पाँच बर्ष भित्रमा नेपालबाट सदाका लागि गरिबी हटाइन्छः प्रधानमन्त्री ओली


काठमाडौं, भदौ २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पँच बर्ष भित्र नेपालबाट सदाकालागि गरिबी हटाइने बताउनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको बार्षिक साधारणसभा तथा अभिनन्दन तथा पुरस्कार कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले नेपालीलाई गरिबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकहरुको कमजोरीका कारण नेपालीहरुले दुःख भोग्नुपरेको बताउनुभयो । “स्रोत साधनले भरीपूर्ण रहेर पनि नेपालीहरु गरिब हुनु सुहाउने कुरा होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब पाँचबर्ष भित्रमा कोही पनि नेपालीले गरिब हुनु पर्दैन ।”

प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताउनुभयो । “कतिपय मानिसहरु देश बनेन भनेर होइन देश बन्ला भनेर पिरोलिएका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर अब कोही पिरोलिएर देश नबन्ने होइन । बहुतै दृढताकासाथ देशमा परिवर्तन ल्याउने काम हुन्छ ।”

सरकार भ्रष्टाचार न्यूनिकरणमा प्रतिवद्ध भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “अब पुरानो युगको अन्त्य भयो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “नयाँ योजना र सोचाइका साथ देश निर्माणमा सरकार लागेको छ ।”

यो सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभइ देश निर्माणका लागि गठन भएको उहाँले बताउनुभयो । कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको थियो ।

तपाईको प्रतिक्रिया