आदिबासी जनजातिहरु पछाडि परेका होइनौं, अरुले पछाडि पारेका हुन्ः नेताहरु


भगतराम थारु
नेपालगञ्ज, साउन २४ गते । नेपालका आदिवासी जनजातिहरु पछाडी परेको नभई अरुबाट पछाडि पारिएका हुन भनेर आदिबासी नेताहरुले टिप्पणी गरेका छन् ।

२४ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस बाँकेको चिसापानीमा मनाइरहँदा नेताहरुले त्यस्तो बताए । राज्यले आदिवासी जनजातिहरुलाई जहिले पनि नराम्रो दृष्टिले हेर्ने गरेको अगुवाहरुको आरोप छ । राज्यले अवसर दिए आदिवासी जनजातिहरु अहिलेसम्म धेरै अगाडि बढिसक्थे नेताहरुले भने ।

जहिले पनि राज्यले आदिवासी जनजातिहरुलाई हेपहा प्रबृतिले हेर्ने गरेको उनिहरुको आरोप छ । जनजाति भएकैकारण राज्यबाट पाउने सेवा सुविधा पाउनबाट समेत वञ्चित भएको घटना धेरै रहेको उनिहरुले आरोप लगाएका छन् । जनजाति समुदायहरुको मौलिकता हार्दिकता र सुन्दरताले नेपाल मात्र होइन, संसारभर नै जनजाति समुदायको छुट्टै महत्व रहेको हुनाले राज्यले त्यही हिसावबाट अवसर प्रदान गरिनु पर्ने उनिहरुले धारणा राखेका छन् ।

जनजातिहरुलाई हरेक निकायमा पछाडि पारिन्छ त्यसलाई जनजातिहरुले गम्भीर भएर सोच्नुपर्ने दिन आएको जनजाति नेता प्रिया थारुले बताउनु   भयो । जनसंख्याको करिव आधा हिस्सा ओगट्ने यो समुदायको आफ्नै मौलिकता भेषभुषा रहनसहन कला संस्कृति र व्यवहार आफ्नै किसिमको छ, राज्यले त्यसै किसिमको अवसर प्रदान गरिनुपर्छ नेताहरुले भने । सरकारले लक्षित वर्गकोरुपमा पहिचान गरी सूचीकरण गरेको यस समुदाय भित्र राई, लिम्बु, मगर, गुरुङ, थारु लगायत ५९ वटा जनजातिहरु पर्छन् ।

आदिवासी जनजाति समुदायहरुको प्रमुख आम्दानीको श्रोत कृषि रहेको छ भने सरकारी सेवामा करिव ८ प्रतिशत, व्यापारमा २ प्रतिशत, स्वरोजगार मुलक कार्यमा ४ प्रतिशत, बैदेशिक रोजगारमा १० प्रतिशत गरि बाँकी २९ प्रतिशत आदिवासी जनजाति समुदायहरु गुजारामुखी दिनचर्या विताइरहेको आदिवासी जनजाति नेताहरुको भनाई छ ।

बैजनाथ गाउँपालिका स्तरिय नेपाल आदिवासी जनजाति महासंघ गाउँ सम्मन्वय परिषदको आयोजना तथा बैजनाथ गाउँपालिकाको सहयोगमा बिहीवार २४ औं अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस भव्यका साथ मनाईएको छ । अधिकार प्रतिनिधित्व र स्वायत्तताका लागि आदिवासी जनजातिको अडान पहिचानसहितको संघियताको लागि साझा संविधान हाम्रो अभियान भन्ने मुल नाराकासाथ सूरु भएको दिवसमा ८ वटै वडाका आदिवासी जनजातिहरुले आ आफ्नो सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

दिवसको उद्घाटन सामाजिक विकास मन्त्री सुदर्शन वरालले गर्नुभएको कार्यक्रमको अध्यक्षता बैजनाथ गाउँपालिका स्तरिय नेपाल आदिवासी जनजाति महासंघ गाउँ सम्मन्वय परिषदका अध्यक्ष खड्कबहादुर रचालीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया