महिला सशक्तिकरणमा ‘सरिता’

विचार (टिप्पणी)

देनुका प्रधान

‘सरिता’को अर्थ नदीको बह ‘तरङ्ग’ हुन्छ । नामजस्तै काम पनि उनले त्यसैगरी गर्न सकेकी छिन् । सानो र साधारण परिवारमा जन्मेकी सरिताको संघर्ष जुम्लादेखि काठमाण्डौसम्मको यात्रा साह्रै कठीन थियो । उत्साहले भरिएको सरिताको ईच्छा या समाजमा केही नौलो काम गर्नुपर्छ भन्ने सोच र उत्साह नै उनको सफलताको कडी बन्यो । साधारण परिवारमा जन्मेको तर सोंच ठूलो र साहसी छ उनको । जुम्लामा हुँदा अरुसँग बोल्न समेत डराउने सरिता काठमाडौंमा आएर टेलिभिजन कार्यक्रम प्रस्तोता बन्न सफल भईन् । टेलिभिजन कार्यक्रम बनाएर नेपाल टेलिभिजनका लागि उनले कार्यक्रम सञ्चालन गर्दैआएकी छिन् । नेपालमा पर्यटकीय क्षेत्रको विकास, कला सस्कृति र भेषभुसाको समेत कार्यक्रम उत्पादन गरेर उनले चर्चा कमाएकी छिन् । जुम्लाको एक दुर्गम गाउँमा जन्मेकी सरिता काठमाडौंमा स्थापित भई समाजसेवा, सञ्चारमाध्यम र सहकारी तीनै क्षेत्रमा उत्तिकै स्थापित भएकी छिन् ।

लेखिकाः देनुका प्रधान

कर्मभूमि काठमाडौंलाई बनाए पनि सरिताले आफ्नै गाउँका लागि समाजसेवामा तल्लिन छिन् । आफ्नो गाउँबेसीको विद्यालयमा आवश्यक सहयोग गर्नेदेखि खेलकुद मैदान बनाउनमा समेत उल्लेख्य सहयोग छ उनको । कर्णालीको विकासका लागि पर्यटन क्षेत्रको विकास अनिवार्य छ भन्ने विचार राख्ने सरिताले सो क्षेत्रको विकासका लागि सक्ने सहयोग गर्दैआएकी छिन् । जुम्लाका महिलाहरुको आय आर्जनमा सहयोग गर्न उद्यमशिलता तालिम प्रदान गर्दै त्यहाँका महिलाको आर्थिक समुन्नतिमा समेत टेवा दिइरहेकी छिन् । जुम्लाका महिलालाई अगरवत्ति बनाउने, बेकरी, व्युतिसियन, कम्प्यूटर, मखमल चप्पल बनाउने, सिलाई कटाईको तालिम प्रदान गरी स्थानीयलाई स्वरोजगार बनाउने भूमिका निर्वाह गर्दैआएकी छिन् । त्यसरी तालिम गराउन उनले आफ्नै स्रोतसाधन प्रयोग गर्दैआएकी छिन् । पछाडि परेका जुम्लाका महिलाहरुको सशक्तिकरणका लागि सरिताको गम्भीरता र चासो देखेर जिल्लाबासी समेत उत्साहित छन् । महिलाहरुसँग सीप र क्षमता भएमा आफ्नो खुट्टामा आफै उभिन सकिँदोरहेछ भन्ने सन्देश दिन सरिताले आफूसँग भएको सीप जिल्लाका महिलाहरुमा बाँड्न तम्सिएको बताउँछिन् ।

भौगोलिकरुपले नेपाल विकट छ । तर विकट ठाउँमा जन्मदैमा केही गर्न सकिदैन भन्ने सोच पाल्नु गलत भएको सरिताको बुझाई छ । आफू जुम्लाको विकट ठाउँमा जन्मेपनि संघर्ष गर्दै काठमाडौंमा आएर स्थापित हुन सफल भएको बताउने हमालले आफूले अङ्गालेको बाटोजस्तै अरु महिलालाई पनि संघर्ष गर्न उत्प्रेरित गर्ने गरेकी छिन् । खासगरी गाउँबेसीका महिलालाई सीप सिकाउँदै नेतृत्व गर्नमा उत्प्रेरित गर्ने काममा उनी लागेकी छिन् । कर्णाली भौगोलिकरुपमा दुर्गम भएपनि प्राकृतिक रुपले भरिभराउ क्षेत्र भएकाले त्यसको समुचित विकास गर्न सकेमा पर्यटन क्षेत्रबाट सो क्षेत्रको विकास सम्भव हुने बुझाई उनको छ ।

उसो त हाम्रो यहाँ काम गर्न निकै कठिन छ । पाइला पाइलामा समस्या पर्छ । महिलालाई अझ पुरुषभन्दा वढी संघर्ष गर्नुपर्छ भन्छिन् सरिताले । ‘काम गरेपनि त्यसको मूल्याङ्कन नहुने र काम गर्नेलाई उत्साहित गर्न छाडेर समाजबाटै खुट्टा काट्ने प्रबृत्ति रहेकाले पनि अझ कठिन हुन्छ’ उनले अनुभव सुनाइन् । तर आफ्नो उद्देश्यमा अडिग रहेर संघर्ष गर्ने हो भने जस्तोसुकै काममा सफलता मिल्ने दृढ विश्वास छ उनको । उसो त कर्णाली क्षेत्रमा धेरै गैरसरकारी संघ संस्थाहरुले काम गरिरहेका छन् । ती संघ संस्थाले त्यहाँको नागरिकको काम गर्ने सोचशैलीमा केही परिवर्तन ल्याइदिएका छन् । कुनै तालिमका लागि बोलाउँदा भत्ता कति पाउँछ ? जिज्ञासा स्थानीयले बढी गर्छन् । सीपमूलक तालिम आफ्नै लागि हो, सीप सिकेमा आयआर्जन गर्न सकिन्छ भन्ने सोचभन्दा पनि दिनको भत्तामा बढी केन्द्रित हुनेगरेको देखिन्छ । गैर सरकारी संघ संस्थाले बिगारेको बानीले स्थानीयहरु आत्मनिर्भर भन्दा परनिर्भरतातिर उन्मुख देखेपछि सरिता चिन्तित भएको सुनाउँछिन् । तर सरिताले त्यस विषयलाई महिलालाई राम्रोसँग सम्झाई बुझाई गरी सीपमूलक कामलाई बढी प्राथमिकता दिन र सिकेको सिपलाई व्यवहारमा उतार्न उत्प्रेरित गर्ने गरेकी छिन् ।

उसो त मानिसलाई सचेत गराउने र उत्प्रेरित गर्ने काम निकै कठिन काम हो भन्छिन् सरिताले । तर हरेश नखाई कुनै पनि काममा निरन्तर लाग्नाले सफलता हात लाग्ने उनको बुझाई छ । त्यही उद्देश्य बोकी उनले समाजसेवा, मिडिया र सहकारीको माध्यमबाट समेत महिलालाई जागरुक बनाउने काममा लागिपरेकी छिन् । आफूसँग सीप र क्षमता भएमा जुनसुकै काम गर्न सहज हुने र आय–आर्जनमा समस्या नहुने उनको दृढ अठोट र विश्वास छ । जुम्लाका महिलालाई आफ्नो संघर्ष र पाएको सफलताका बारेमा समेत उनले बताउँदै महिलालाई उत्साहित गर्छिन् ।

सरिता हमाल

अब सरिताले कर्णाली क्षेत्रका युवाहरुको स्वरोजगारका लागि ‘मिस एण्ड मिष्टर कर्णाली’को तयारीमा जुटेकी छिन् । सो कार्यक्रम गरी केही मात्रामा भएपनि कर्णाली पर्यटनकालागि सहयोग पुग्ने विश्वास उनको छ । उनले त्यसको प्रचार प्रसारका लागि ‘हाम्रो सरोकार’ टेलीभिजन कार्यक्रम पनि चलाउँदै आएकी छिन् । कर्णाली क्षेत्रको पर्यटकीय विकास गर्न कार्यक्रमको मुख्य ध्येय रहेको उनको भनाई   छ । समाजका लागि काम गर्ने मन भएमा केही समस्या नहुने बताउने सरिताले सबैलाई त्यस काममा लाग्न आव्हान गर्छिन् । एकले अर्कोलाई सहयोग गर्ने भावनाको विकास गरेमा पहिला घर बन्ने, त्यसपछि गाउँ समाज बन्ने र तदनुरुप देशको विकास हुने बुझाई उनको छ । समृद्ध नेपाल र सुखी नेपालीको सरकारी सपना साकार गर्न पनि सबैले आफ्नो क्षेत्रबाट सकेको काम गर्न अनिवार्य रहेको बताउने सरिताले अरुको मुख ताक्ने प्रबृत्तिले नेपाल बनाउन नसकिने बताउँछिन् ।

कर्णाली प्राकृतिकरुपले सम्पन्न भएपनि काठमाडौंको हेर्ने नजरिया सकारात्मक नभएकाले सो क्षेत्रको विकास हुन नसकेको बुझाई सरिताको छ । देश संघीयतामा गएपछि अब केन्द्रीयताको अन्त्य भई विकास र सोचमा समेत विकेन्द्रीकरण हुने विश्वास उनको छ । सरिता भन्छिन्, “कर्णालीका लागि पर्यटन क्षेत्रको विकास गर्न सकेमा त्यहाँका नागरिकको आयआर्जन र आर्थिक सम्मुन्नति गर्नेकाम दूर छैन ।”

तपाईको प्रतिक्रिया