डोल्पाबाट उपचुनाव लड्ने तयारीमा वामदेव गौतम, पक्षमा माहौल बन्दै


काठमाडौं, भाद्र ६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतम पार्टीको निर्णयअनुसार  अन्ततः उप निर्वाचनमार्फत डोल्पाबाट चुनाव लड्ने तयारीमा जुट्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री रहनुभएका डोल्पाका नेकपा सांसद धनबहादुर बुढाले राजीनामा दिन तयार हुनुभएपछि गौतम उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सांसद बन्ने तयारी गर्नुभएको हो ।

प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट केही मतले पराजित गौतमलाई संसदमा ल्याउन नेकपाका दुवै अध्यक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल) ले ग्रिन सिग्नल दिएपछि उहाँको लागि पर्यटन राज्यमन्त्री बुढा राजीनामा दिएर बाटो खोल्न तयार हुनुभएको बुझिएको छ ।

राज्यमन्त्री बुढाले एक चरण डोल्पाका दुई नगरपालिका त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका पुगेर जनतालाई जानकारी गराउने र काठमाडौं आई राजीनामा दिने तयारी गर्नुभएको स्रोतले बताएको छ । विहिबार डोल्पा जाने तयारी बुढाले गर्नुभएको बुझिएको छ ।

राज्यमन्त्री बुढाले मंगलबार आफ्नै कार्यकक्ष सिंहदरबार पुगेका जिल्लाका प्रदेशसभाका सांसद, पूर्वमन्त्री नरबहादुर बुढाथोकी, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, केही गाउँपालिकाका अध्यक्षसँग सो विषयमा छलफल गर्नुभएको थियो ।

बुढा १५ गतेभित्रै राजीनामा दिने सोचमा देखिनुभयो’, डोल्पा १ प्रदेशसभा २ का नेकपा सांसद वीरबहादुर शाहीले बताउनुभयो । डोल्पाको विकास निर्माणमा केन्द्रित रहेर मंगलबार राज्यमन्त्रीको कार्यकक्षमा बुढासँग नेकपाका नेताहरूले छलफल गरेका थिए । ‘

नेता गौतमको आफ्नो इच्छाभन्दा पनि पार्टीलाई संसदमा गौतमको आवश्यकता महुशस भएर उपनिर्वाचन गराउने तयारी गरिएको बुझिएको छ । गौतमको आवश्यकता महशुस भएरै सांसद बुढाले राजीनामा गर्न सहमत हुनुभएको स्रोतले बताएको छ ।

बुढाले राजीनामा दिएपछि सरकारले त्यस क्षेत्रमा उपनिर्वाचनका लागि निर्वाचन आयोगसँग आग्रह गर्नेछ । उपनिर्वाचनमा गौतमलाई उम्मेदवार बनाउने योजनामा नेकपा छ । गौतमलाई सांसद बनाउने विषयमा सोमबारको नेकपा सचिवालय बैठकमा समेत छलफल भएको थियो ।

नेकपाको ९ सदस्यीय सचिवालयमा गौतम र नारायणकाजी श्रेष्ठ मात्र सांसद छैनन् । गौतम र श्रेष्ठ गत प्रतिनिधिसभा चुनावमा पराजित भएका थिए । बुढाले संसद्बाट राजीनामा दिएपनि ६ महिनासम्म मन्त्री पदमा रहिरहन पाउनुहुनेछ । सांसद् नभएका व्यक्तिले बढीमा ६ महिनामात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभा निर्वाचनमा डोल्पाबाट बुढाले ११ हजार ७६१ मत ल्याएर विजयी हुनुभएको थियो । प्रतिस्पर्धी कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १ सय ६७ मत पाएका थिए । बुढालाई गौतमकै पहलमा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनाइएको थियो । नेता गौतमको आफ्नो इच्छाभन्दा पनि पार्टीलाई संसदमा गौतमको आवश्यकता महुशस भएर उपनिर्वाचन गराउने तयारी गरिएको बुझिएको छ । गौतमको आवश्यकता महशुस भएरै सांसद बुढाले राजीनामा गर्न सहमत हुनुभएको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया