हलियाबाट गैर सरकारी संस्थाका पदाधिकारीले रकम असुलेको आरोप


गोकर्ण दयाल
बैतडी, साउन २८ गते । नेपाल सरकारले हलिया पुनः स्थापनाका लागि उपलब्ध गराएको रकम स्थानीय गैर सरकारी संस्थाका पदाधिकारीले असुलेको आरोप पीडित हलियाहरुले लगाएका छन् । सरकारले जग्गा किन्न दुई लाख, घर निर्माण गर्न तीन लाख र घर मर्मत गर्न एक लाख २५ हजार रुपियाँ उपलब्ध गराइरहेको छ । तर त्यही रकममा हलियाको क्षेत्रमा काम गर्ने एनजीओका पदाधिकारीले काम गराइदिएको भन्दै असुल्ने गरेको रहस्य सार्वजनिक भएको छ ।

मालिकको घरमा पुस्तौनी हलो जोत्दै आएका बँधुवा मजदुर सरह रहेका बैतडीका हलियाहरूले नेपाल सरकारले दिएको रकम बुझ्दा आफूहरूबाट जिल्ला हलिया मुक्ति समाज बैतडीका पदाधिकारीले लाखौँ रुपियाँ घुस लिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई रकम असुलीका लागि निवेदन दिएका छन् ।

झरीमा भिज्दै पैदल हिँडेर जिल्लाको दशरथ चन्द नगरपालिका वडा ९ ग्वाल्लेक मगरौका १४ जना हलियाले नेपाल सरकारबाट पाएको रकम एनजीओका मान्छेले बीचबाटै छिनेपछि घर निर्माण अधुरै रहेको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिएका छन् ।

जिल्लाको दशरथ चन्द नगरपालिका ९ मगरौं बस्तीका १४ जना हलियाले हलियाको क्षेत्रमा वकालत गर्दै आइरहेको जिल्ला हलिया मुक्ति बैतडीका पदाधिकारी वीरभान कोलीले हलियाको काम गरिदिएको भन्दै १४ जनाबाट एक लाख तीन हजार रुपियाँ लिएको भन्दै सीडीओ समक्ष असुलउपर गरिदिन उजुरी दिएको बताएका छन् ।

उजुरी दिनेमा मुक्त हलिया रामीराम महर, वीरभान महर, गौरे महर, पार्वती महर, कौरे महर, कृष्ण महर, गणेश महर, नन्दे महर, चौरे ओड, महेश महर, लक्षीराम दयाल, फइले महर र शङ्कर महर रहेका छन् ।

मुक्त हलियाहरूले नेपाल सरकारले हलिया पुनःस्थापनाका लागि दिएको रकम जिल्ला मालपोत कार्यालयबाट बुझ्दा हलिया मुक्ति समाज बैतडीका पदाधिकारीले बाटो ढुकेर मालपोतका ओभरसियर र प्राविधिकलाई रकम दिनुपर्ने भन्दै रकम असुली गरेको निवेदनमा उल्लेख गरेका छन् ।

जिल्ला मालपोत कार्यालयका प्रमुख गोविन्दप्रसाद लेखकले २०७० सालदेखि हलिया मुक्तिका लागि विभिन्न कार्यक्रमका लागि रकमको व्यवस्था सरकारका तर्फबाट भएको तर यहाँ के कति रकम त्यसको लागि खर्च भयो, त्यो आफूलाई थाहा नभएको बताउनुभयो ।

मुक्त हलियाहरूले यसरी गम्भीर ढङ्गको गुनासो गरेकोले अब रकम असुल गर्ने दोषीमाथि कडा कानुनी कारबाही गर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकाश गैरेले बताउनुभयो ।

मुक्त हलियाबाट रकम असुली गर्ने जिल्ला हलिया मुक्ति समाजले हालसम्म गरेका गतिविधिको छानबिन गर्नुपर्ने मुक्त हलिया नन्दे महरले बताउनुभयो । हलियाका नाममा खुलेका एनजीओबाट मालपोत कार्यालयमा सहजीकरणका लागि मासिक तलबी कर्मचारी तोकेदेखि हलियाबाट रकम असुली हुन थालेको बैतडीका मुक्त हलियाहरूले बताएका छन् ।

बैतडीमा दुई हजार २२ जना मुक्त हलिया रहेको नेपाल सरकारले प्रमाणीकरण गरेको छ । बैतडीबाट चार हजार चारसय मुक्त हलियाको तथ्याङ्क भएपनि नेपाल सरकारले बैतडीमा दुई हजार २२ जना प्रमाणीकरण गरेर परिचयपत्र उपलब्ध गराएको हलिया मुक्ति समाज महासङ्घका पूर्व केन्द्रीय सदस्य राजुराम भुलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया