाटो भएर जाने हुनाले त्यसबाट नेपालले पनि व्यापार तथा व्यवसायमा ठूलो लाभ लिन सक्ने देखिन्छ । नेपालको सम्बन्ध चीनसँग मात्र होइन, सबै देशसँग सुमधुर बन्दैगएको छ । कुटनीतिक सम्बन्धलाई स्थापित गरिरहेको छ । यसले नेपाललाई दूरगामी फाइदा पुग्ने निश्चित छ । सार्कमा चीन संलग्न नभएपनि अवलोकनकर्ता मुलुक हो । तथापि सार्ककालागि चीनले आवश्यक सहयोग गरिरहेको छ । त्यसले चीनको सम्बन्ध सार्क देशसँग पनि सुमधुर बन्दैगएको छ । संयुक्त राष्ट्रसंघको वडापत्रमा समयानुकुल परिमार्जन गर्न पनि आवाज उठेको छ । त्यसमा पनि चीनको सहयोग अपरिहार्य छ । पृथ्वी एउटै हो । कृत्रिम लाइन कोरेर धेरै देश बनेको छ । मानव एउटै हो । मानवता एउटै हो । तर भाषा, संस्कृति फरक छन् । विश्वभरका जीव जनावरको स्वभाव र अनुभूति एउटै छ । तर मानवको चालचलन, व्यवहार र बुझाई फरक छ । हामी मानिसलाई सबैभन्दा बुद्धिमानी प्राणी हो भन्छौं तर व्यवहार फरक गरिरहेका छौं । हाम्रो संकिर्णता बढेर समस्या बढेको देखिन्छ । चीन र नेपालबीचको सम्बन्ध कायम गर्दै अन्य मुलुकसँग पनि हाम्रो सुसम्बन्ध कायम गर्नुपर्छ ।

नेपाल र चीनबीच सबै विषय राम्रा मात्र छन् भन्ने होइन । अनुकुलता र प्रतिकुलता पनि पर्छ । मान्छे र मुलुकको इन्टरेष्ट फरक फरक हुँदोरहेछ । कहिलेकाहीं हामीसँगको सम्बन्धमा चीनको इन्टरेष्ट हामीले सोचेकोभन्दा फरक पनि हुनसक्छ । हामीले एक चीन नीतिप्रति प्रतिवद्ध छौं । विकास पूर्वाधारमा चीनको नीतिलाई अख्तियार गर्नुपर्छ भन्छौं । तर हाम्रो विकासे मोडल कहिलेकाहीं हाम्रो भौगोलिक अवस्थितिले फरक पर्नसक्छ । प्रविधिको प्रयोग गर्दैजाँदा कहिलेकाहीं फरक पर्छ । एउटा मुलुकको आकाश कहिलेकाहीं अर्को मुलुकले दुरुपयोग गरिदिन्छ । प्रविधिको ज्ञानमा अर्को मुलुक अगाडि भएर कमजोरलाई प्रयोग पनि गरिदिन सक्छ । आफ्नो भूभागलाई अरुका निम्ति बढी प्रयोग गर्न दियो कि भन्ने गुनासो पनि आउनेगर्छ । यो हाम्रोलागि चुनौति हो । हामी एक चीन नीतिमा प्रतिवद्ध छौं भन्छौं तर चीनलाई त्यस्तो लागेको छ कि छैन ? उसले नेपालको भूमि कहीं अरुले आफ्नो स्वार्थपूर्तिकालागि प्रयोग त गरेको छै ? आशंका लाग्नसक्छ । तर हामी जाने बुझेर त्यस्तो हुन दिन्नौं । कुनै मित्रराष्ट्रको विरुद्ध हामीले आफ्नो माटोलाई प्रयोग गर्न दिइनु हुन्न । भन्नेले सतहीरुपमा भन्ने गर्छन्, ‘यो सरकार चीनिया कार्ड भयो, त्यो सरकार भारतीय कार्ड भयो ।’ तर त्यस्तो हुनु राम्रो होइन र हुन दिनुहुन्न । चीनको प्राविधिक विकास, त्यहाँको विकासे नीति, ज्ञानलाई बुझ्ने र व्यवहारमा उतार्ने चुनौति हामीसँग छ । जहाँ चुनौति छन्, त्यहीं नै सम्भावना पनि छन् । जहाँ समस्या छन् त्यही समाधान छ भन्ने बुझेर काम गर्दैजानुपर्छ ।

चीनको प्राविधिक विकास, त्यहाँको विकासे नीति, ज्ञानलाई बुझ्ने र व्यवहारमा उतार्ने चुनौति हामीसँग छ । जहाँ चुनौति छन्, त्यहीं नै सम्भावना पनि छन् ।

एउटा बेला थियो, संसारभरी सबैभन्दा वढी अंग्रेजी भाषा बोलिन्थ्यो । तर अहिले संसारका मानिसहरु चिनिया भाषातिर आकर्षित भइरहेका छन् । कारण, चीनको विकास, संस्कार संस्कृति र उसको विकासे नीति बुझ्नकालागि विश्वको नजर चिनिया भाषातिर केन्द्रीत भइरहेको छ । हाम्रो छिमेकी मुलुक चीनले विश्व अर्थतन्त्रमा सबैभन्दा अगाडि गयो भने हाम्रोलागि पनि गौरवको विषय बन्छ । उसले गरेको विकासको तौर तरिका, प्रविधिको प्रयोगलाई हामी नेपालमा पनि प्रयोग गर्न सक्छौं । यसले हाम्रो समृद्धि कायम गर्नमा पनि मद्दत पुग्नेछ । संसारलाई अहिले युद्ध चाहिएको छैन, शान्ति चाहिएको   छ । अभाव र गरिबी चाहिएको छैन, सुख र समृद्धि चाहिएको छ । त्यसकालागि हामी सबैबीचको मित्रता र भाइचाराको सम्बन्ध कायम गर्नु अपरिहार्य    छ । नेपाल र चीनबीचको सम्बन्ध बहुआयामिक छ । आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा लगेर अगाडि बढ्न सक्नुपर्छ ।

प्रस्तुतिः लक्की चौधरी (कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया